राजावादी र गणतन्त्र पक्षको आन्दोलनका लागि ठाउँ तोकियो  


काठमाडौँ। 

नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले १५ गते काठमाडौँमा प्रदर्शन गर्ने घोषणा गरेको छ । समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै शुक्रबार प्रदर्शन गर्ने जानकारी गराएको हो।

यस्तै सोही दिन समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले पनि प्रदर्शन गर्ने घोषणा गरेका छन्।

प्रदर्शन र सभा गर्न स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने भएकोले गणतन्त्र पक्षधर समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएको छ। त्यस्तै राजावादी समूहले तीनकुनेमा प्रदर्शन गर्ने बताइएको छ।

प्रदर्शन गर्नुअघि स्थानीय प्रशासनबाट अनुमति लिनुपर्ने कानुनी व्यवस्था छ ।

तीनकुने र भृकुटीमण्डपमा प्रदर्शन गर्नेबारे आफूलाई जानकारी गराएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी बताउछन्। तर दुईस्थान बाहेक अन्यत्र प्रदर्शनको कार्यक्रमबारे आफूलाई जानकारी नभएको उनले बताए ।

सोही दिन दुर्गा प्रसाईं नेतृत्वको समूहले पनि काठमाडौँमा हातहतियारसहित प्रदर्शन गर्ने सूचना आएकाले सुरक्षानिकायलाई तयारी अवस्थामा रहन प्रशासनले निर्देशन गरेको छ।