स्वास्थ्य मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो भने स्वस्थ जीवन ईश्वरको वरदान हो भन्ने गरिन्छ । तर, आजभोलि शहरिया र व्यस्त जीवनशैलीका कारण मानिसहरूको खानपान बिग्रँदै गएको छ । त्यतिमात्र होइन बजारमा पाइने तयारी खानेकुरामा भएको अखाद्य वस्तुको मिसावटका कारण विभिन्न किसिमका रोगहरूको प्रकोप बढ्दै गएको पाइन्छ ।
व्यस्त जीवनशैली र बाहिर बनाइएका तयारी खानेकुराका कारण पेटसम्बन्धी विभिन्न रोगहरू बढेका छन् । यसले गर्दा ग्यास्ट्रिक हुने र यो समस्या बढ्दै जाँदा आन्द्रा तथा मलाशयमा विभिन्न समस्या देखिन्छन् । ती अंगहरूमा हुने समस्याको पहिचानका लागि भरपर्दो परीक्षणका रूपमा कोलोनोस्कोपीलाई लिने गरिन्छ । नेपालमा पछिल्लो समय कोलोनोस्कोपी लोकप्रिय हुँदै गएको देखिन्छ ।
श्रीमतीको थाइराइड चेकजाँचका लागि नियमित रूपमा काठमाडौं मेडिकल कलेज जाने क्रममा यसपटक टिकटको लाइनमा काभ्रेकी लक्ष्मीमाया तामाङसँग परिचय भयो । विगत तीन महिनादेखि अस्पताल धाइरहेकी उहाँलाई डाक्टरले कोलोन क्यान्सर शुरुवाती चरणमा रहेको बताएका रहेछन् । यसैले उहाँ आज थप उपचारका लागि कोलोनोस्कोपी गराउने सुरसारमा हुनुहुुन्थ्यो । उहाँलाई हेर्ने डाक्टर राजेश पाण्डेका अनुसार उहाँको कोलोनोस्कोपी पद्धतिबाट परीक्षण गर्नु र आन्द्राको क्यान्सरको अवस्था यकिन गर्न बायोप्सी आवश्यक रहेको थियो ।
यसै गरी भक्तपुरका फिरोज महर्जन पनि कोलोनोस्कोपी परीक्षण विभागमा डाक्टरको प्रतीक्षामा बसिरहनुभएको थियो । दुई दिनअघि अचानक दिसामा रगत देखिएर उहाँ अस्पताल आइपुग्नुभएको रहेछ । उनै डाक्टर पाण्डेको सल्लाहअनुसार आज उहाँको कोलोनोस्कोपी परीक्षणको तयारी गरिएको रहेछ । यसैले हिजैदेखि केही नखाई आन्द्रा सफा गर्ने औषधि मात्र सेवन गरेर आज अस्पताल आइपुगेको महर्जनले बताउनुभयो ।
माथि प्रस्तुत दुवै उदाहरणहरू प्रतिनिधि घटनामात्र हुन् । यस प्रकारका समस्या लिएर अस्पताल धाउने बिरामीका लागि कोलोनोस्कोपी परीक्षण एवं उपचार भरपर्दो र आवश्यक पर्ने कुरा काठमाडौं मेडिकल कलेजका डाक्टर राजेश पाण्डेको भनाइ रहेको छ ।
के हो कोलोनोस्कोपी ?
