गणतान्त्रिक व्यवस्थाका सञ्चालकहरू चाहिनेभन्दा अधिक लोभको खाल्टोमा जाकिनाले गणतान्त्रिक व्यवस्था दुई दशक समय पनि बित्न नपाउँदै असफल भएको हो कि भन्ने भान पर्न थालेको छ । गणतान्त्रिक राज्य व्यवस्थाको विकल्पको रूपमा राजतन्त्रले टाउको उठाउने मात्र होइन कि गणतन्त्रको बलियो विकल्पको रुपमा उदाउन खोजिरहेको छ ।
यता गणतन्त्रको असफल नेतृत्व गर्नेहरुले राजतन्त्रका नायक मानिएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न आरोप लगाएर आफ्ना गलत हर्कतलाई ढाक्ने र चोखा बन्ने प्रयत्नको कसरत गरिरहेका छन् । अबका दिनमा पूर्वराजा सत्ता हत्याउन सफल होलान् कि नहोला, समयले देखाउला ।
आखिर जे भए पनि हाम्रा गणतन्त्रका सञ्चालकहरुका खराब हर्कतबाट वाक्कदिक्क भएका आम नेपाली जनताले गणतन्त्रको विकल्पको रुपमा राजतन्त्र हुन सक्छ भनेर दैनिकरुपमा विश्वास बढाइरहेका छन् । अहिले दुवै पक्षका मसिहाहरुले आ–आफ्ना पक्षलाई सही हो भन्ने देखाएर आ–आफ्ना पक्षमा जनमत तयार गर्ने प्रयासमा लागेका छन् । भर्खरैका दिनको जनमतलाई आँकलन गर्दा गणतन्त्रवादीको पक्षको तुलनामा राजावादी पक्षमा अधिक जनमत ओइरिएको देखिन्छ । गणतन्त्रका सञ्चालकहरु विगतमा आफूले गरेका गलत हर्कतको समीक्षा गरेर सच्चिने पक्षमा कदापि छैनन् । उनीहरुको लिँडेढिपी भनेको आफूहरुले सही काम गरिरहेका हुनाले जनमत आफ्नो पक्षमा अधिक हुनुपर्ने उनीहरुको दाबी रहेको छ । आफूहरुले विगतमा गरेका कुकर्महरुप्रतिको थोरै मात्र पनि आत्मसमीक्षा गर्ने साहस देखाउन सकेका छैनन् ।
गणतन्त्रको विकल्पमा राजतन्त्र कदापि स्थापना हुने विषय होइन । गणतान्त्रिक व्यवस्थाको जतिको योजना बनाएर राजतन्त्रले हाँक्न सक्ने सामथ्र्य राख्न सक्नेछैन । राजतन्त्रका पनि आफ्ना व्यक्तिगत स्वार्थ नभएका होइनन् । राजतन्त्रको कुनै पनि बलियो भावी योजना बन्न सकेको छैन । केवल गणतन्त्रका नायकहरुले देशै बेचेर खालान् कि भन्ने भयका कारण राजतन्त्रले भए देश त ढुक्कले जोगाउन सक्ला कि भन्ने विकल्पका आधारमा पाइला टेकेर राजावादीहरु राजसंस्थालाई पुनः जीवित गराउने प्रयत्नमा लागेका छन् ।
गणतन्त्रवादीहरुमा जस्तै आज राजतन्त्रका कट्टर हिमायती बनेका धेरै चाटुकारहरुले आ–आफ्नो स्वार्थ पूरा भएपछि केवल राजतन्त्रका नायकलाई एक्लो पारेर आ–आफ्ना बाटोतिर लाग्नेछन् । विदेशीको इशारामा चलेका गणतन्त्रवादीहरु आज असफल भएर आम नेपाली जनताको नजरबाट गिर्नुपरेको तीतो यथार्थता भोग्दै छन्, भोलिको राजतन्त्रको गति वा हालत पनि त्यस्तै हो । गणतन्त्रका सञ्चालकहरुले आफू र आफ्ना झोले कार्यकर्तालाई देश लुटेर खुवाउने कुकर्म गर्नाले देशको आर्थिक अवस्था डामाडोल भएर आर्थिकरुपमा टाट पल्टन पुग्यो, राजतन्त्रमा पनि खान खोज्ने मुख उनै र उस्तै हुन् ।
