‘अनलकिङ डेटा विथ एआई’ : नेपालको डिजिटल युगतर्फ नयाँ कदम

1.79k
Shares

काठमाडौं
नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रभावकारी उपयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) ले ‘अनलकिङ डेटा विथ एआई’ परियोजना सञ्चालनमा ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गुगल, युएनएफपीएको सूचना प्रविधि सेवा कार्यालय र काठमाडौंस्थित बेलायती दूताबासको सहकार्यमा संचालित यो परियोजनाबारे सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी जानकारी दिइएको थियो। यो परियोजनाले विकास क्षेत्रलाई एआई प्रविधिमार्फत आधुनिक बनाउन विश्वव्यापी गति प्रदान गर्नुका साथै डिजिटल रूपान्तरणतर्फ नेपाललाई अघि बढाउने अपेक्षा गरिएको छ।


परियोजनाको मुख्य आकर्षण ‘सीता’ नामक एआई प्रणाली रहेको छ, जसले नेपालमा तथ्यांक विश्लेषण र प्रतिवेदन निर्माण प्रक्रियालाई सहज बनाउनेछ। कार्यक्रममा यो प्रविधिले नीति निर्माणमा वैज्ञानिक र तथ्यांकमा आधारित निर्णय गर्न सहयोग पुर्‍याउने जानकारी दिंदै नेपालका प्रतिनिधि वोन योङ होङले कृत्रिम बुद्धिमत्ताको उपयोग गर्दै नेपाललाई डिजिटल युगतर्फ अघि बढाउने यो प्रयास प्रविधि, विकास, र नवप्रवर्तनका दृष्टिले निकै महत्वपूर्ण रहेको बताइन्।

एआईले सर्वेक्षणहरु संचालन गर्ने र प्रतिवेदन बनाउने तरिकालाई नै रुपान्तरण गर्नसक्ने जिकिर गर्दै उनले भनिन्– ‘यसले तथ्यांक संकलन र विश्लेषणलाई छिटो, प्रभावकारी र एकदम सटीक बनाउने छ। हामी नेपाल सरकारलाई तथ्यांक विश्लेषण र प्रतिवेदन निर्माणमा छिटो निर्णय गर्न सहयोग पुर्याउने यसको क्षमताबाट उत्साहित छौं। विशेषगरी अहिलेको विश्वव्यापी आर्थिक चुनौतीहरुका बीच लागत कुशलताको दृष्टिकोणले यो प्रणाली निकै महत्वपूर्ण हुने हामीले विश्वास लिएका छौं। यो परियोजनाको लागि बेलायत सरकारको सहयोगप्रति हामी आभारी छौं।’


कार्यक्रममा नेपालका लागि बेलायतका राजदूत रोबर्ट फेनले एआई प्रविधिले तथ्यांक विश्लेषणलाई सजिलो, सुलभ र प्रभावकारी बनाउने भएकाले समावेशी विकासका लागि नीतिगत निर्णयहरू अझ सशक्त हुने विश्वास व्यक्त गरे। उनले यो नयाँ प्रविधिले तथ्यांकलाई सजिलै पहुँचयोग्य, समायानुकुल र उपयोगी बनाउन एआई विश्लेषण प्रविधि प्रयोग गरेर समावेशी विकास र तथ्यांकमा आधारित नीति निर्माणमा सहयोग गर्ने धारणा अघि सारे।
त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले सार्वजनिक संस्थाहरूका लागि वास्तविक तथ्यांकको आधारमा छरितो र प्रभावकारी निर्णय लिन एआईले मद्दत गर्ने बताए। उनले तथ्यांक विश्लेषणमा प्राविधिक र मानव संसाधनको उपलब्धता सीमित रहेको अवस्थामा यो एआई महत्वपूर्ण सहयोगी सावित हुने बताए।


सरकारी निकाय, विकास साझेदार र निजी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा सीता एआई प्रणालीको प्रत्यक्ष प्रदर्शन गरिएको थियो । प्रदर्शनको क्रममा युएनएफपीए नेपालका तथ्यांकसम्बन्धी कार्यक्रम विश्लेषक आशीष लामिछानेले यो एआईबाट प्रयोगकर्ताले सामान्य भाषा प्रयोग गरी प्रत्यक्ष रूपमा चार्ट, तथ्यांक र विश्लेषणात्मक प्रतिवेदन प्राप्त गर्न सक्ने बताए। उनले यस प्रविधिको प्रयोग गरी जटिल तथ्यांकहरुको चाङबाट पनि प्रयोगकर्ताले सामान्य प्रश्नहरु सोधेर प्रत्यक्ष रुपमा तथ्यांक, ग्राफ, तालिका र प्रतिवेदन तयार पार्न सकिने बताए। झण्डै ८ महिना लगाएर बनाइएको सीता एआईको प्रत्यक्ष प्रदर्शनका लागि नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ लाई पाइलट डाटासेटको रूपमा उपयोग गरिएको थियो। कार्यक्रममा यो एआईको प्रमुख विशेषता भनेको प्रयोगकर्ताको प्रश्नहरुको सन्दर्भअनुसार विशिष्ट क्षेत्र वा विषयलाई बुझ्ने क्षमता अर्थात डोमेन अवेयर सेम्यान्टिक क्वेरी इन्जिन रहेको बताइएको थियो।