हाम्रो शरीरको ठूलो आन्द्रा तथा मलाशयमा समस्या देखिएका बिरामीको समस्या पहिचान गर्न र देखिएका समस्याको समाधान गर्न सकिने पद्धतिलाई कोलोनोस्कोपी भनिन्छ । अर्थात् कोलोनोस्कोपी एक प्रकारको उपचार पद्धति हो, जसलाई थेराप्युटिक कोलोनोस्कोपी भनिन्छ भने अर्को यो स्वास्थ्य जाँच गर्ने माध्यम पनि हो, यसलाई डाइग्नोस्टिक कोलोनोस्कोपी भनिन्छ ।
थेराप्युटिक कोलोनोस्कोपी:
डाक्टरहरूका अनुसार ठूलो आन्द्रामा क्यान्सर, पोलिप्स वा रक्तस्रावजस्ता पहिचान भएका समस्याको उपचार गर्न थेराप्युटिक कोलोनोस्कोपी गरिन्छ । यसको सहायतामा समस्या भएका ठाउँबाट सानो अंशलाई फोर्सेप्स प्रयोग गरेर बायोप्सी (टिस्यु नमुना) निकाल्न पनि सकिन्छ । यसै गरी फोर्सेप्सको मद्दतले पोलिप्स हटाउन सकिन्छ । यसैले थेराप्युटिक कोलोनोस्कोपीलाई उपचार पद्धतिका रूपमा लिइन्छ ।
यस पद्धतिबाट बिरामीको ठूलो आन्द्राको साँघुरो वा आंशिक अवरोधका लागि, एन्डोस्कोपमार्फत बेलुन घुसाइन्छ र यो प्रक्रियाले आन्द्रालाई फराकिलो बनाउँछ । आवश्यक भएमा, साँघुरो क्षेत्रलाई खुला राख्न सानो स्टेन्ट (ट्युब) राख्न पनि सकिन्छ । कोलोन पोलिप्स, क्यान्सर तथा आन्द्रामा रोग भएका बिरामीहरूको लागि यो प्रविधि भरपर्दो मानिने हुनाले यसलाई थेराप्युटिक कोलोनोस्कोपी उपचार पद्धति भनिएको हो । यसबाट आन्द्रामा भएका ससाना प्वालहरू टाल्न, आन्द्रामा पलाएका ससाना मासु वा ट्युमर झिक्न र कोलोन फुलाउन सहज हुने भएकाले यसलाई उपचारकै एक भरपर्दो पद्धतिका रुपमा समेत लिइन्छ ।
डाइग्नोस्टिक कोलोनोस्कोपी:
पश्चिमी मुलुकहरूमा चिकित्सकहरूले ४५ वर्षको उमेरदेखि, औसत जोखिम भएका व्यक्तिहरूका लागि डाइग्नोस्टिक कोलोनोस्कोपी परीक्षण अनिवार्य गर्न लगाउँछन् भने अमेरिकन क्यान्सर सोसाइटीले बिरामीलाई प्रत्येक वर्षमा कोलोनोस्कोपी गर्न सिफारिस गर्दछन् ।
यसबाहेक अचानक बिरामीको दिसामा रगत देखिने समस्या भएमा प्रत्येक वर्ष स्क्रिनिङ गर्न सिफारिस गर्ने गर्दछन् । कोलोरेक्टल क्यान्सर हुने र कोलोन क्यान्सरलाई रोकी जीवनभरको जोखिम न्यूनीकरण हुने भएकाले कोलोनोस्कोपी परीक्षणका लागि बिरामीलाई डाक्टरहरूले सिफारिस गर्ने कुरा काठमाडौं मेडिकल कलेजमा कार्यरत डाक्टर राजेश पाण्डे बताउनुहुन्छ । यसैले नेपालमा पनि बिरामीहरूमा दिसामा रगत देखिने, ठूलो आन्द्रा वा मलाशयमा अस्वाभाविक दुखाइ हुने अथवा आन्द्रासम्बन्धी समस्या देखिएमा तुरुन्त कोलोनोस्कोपी परीक्षण गराउनुपर्ने उहाँ बताउनुहुन्छ ।
कसरी र किन गर्ने कोलोनोस्कोपी ?
