कुलमान र राजावादीको समर्थनमा सहभागी बिदेशी नागरिक पक्राउ


काठमाडौँ।

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा माइतीघरमण्डलमा प्रदर्शनमा उत्रिएका एकजना विदेशी नागरिक पक्राउ परेका छन् ।

सुरूमा कुलमान घिसिङको समर्थनमा पम्प्लेटसहित माइतीघरमा देखिएका उनी त्यसलगत्तै राजावादीको पक्षमा दौरासुरुवालसहित प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनकै क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अहिले उनलाई प्रहरी वृत्त, सिंहदरबारमा राखिएको छ । उनले सुरूमा आफू कुनै पनि देशको नभएको बताएका थिए । तर प्रहरीले सोधपुछ गर्दा उनले अमेरिकी नागरिकका रुपमा परिचित गराए । जुली नामका उनले आफ्नो उमेर ५८ वर्ष रहेको पनि खुलाए ।

उनी पर्यटक भिसामा अमेरिकी राहदानी लिएर नेपाल आएको खुलेको छ । नेपालमा उनी ओभरस्टे भएको पनि देखिएको छ ।

सिंहदरबारका डीएसपी गङ्गाप्रसाद पौडेलका अनुसार ती अमेरिकी नागरिकले ओरिजिनल राहदानी ल्याउने बताएका छन् । ओभरस्टे भएको अवस्थामा पनि उनी अध्यागमन कानुन अनुसार डिपोर्ट हुन सक्छन् । नेपालको कानुनले कुनै पनि विदेशीलाई यहाँ राजनीतिक गतिविधिमा संलग्न हुन निषेध गरेको छ।