बरु गणतन्त्रवादीहरुले आफ्ना कार्यकर्तालाई भ्रष्टाचार गर्न नजान्ने बनाएका भए कामयावी हुने थिए होलान् तर राजावादीका कार्यकर्ता खाने कुरामा जति अगाडि आउँछ नपचे पनि छेरौटी चलाएरै भए पनि हसुर्नुपर्छ भन्ने मानसिकताले ग्रस्त भएका छन् । यी सबै कारणले गर्दा पनि गणतन्त्रको विकल्पमा राजतन्त्र हुन सक्ने सम्भावना रहँदैन । राजा र राजतन्त्र कालमा प्रजा भएका आम नेपाली जनता बल्ल जनता हुन पाएका छन् । अब फेरि प्रजा नै हुन इच्छुक छैनन होला । अर्को मूल विषय भनेको राजतन्त्रको पुनस्र्थापना गर्न इच्छुक पूर्वराजासँग विदेशीले देखाएको बाटोभन्दा आफ्नो कुनै दृष्टिकोण रहेको छैन ।
अबको युगमा चाहे गणतन्त्रको शासक होस् वा राजतन्त्रको शासक जोसुकै होस्, निश्चित दृष्टिकोणबेगरको शासन भनेको असफल शासन हो । नेपाली जनता गणतन्त्रे नेतृत्वको यही दृष्टिकोणबेगरको असफल शासनबाट दिक्क भएका छन् र गणतन्त्रको विकल्प राजतन्त्र पो हुन्छ कि भनेर नहुनु मामाभन्दा कानो मामा निकोको उखानलाई आत्मसात् गर्दै छन् । यदि राजतन्त्रको कुनै दृष्टिकोण थियो नै भने त राजा वीरेन्द्रको वंश विनाशको हत्याराको आरोप लाग्दै गर्दाको बखत वास्तविक हत्यारा पत्ता लगाएर आफू त्यो दोषबाट मुक्त हुने प्रयासमा लाग्नुपर्ने हुन्थ्यो ।
तर खै त लाग्न सकेको देखिएन । भर्खरै पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्रको हर्कत देखेर उनलाई आरोप लगाएका थिए । हुन त सत्ता सञ्चालनमा असफल भएको र हजारौँ जनताको बलिदानी गराएर आएको परिवर्तनको एकलौटी नाफा हसुर्ने गणतन्त्रको एक नाइकेले राजतन्त्रको अर्को नाइकेलाई भएभरको आरोप लगाएर आफू भने पानीमाथिको ओभानो बन्न खोज्नु आम मानवीय प्रवृत्ति नै हो । अझ हाम्रोजस्तो एउटा सर्वमान्य व्यवस्था स्थापित हुन नसकेको देशका खञ्चुवा नेताले होस् कि पूर्वराजाले खञ्चुवा नेतालाई दोष थोपरेर होस् आफू असल बनेको देखाउने हर्कतलाई स्वाभाविकरुपमा लिनुपर्ने हुन्छ ।
अहिलेको समयमा हाम्रो देशको महत्वपूर्ण आवश्यकता भनेको जनतामाझ समेत बदनाम भएको राजनीतिलाई सही बाटोमा हिँडाएर देशको चौतर्फी उन्नतिको कर्ममा जुट्ने बेला हो । तर गणतन्त्रको विकल्पको रुपमा ठानिएको वा भनिएको राजतन्त्रसँग पनि त्यो सामथ्र्य रहेको छैन भन्ने कुरा विगतको पूर्वराजा ज्ञानेन्द्र शाहको छोटो अवधिको शासनले देखाएको पूर्वपिठिकाले प्रस्ट पारिसकेकै छ । गणतन्त्रवादीहरुले आफ्ना विश्वासपात्र कार्यकर्तालाई जति लामो समयसम्म आश्वासन बाँडेर टिकाउन सके पूर्वराजामा त्यो सामथ्र्य पनि छ भनेर पूर्ण विश्वास गर्ने ठाउँ छैन ।