कोलोनोस्कोपी गर्दा एउटा सानो भिडियो क्यामेरा जडान गरिएको लचिलो बत्ती भएको ट्यूब मलाशयमा घुसाइन्छ । त्यसपछि मलाशयको भित्री भाग र ठूलो आन्द्राभित्र राम्ररी हेर्ने (स्क्यानिङको) काम यस परीक्षणमा गरिन्छ । सम्पूर्ण कोलोन पोलिप्स, क्यान्सर वा अल्सरेटिभ कोलाइटिसजस्ता रोगहरूका लागि यो परीक्षण एवं समाधानका लागि गर्ने गरिन्छ । धेरैजसो कोलोरेक्टल क्यान्सरहरू वा गैर क्यान्सरयुक्त पोलिप्स छिटो–छिटो बढ्दो स्वभावका हुन्छन्, जुन कोशिकाहरू कोलोनको भित्री भागमा सक्रिय हुन्छन् र ती क्यान्सरमा परिणत हुन सक्छन् । त्यसको संक्रमणको अवस्था पहिचान गर्न बिरामीको कोलोनोस्कोपी गर्नु अत्यन्त आवश्यक मानिन्छ ।
महत्व र फाइदाहरू:
पोलिप्सहरू क्यान्सरमा विकसित हुनुअघि फेला पार्न र प्रायः हटाउन कोलोनोस्कोपीबाट सम्भव हुन्छ । यदि, बिरामीमा क्यान्सर पहिले नै संक्रमण भइसकेकको छ भने, लक्षणहरू निम्त्याउनु वा फैलनुअघि नै यसलाई चाँडै पत्ता लगाउनाले बिरामी पूर्णरूपमा निको हुने सम्भावना हुन्छ । यसैले त्यस्ता बिरामीका लागि पनि कोलोनोस्कोपी परीक्षण प्रभावकारी एवं महत्वपूर्ण छ ।
कोलोनोस्कोपी साना पोलिप्स फेला पार्ने, हटाउने र बायोप्सी गर्ने सबैभन्दा सही तरिका हो । यदि, बिरामीले कोलोनोस्कोपी परीक्षण गराएको छैन भने, पोलिप्स वा क्यान्सर अझ बढी फैलिएर त्यसको असर नदेखिएसम्म पहिचान नहुन सक्छ । डाक्टरहरूले जोखिम कम गर्न सम्भव भएसम्म सबै प्रयास गर्नेछन् तर कोलोनोस्कोपी र सिग्मोइडोस्कोपीजस्ता सरल र भरपर्दा प्रक्रियाहरूले जस्तै जोखिमहरूलाई पनि समाधानतर्फ लैजान मद्दत गर्दछन् । यसैले समस्या थाहा पाउनेबित्तिकै यो परीक्षण गर्नु अत्यन्त उपयुक्त हुने डाक्टरहरूको सुझाव रहेको छ ।
यदि, बिरामीलाई दिसा गर्दा ४ चम्चाभन्दा बढी रक्तस्राव भयो भने, तुरुन्तै आफ्नो डाक्टरलाई भेटेर परामर्श गरिहाल्नुपर्ने डाक्टर पाण्डेको सुझाव रहेको छ । स्क्रिनिङ वा थेराप्युटिक कोलोनोस्कोपी परीक्षण गर्दा कुनै पनि मृत्युको जोखिम हुँदैन । यद्यपि, यो परीक्षण गराउँदा केही संवेदनशीलता भने बिरामी र डाक्टर दुवैले अपनाउनुपर्ने सुझाव उहाँहरूको रहेको छ । यसै गरी थेराप्युटिक कोलोनोस्कोपी गर्दा पनि धेरै जटिल परिस्थितिहरूको जोखिम कम नै रहेको डाक्टर पाण्डे बताउनुहुन्छ ।
परीक्षणपूर्व अपनाउनुपर्ने सावधानी:
हृदय रोग र श्वासप्रश्वास जटिलताहरू कोलोनोस्कोपी प्रक्रियाको क्रममा बिरामीलाई आरामदायी राख्न दिइएको औषधिसँग सम्बन्धित हुन्छन् । डाक्टरले बिरामीको मुटुको चाल, श्वासप्रश्वास र अक्सिजनको स्तरको निगरानी गर्नेछन् । आवश्यक परेमा अक्सिजन र नसामा तरल पदार्थ दिएर मात्र कोलोनोस्कोपीको तयारी गर्ने गर्दछन् । कोलोनोस्कोपीपूर्व उपचारका क्रममा डाक्टरले बिरामीको हिस्ट्री लिने, बिरामीले हाल सेवन गरिरहेको भए औषधिका बारेमा जानकारी लिने र बिरामीमा कुनै प्रकारको एलर्जीहरू भए त्यसबारेमा राम्ररी बुझ्नेछन् । यदि, बिरामीले कुनै रगत पातलो पार्ने औषधि, प्लाभिक्स, एस्पिरिन, भिटामिन, जडीबुटी लिएको छ भने सो जानकारी डाक्टरलाई दिनुपर्छ ।
