लोकतन्त्र धरापमा नपार


मुलुकमा कतिखेर के हुने हो ? सर्वसाधारण जनतामा त्रास पैदा भएको छ । नेपालमा राजा फर्काउने भन्दै आन्दोलनमा होमिएकाहरुले सामाजिक सञ्जालको भरपूररुपमा दुरुपयोग गर्दै चैत १५ गते देशमा राजा आउने हल्ला फैलाई जनतालाई नारायणहिटी आउन आह्वान गरिरहेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पूर्वपञ्चहरुको हर्कतविरुद्ध एकताबद्ध भएर प्रतिकार गर्ने घोषणा गरेको छ ।

पूर्वराजा ज्ञानेन्द्रले यही बेला देशका विभिन्न भागको भ्रमण गरेर आफू राजगद्दीमा फर्कन तयार भएको संकेत देखाइरहेका छन् । अहिलेको परिस्थितिले नेपालमा के राजतन्त्र स्थापना हुन लागेकै हो त ? भन्ने आशंका पैदा भएको छ । विदेशमा बस्ने नेपालीहरुले गणतन्त्रविरुद्ध नारा लगाउने र देशमा भड्काउने काम गरिरहेका छन् भने चरम निराशामा रहेकाहरु अवसरको खोजीमा छन् । बेरोजगार समुदायलाई प्रयोग गरेर राजावादीहरुले ज्ञानेन्द्रलाई सत्तामा लैजाने भन्दै गरेको हर्कतले गणतन्त्रवादीहरुको मनमा ढ्याङ्ग्रो ठोकेको छ ।

नेपाली जनाताको लामो बलिदानपछि आएको लोकतन्त्रलाई केही नेताहरुको अविवेकी प्रवृत्तिका कारण अहिले व्यवस्थामाथि धावा बोल्नेहरु सक्रिय हुनु पक्कै पनि मुलुकका लागि हितकर छैन । नेपालमा राजतन्त्र फर्कन्छ भनेर नारा लगाउनेहरुका लागि पनि सजिलो छैन । आज गणतन्त्रवादीहरु चुप बसेको अवस्थाको फाइदा उठाएर राजावादीहरुले गणतन्त्र मुर्दावादको नारा लगाएको अवस्था छ ।

अझै पनि गणतन्त्रवादी चुप अवस्थामै रहेकाले उत्साहित भएका पूर्वपञ्चहरुका लागि अवसर खडा भएको छ । मुलुकमा अस्थिरताको बिउ स्वदेशी तथा विदेशी तत्वबाट रोपिन थालेकाले यस विषयमा सबै सचेत हुनुपर्ने अवस्था आएको छ । सत्ताका लागि जस्तोसुकै सम्झौता चाहे पूर्वराजाबाट होस्, चाहे गणतन्त्रवादीबाट हुन सक्ने भएकाले जनता सचेत हुने बेला आएको छ । आफ्नो अनुकूलको अवस्था सिर्जना गर्न सत्ताका लालायितहरु सक्रिय हुने भएकाले मुलुकलाई माया गर्नेहरु भने फेरि एकजुट भएर जुट्नुपर्ने अवस्था आएको छ । यतिखेर कुनै वादभन्दा पनि मुलुकको स्वतन्त्रताका लागि जनता चनाखो हुनुको विकल्प छैन ।
नेपालको पछिल्लो राजनीतिक अस्थिरतालाई नजिकबाट नियालिरहेका नजिकका छिमेकीको हर्कतले पनि नेपालको सार्वभौमिकतामाथि आक्रमण हुन खोजेको त होइन भन्ने प्रश्न उठेको छ । अहिले व्यवस्था परिवर्तनभन्दा पनि भएको व्यवस्थालाई सुधार गर्दै अघि बढ्नुपर्ने बेलामा बेमौसमको बाजा बजाएर राजावादीहरुको हर्कतलाई भने स्वीकार गर्न सक्ने देखिँदैन ।

त्यसैले अहिलेको व्यवस्थामा देखिएका विकृति र विसंगतिको अन्त्य गर्दै अघि बढ्नुपर्ने अवस्था आइसकेको छ । के गणतन्त्रको विकल्प राजतन्त्र हो त ? यस विषयमा गहन छलफल हुनु जरुरी छ । नेताहरुले गरेको कुकर्मको कारण लोकतन्त्र धरापमा पर्नुहुँदैन । लोकतन्त्र बचाउने जिम्मा आम नेपालीको हो । त्यसैले लोकतन्त्रको पक्षमा आवाज उठाउनु नेपाली जनताको कर्तव्य हुन जान्छ ।