गणतान्त्रिक व्यवस्थाको विकल्पमा उपस्थिति जनाउन खोज्ने राजतन्त्रले हाल जति मात्रामा विश्वास बटुलेर तुलनात्मकरुपमा गणतन्त्रभन्दा उत्तमको संज्ञा दिन खोज्दै छ, राजतन्त्रका लागि यही नै महान् कुरा छ । यसैलाई रहस्यमय तरिकाले जोगाएर राख्न सकेको खण्डमा राजतन्त्रप्रतिको आम नेपाली जनताको विश्वास सदैव अटल रहनेछ । यदि पूर्वराजा ज्ञानेन्द्र गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्छ भन्दै सत्ता सम्हाल्ने हर्कतमा लागेर पुनः अक्षम वा असफल शासक बन्न पुगेका खण्डमा जनविश्वास स्वाट्टै घटेर जानेछ । पूर्वराजाका लागि गुमाउनै नहुने सबैभन्दा ठूलो कुरा गुमाएको ठहरिनेछ ।
पूर्वराजा ज्ञानेन्द्रलाई गणतन्त्रको विकल्पका रुपमा राजतन्त्र भन्दै आज उठाएर सिंहासनमा राख्ने तयारीमा जति जन जुटेका देखिन्छन्, त्यो केवल झुटसिवाय केही होइन । यदि गणतन्त्रका हिमायतीले आफ्नो आचरण सुधारेर एउटा दृष्टिकोणका साथ सुशासनको प्रत्याभूत आम जनतालाई गराउन सकेका खण्डमा राजतन्त्रका विरुद्धमा जनमत बढ्दै जाने कुरा पक्का छ । सडकमा कुर्लेर राजतन्त्रको बारेमा वकालत गर्नेहरु पूर्वराजालाई एक्लो पारेरै भए पनि टाउको लुकाएर नेपथ्यको कुनातिर टाप कस्नेछन् । त्यसैले आज विश्वास गरेकाहरुले नै भोलिका दिनमा धोका दिने हुन् भन्ने कुरामा पूर्वराजा निश्चित हुन जरुरी छ । पूर्वराजा हुन् कि गणतन्त्रवादी शासक जोसुकै हुन्, उनले एक्लै शासन चलाउने पक्कै होइनन् ।
सहयोगीहरुको भरोसा र विश्वासमा शासन चल्ने हो । तर शासक स्वयं नै सहयोगीलाई खराब कर्म गर्ने सल्लाह र सुझाव दिन्छ भने सहयोगीका तर्फबाट हुने गरेको विश्वासमा पनि क्रमशः घात–प्रतिघात हुन थाल्छ । यति भइसकेपछिका दिनमा सुशासनको चुकुल खुस्कँदै जान थाल्छ र अन्त्यमा सुशासन दिन आएको शासक कुशासकमा परिणत हुनुका साथै सुशासनको स्थान कुशासनले लिन पुग्छ । गणतन्त्रका रहरले बनेका र बाध्यताले बनेका दुवै खालका शासकले कुनै पटकको बैठकमा पनि देशको उन्नति यसरी गर्ने, जनताका भलाइका लागि यस्ता काम गर्ने भन्ने खालका बुँदा उठान र बैठान गरेको पाइएन । तिनको बैठकको मूल विषय भनेको अर्थोपार्जन कसरी गर्ने र आम जनतालाई कसरी लुट्ने ? भन्ने कुराको पेरिफेरिमा मात्र सीमित रहन पुग्यो । शासकको यस नालायकी हर्कतले गर्दा आम कार्यकर्ताको ऊप्रतिको विश्वास क्रमशः टुट्दै जान थाल्यो । आजका दिनमा त्यसैको नतिजा सार्वजनिक हुँदै छ । फलाना शासकले यति धन लुटेको छ भनेर उसै शासकका बफादार ठानिएका कार्यकर्ता चिच्याउन र शासकका खराब हर्कतका पोल खोल्न थालेका छन् ।