कोलोनोस्कोपी गर्नुभन्दा पहिला आन्द्रालाई तयारी अवस्थामा राख्नु महत्वपूर्ण मानिन्छ । परीक्षणअघि आन्द्रा सफा गरी खाना र दिसा आन्द्राबाट हटाइएको हुनुपर्छ । बिरामीले आफ्नो परीक्षणको १२ देखि २४ घण्टाअघिसम्म सफा तरल पदार्थ जुस र चियामात्र पिउनुपर्छ । आफ्नो परीक्षणको ४ घण्टाअघि केही पनि पिउनुहुँदैन । यदि, दिसा आन्द्रामा बाँकी छ भने, डाक्टरले बिरामीलाई पुनः परीक्षणका लागि सिफारिस गर्ने हुँदा बिरामी पूर्ण तयारी भएर कोलोनोस्कोपी गर्न जानुपर्दछ ।
बिरामीले ख्याल गर्नुपर्ने कुराहरू:
कोलोनोस्कोपी गर्दा बिरामीलाई पीडा कम होस् भनी डाक्टरको निगरानीमा नसामार्फत औषधि दिइन्छ । बिरामीलाई बेडमा सुताइन्छ, सामान्यतया बिरामीको घुँडा छातीतिर तान्दै डाक्टरले गुदामा घुसाइएको र कोलोनमार्फत पार गरिएको स्कोपलाई मार्गदर्शन गर्नेछन् र कोलोन खोल्न र वरपरको क्षेत्र हेर्न थोरै मात्रामा हावा घुसाउँछन् । ट्युबको अन्त्यमा बत्ती र क्यामेरा जडित हुन्छ र यसले हेरिएका दृश्यहरू टिभी स्क्रिनमा तस्वीरहरू बिरामी र डाक्टर दुवैले हेर्न सक्नेछन् ।
परीक्षणको क्रममा बिरामीको मुटुको धड्कन, श्वासप्रश्वास र अक्सिजनको स्तरको निगरानीसमेत गर्छन् । बिरामीको समस्या हेरी यो परीक्षण प्रक्रियामा केही बढी समय पनि लाग्छ भने समान्य अवस्थामा १० देखि १५ मिनेट परीक्षण सम्पन्न हुने गर्दछ । यदि, डाक्टरले बिरामीको आन्द्रामा असामान्य तन्तु वा पोलिप्स देखेमा तिनीहरूलाई हटाउन वा बायोप्सीसमेत गर्न सक्छन् ।
यस क्रममा बिरामीलाई बेहोस पार्ने औषधिको प्रयोग गरिएको छ भने बिरामीलाई थकान महसुस भई घरसम्म लैजान कसैको सहायता पर्नेछ । यस अवस्थामा बिरामीले कुनै पनि ठूला निर्णयहरू गर्नुहुँदैन र गाडी चलाउने वा दिनको बाँकी समय काममा फर्कनुहुँदैन ।
यदि, बिरामीले नियमित औषधि सेवन गर्ने गरेको छ भने, परीक्षणको दिन बिरामीले कुन–कुन औषधि लिनुपर्छ भनेर आफ्नो डाक्टरको सल्लाह लिनु जरुरी हुन्छ । सामान्यतया बिरामीले आफ्नो नियमित औषधि पानीको सानो घुट्कीसँगै लिन सक्ने डाक्टरहरूको सुझाव रहेको छ ।
नेपालमा कोलोनोस्कोपीको अवस्था:
आजभन्दा दश–पन्ध्र वर्षअघिसम्म कोलोनोस्कोपी सेवा बिरामीहरूका लागि उपलब्ध हुन निकै दुर्लभ एवं जटिल थियो तर वर्तमान समयमा यो परीक्षण पद्धति निकै सजिलो र अत्याधुनिक प्रविधियुक्त भएको कुरा डाक्टर सत्यदीप भट्टाचार्य बताउनुहुन्छ । आजभोलि डाइग्नोस्टिक एवं थेराप्युटिक दुवै कोलोनोस्कोपी सरल र सहज ढंगबाट उपलब्ध छ, जसबाट बिरामीको उपचारमा निकै सहज भएको छ ।
नेपालका प्रायः प्रमुख अस्पतालहरूमा यो प्रविधिबाट दैनिक उपचार एवं परीक्षण गर्ने बिरामीको चाप बढ्दै गएको सम्बन्धित क्षेत्रमा उपचार सेवा दिँदै आएका डाक्टरहरूको भनाइ रहेको छ । आन्द्रा एवं मलाशयमा सामान्यदेखि जटिल समस्या बढ्दै गएर भविष्यमा आइपर्ने गम्भीर समस्याको जोखिम न्यूनीकरणमा कोलोनोस्कोपी भरपर्दो परीक्षण एवं उपचार पद्धतिका रुपमा लिइन्छ ।
प्रतिक्रिया