अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अनुसार विश्वभरका लगभग २४ करोड मानिसहरूले नियमित रूपमा फुटबल खेल्ने गर्छन् । यद्यपि फुटबलको प्रारम्भ निकै पुरानो कालमा भएको हो । मृत जनावरको अमाशयलाई लात हानी खेल्न सुरु गरिएको यो खेल अहिले विश्वकै सबैभन्दा लोकप्रिय खेलका रूपमा चिनिन्छ ।
फुटबलको उत्पत्ति लगभग दुई हजार वर्ष पहिले चीन, ग्रीस, रोम र मध्य अमेरिकाका विभिन्न क्षेत्रहरूमा भएको दावी गरिएको छ । तर, फिफाले यस खेलको प्राचीन उदय चीनबाट भएको मान्यता दिएको छ । त्यस्तै, आधुनिक फुटबलको उदय भने इंग्ल्याण्डबाट भएको तथ्यमा कुनै द्विविधा छैन । ब्रिटिश उपनिवेशसँगै फुटबल विश्वभर फैलिएको थियो । त्यसैगरी, इंग्ल्यान्डले फुटबलको आधुनिकीकरणका लागि विभिन्न नियमको पनि सुरुवात गरे, जसमध्ये विपक्षी खेलाडीलाई ’ट्याकल’ गर्ने र बललाई हातले छुन नपाउने नियम बसाले ।
फुटबलको नियम र संरचनामा समयक्रम अनुसार परिवर्तन हुँदै गयो । सन १८९१ मा पेनाल्टी किकको अवधारणा अस्तित्वमा आयो, जसले खेलमा नयाँ आयाम थपियो । त्यसपछि सन १९१३ मा फिफाले ब्रिटिश फुटबल संघ (एफए) को सदस्यता प्राप्त ग¥यो । त्यस्तै, १९७० को मेक्सिको विश्वकपमा रातो र पहेँलो कार्ड प्रयोगको शुरुआत भयो । अर्को महत्वपूर्ण परिवर्तन सन १९९२ मा भयो । ब्याक पास दिइएको बललाई गोलरक्षकले समात्न नपाउने नियम बनाइयो भने पछाडिबाट ट्याकल गर्दा रेड कार्ड र पेनाल्टी पाउने नियम बसालियो । अब त अधिकांश निर्णय भिडियो एसिस्टेन्ट रेफ्री (भार) को सहायताले खेल रेफ्रीले लिन थालेका छन ।
अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आईएफएबी) ले १ जुलाई २०२५ देखि फुटबल खेलका नियमहरूमा परिवर्तन गर्दैछ । बोर्डको १ सय ३९औं वार्षिक साधारण सभामा फुटबल खेलका नियमहरूमा परिवर्तन गर्ने निर्णय गरिएको हो । नयाँ नियममा ड्रप बल्स, टोलीका खेलाडीहरूको लागि अप्रत्यक्ष फ्रीकिक र भिडियो एसिस्टेन्ट रेफ्रि (भिएआर) प्रोटोकल जसले रेफ्रीलाई समीक्षापछि निर्णय घोषणा गर्न अनुमति दिने लगायतका विषयलाई समावेश गरिएको छ ।
लागू हुने नयां नियम
पछिल्ला परिक्षणहरुबाट देखिए अनुसार गोलरक्षकहरुले बल धेरै समय नियन्त्रणमा राख्ने समस्यामा अब सुधार हुने अपेक्षा गरिएको छ । आईएफएबीले नियम १२.२ अप्रत्यक्ष फ्रिकिकमा संशोधन गर्ने निर्णय सर्वसम्मत रुपमा गरेको छ । अब यदि गोलरक्षकले आठ सेकेन्डभन्दा बढी बल नियन्त्रणमा राखेमा रेफ्रीले विपक्षी टिमलाई कर्नर किक प्रदान गर्नेछन । हाल लागू रहेको ६ सेकेन्डभन्दा बढी बल नियन्त्रण राखेमा अप्रत्यक्ष फ्रिकिकको सट्टा दुई सेकेन्ड थप गर्दै कर्नर किक प्रदान गर्दै नियमलाई परिमार्जित गरिएको हो ।
त्यस्तै, नियम ३.१० अनुसार टिम कप्तानमा रेफ्रिहरु र खेलाडीबीचको सञ्चार सुधार गर्न कप्तान मात्र रेफ्रीसँग जान सक्ने नयाँ नियम लागू गर्न लागिएको छ । त्यसैगरी ड्रप बलमा यदि बल पेनाल्टी क्षेत्र बाहिर छ र खेल रोकिएको छ भने रेफ्रीले स्पष्ट रुपमा पहिचान गर्न सक्ने टिमलाई ड्रप बल दिनेछन । अन्यथा, बल अन्तिम पटक छोएको टिमलाई दिईनेछ । यदि टिम अफिसियल, सब्स्टीच्यूट, निस्किएका खेलाडी वा अस्थायी रुपमा बाहिर रहेका खेलाडीले बललाई मैदान छोड्ने क्रममा छुन्छ तर, अनुचित हस्तक्षेपको उद्देश्य नभएमा टिमविरुद्ध अप्रत्यक्ष फ्रिकिक दिइनेछ । प्रतियोगिताहरुलाई रेफ्रिले भिएआर समिक्षापछि घोषणा गर्न सक्ने विकल्प दिइनेछ ।
त्यस्तै, भिएआरले बल गोल नभएको र गोलरक्षकको अगाडि बढ्ने निर्णय अनुगमन गर्न सक्ने भएकाले सहायक रेफ्रिले पेनाल्टी चिन्हको लाईनमा उभिनुपर्ने नियम छ । त्यसबाहेक रेफ्रिहरुका लागि पनि बडी क्यामेरा प्रयोगको परीक्षण गरिने भएको छ । शीर्षस्तरका खेलहरुमा प्रशिक्षण तथा शिक्षाका लागि रेफ्रिहरुमा बडी क्यामेरा लगाउनका लागि प्रशिक्षण गर्न लागिएको हो । फिफाले फिफा क्लब विश्वकपमा प्रत्यक्ष प्रसारणका लागि रेफ्रिहरुले बडी क्यामेरा लगाउने योजना बनाएको छ ।
त्यस्तै, आक्रामक फुटबललाई प्रोत्साहन गर्न र गोल अवसरहरु बढाउन नयाँ अफसाइड नियमको पनि परिक्षण गरिने भएको छ । त्यस्तै, फिफाले सस्पेक्ट र प्रोटेक्ट अभियानलाई थप विस्तार गर्ने जानकारी गराएको छ । यो अभियान फुटबलमा टाउकोको चोट सम्बन्धी जागरूकता बढाउने उद्देश्यले चलाइएको हो । फुटबलको यो ऐतिहासिक यात्रा अझै निरन्तर जारी छ र भविष्यमा पनि यस खेलका नयाँ–नयाँ कोशेढुंगा थपिँदै जाने नै छ ।











प्रतिक्रिया