यस्तो विषम अवस्थामा शासक ती पोल खोल्ने कार्यकर्तालाई दमन गरेरै भए पनि दबाउन खोज्छ तर ऊप्रतिको विश्वास हराइसकेका कारण कार्यकर्ता शासकलाई टेर्दै टेर्दैनन् । अबका दिनमा शासक र उसका कार्यकर्ताको पोल खोलाइको वा रहस्य खोलाइको आश नराखेरै भए पनि स्वार्थरुपी द्रवले हृदय भरिएको शासकलाई निर्ममताका साथ कत्लेआम गरेरै भए पनि कम्तीमा निर्लोभी शासकको चयन गर्नु र उसैमार्फत निर्लोभिताको आडमा शासन चलाउने तरिकाको विकास नगरी नहुने भएको छ ।
हाल शासनमा असफल भएर पनि बेतुकका गफ चुटी शासनको आयु लम्ब्याउने धुनमा लागेका शासकलाई हटाएर निर्लोभीपनाले भरिएको शासकको खोजीमा लाग्नुपर्ने कुरा अपरिहार्य आवश्यकता बन्ने रहेछ । यति भएरै पनि यति धेरै वर्षको सत्ताको भोगाइ र त्यसका सकारात्मक असरका बारेमा आम जनताका दिमागभित्र समेत यसबारेमा कौतुहलता जाग्नु स्वाभाविक हो । चाहे राजतन्त्र वा गणतन्त्रका जोसुकै शासक किन नहुन्, लोभ र पापले दिमाग नभरिएका कोही पनि छैनन् । भनिन्छ, गणतन्त्रमा धेरैले लुटे तर राजतन्त्रमा थोरैले मात्र लुट्ने मौका पाउँछन् र आर्थिक उन्नति अलि बढी हुन्छ । तर गणतान्त्रिक व्यवस्था स्थापित हुनुअघि पनि राजतन्त्र नै हाबी भएको थियो ।
त्यतिखेर पनि मुलुकको आर्थिक अवस्था डामाडोल अवस्थाबाटै गुजे्रको थियो । गणतान्त्रिक राजनीतिक व्यवस्थालाई फालेर राजतन्त्र स्थापना गर्दैमा सबै ठीक हुन्छ भन्ने निश्चित कसैले गर्न सक्ने विषय होइन । भोलिका दिनमा यदि राजतन्त्र स्थापना भएछ र जनताका दुःख–पीडाका घाउमा कतैबाट पनि उपचारको मलहम लाग्न सकेन भने दिक्क भएर फेरि हामीले राजतन्त्र फाली गणतन्त्रको स्थापनार्थको कर्ममा लाग्न बाध्य बन्नुपर्ने हुन्छ । त्यसकारण भन्न सकिन्छ कि गणतन्त्रको सट्टामा राजतन्त्र किमार्थ पनि स्थापना हुन सक्ने अवस्था बन्दैन अनि बन्न सक्नु पनि हुँदैन ।
आम नेपाली जनताको प्रतिक्रियात्मक सामूहिक आवाज सुन्ने हो भने राजतन्त्र आए पनि, स्थापित भइसकेको गणतान्त्रिक व्यवस्था कायम रहे पनि हामीलाई फरक पर्नेवाला छैन । यस्ता निराशाले भरिएका आवाज मात्र सुन्न पाइन्छ । यसै कारण भन्न सकिन्छ कि गणतान्त्रिक शासन व्यवस्थाको सट्टामा राजतन्त्र (सक्रिय वा निष्क्रिय जस्तोसुकै होस्) देशको माटो र आम जनताको इच्छा गणतन्त्रकै रटानमा रहेको छ ।
प्रतिक्रिया