नेपाल सुपर लिग : एक नियम तोड्दा अर्को नियम तोडिन सकिनेछ

7.61k
Shares

काठमाडौं।

सोमबार एफसी चितवन र पोखरा थन्डर्सबीच खेल सुचारु रुपमा सम्पन्न भयो । यो खेल चितवनले २–० ले जित्यो । तर, यो खेलमा भएको लापार्वाहीले भने नेपाल सुपर लिग (एनएसएल) को स्तर टोल टोलमा खेलिने फुटबलको स्तर झल्कायो ।

कुरा के भने खेल शुरु भयो साँझ ६ बजेर १८ मिनेटमा । यो नियमित शुरु हुने समयभन्दा १८ मिनेट ढिलो थियो । यति समयमा दुबै टोलीबीच विवाद भएको थियो । मुख्य विवाद भएको विषय भनेको विदेशी खेलाडीको श्रम स्विकृति थियो ।

चितवनका ५ विदेशी खेलाडीको श्रम स्विकृतिको कागजात थिएन । यो कागजात देखाउन नसक्दा दुबै टोलीबीच केही क्षण विवाद भएको थियो । तर, कागजात नभएपनि नियमविपरित चितवनका विदेशी खेलाडीले खेले ।

पहिलो हाफमा १–० ले पछि परेपछि पोखरा पनि के कम र ? पोखराले पनि टोलीलाई उकास्न विदेशी खेलाडीलाई दोस्रो हाफमा उता¥यो । पोखराका स्टेफान विनाेंगको पनि श्रम स्विकृतिको कागजात आएको थिएन । कागजात नआएकोले पोखराले उनलाई वैकल्पिक खेलाडीको सूचीमा राखेको थियो ।
यस विषयमा यदि, नियमावली हेर्ने हो भने प्रावधान नपुगेको अवस्थामा खेलाडीले खेलेमा प्रोटेस्ट गर्न पाउँछ । तर, पोखराका प्रशिक्षक सुमन श्रेष्ठले खेलपछिको पत्रकार सम्मेलनमा बताए कि प्रोटेस्टको नियम नभएको कुरा आयो । उनले बताए—प्रोटेस्टको नियम नभएको सुनेपछि नै बिनोंगलाई खेलायौं । फुटबलको नियम विपरित हामी जान चाहेका थिएनौं, तर, आयोजक नै नियम तोड्न चाहन्छ भने हामी के गर्न सक्छौं ?

सबै नियम विपरितमा

फुटबल एउटा भलादमीको खेल हो । यसमा नियमअनुसार नै खेल्नु पर्ने हो । नियम भन्ने कुरा सबैले मान्नुपर्छ । यदि, नियम नै छैन भने पनि एक फुटबलसँग जोडिएका हरेक व्यक्तिले नियम पक्कै थाहा हुन्छ ।

प्रोटेस्ट नै लाग्दैन भन्दैमा श्रम स्विकृति नभएका खेलाडीलाई खेलाउनु दुबै टोलीबाट गलत संस्कार बसालियो । यदि यसलाई कारबाही नगराउने हो भने आगामी खेलमा अरु टोलीले पनि श्रम स्विकृति बिना विदेशी खेलाडी मैदानमा उतार्नेछ ।

एनएसएल नेपाली फुटबलका लागि ठूलो अवसर हो । तर, यसमा नियम मानिँदैन भनेर जे नियम पनि राख्ने हो भने यसको स्तर स्थानीय प्रतियोगिताको बराबर हुन जानेछ । यसमा आयोजक कडा हुनु पर्ने थियो । तर, भएन ।

अहिले तत्कालै कारबाहीतिर लाग्नु नै उचित हुनेछ अन्यथा यस विषयले एनएसएलमा योभन्दा बढी नियम तोडिन बेर लाग्दैन । अहिले एक नियम तोडेर मख्ख पर्छ पछि अर्को नियम पनि तोडेमा एनएसएलको आयोजकसँग जवाफ पनि हुने छैन ।