डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्छु : शाक्य


काठमाडौं।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दोस्रोपटक नियुक्त भएका हितेन्द्रदेव शाक्यले मंगलबार अबेर पदभार ग्रहण गरेका छन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले कुलमान घिसिङलाई बर्खास्ती गर्दै शाक्यलाई चार वर्षकाे लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । मंगलबार साँझ ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काबाट नियुक्ति पत्र बुझे लगत्तै शाक्यले प्राधिकरणमा गई पदभार ग्रहण गरेका हुन्।

यसअघि २०७७ माघ २६ गते शाक्य प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। तर, २०७८ साउनमा सरकारले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै कुलमान घिसिङलाई नियुक्त गरेको थियो । करिब ३० वर्ष प्राधिकरणमा कार्य गरेका शाक्यले भारतको दुर्गापुर विश्वविद्यालयबाट इन्जिनियरिङ, नर्वेबाट विद्युत् प्रणाली व्यवस्थापनमा स्नातक तथा काठमाडौं विश्व विद्यालयबाट स्नाकोत्तर गरी सोही विश्वविद्यालयबाट विद्यावारिधी गरिरहेका छन्।

पदभार ग्रहण गरेपछि शाक्यले अघिल्लो कार्यकालमा आफूले गर्न खोजेका काम पूरा गर्ने भन्दै पर्याप्त बिजुली रहेको भन्दै अब लोडसेडिङ नहुने दाबी गरे । उनले डेडिकेटेड तथा ट्रंकलाइनसम्बन्धी विवाद अर्धन्यायिक निकायबाट समाधान आइसकेको हुँदा त्यसलाई प्राविधिक रूपमा समाधान गर्ने बताए ।