महिला सशक्तीकरण बिना  दिगो विकासको लक्ष्य प्राप्त गर्न सकिँदैन : मन्त्री यादव

658
Shares

काठमाडौँ। 

खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूमा महिला नेतृत्व अझै पनि चुनौतीपूर्ण रहेको बताएका छन् ।

आज खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवास), नेपालद्वारा काठमाडौँमा आयोजित ‘खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व : अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया गोष्ठीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले भने, “खानेपानी तथा सरसफाइ हाम्रो आधारभूत आवश्यकता मात्र होइन, समग्र समाजको स्वास्थ्य, समृद्धि र विकाससँग गाँसिएको विषय हो । यस क्षेत्रमा महिलाको भूमिका झनै महत्त्वपूर्ण छ । घरपरिवारमा पानीको व्यवस्थापन, सरसफाइको अभ्यास, र स्वास्थ्य सुरक्षा कायम राख्ने प्रमुख जिम्मेवारी प्राय: महिलाहरूको काँधमा हुन्छ ।”

सोही कार्यक्रममा बोल्दै  मन्त्री यादवले नेपालमा राष्ट्राध्यक्ष बनेर विद्यादेवी भण्डारीले नेतृत्व गरिसक्नु भएको उल्लेख गर्दै  महिलाहरू कमजोर नरहेको बताए । उनले भने, “महिलाहरू कमजोर छैनन् । नेपालको राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, मुख्यसचिव बनेर देशको नेतृत्व महिलाहरुले गरिसक्नुभएको छ । महिलालाई अवसर दिए उहाँहरुले जस्तो सुक्कै ठूलो काम पनि गर्नु सक्छन ।”

महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्न सक्ने उनको भनाई थियो । समाजको आधा हिस्सा ओगट्ने महिलाहरू खानेपानी तथा सरसफाइ प्रणालीका प्रत्यक्ष उपभोक्ता मात्र नभई घर व्यवस्थापनदेखि समाज रूपान्तरणसम्म उनीहरूको भूमिका अतुलनीय रहेको मन्त्री यादवले बताए । उनले भने, “महिलाहरू उपभोक्ता संस्थाहरूमा नेतृत्वदायी भूमिकामा कम देखिन्छन् । तर, विडम्बना के छ भने, नीति निर्माणदेखि कार्यान्वयन तहसम्म महिलाको प्रभावकारी सहभागिता अझै पनि चुनौतीपूर्ण छ ।”

महिला नेतृत्व प्रवद्र्धन गर्न सरकार र समुदायले अनेक प्रयास गरिरहेको बताउँदै  मन्त्री यादवले भने, “महिला सशक्तीकरण बिना हामीले खानेपानी तथा सरसफाइको क्षेत्रमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सक्दैनौँ ।” उनले उपभोक्ता संस्थाहरूमा महिलाहरूको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्थाहरू कडाइका साथ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । महिलाहरूले संस्थागत निर्णय प्रक्रियामा प्रभावकारी भूमिका खेल्न आर्थिक तथा कानुनी पहुँचको समस्या भोग्नुपरेको उल्लेख गर्दै मन्त्री यादवले महिला नेतृत्वका लागि अनुकूल वातावरण तयार गराउन पहलको अभाव रहेको बताए । उनले भने, “महिलाहरू खानेपानीका उपभोक्ता मात्र नभई खानेपानी तथा सरसफाइ व्यवस्थापनका प्रभावकारी संरक्षक हुन् । घरदेखि समुदायसम्म खानेपानीको सही व्यवस्थापनमा महिलाहरूको भूमिका अहम् छ ।”

मन्त्री यादवले खानेपानी तथा सरसफाइ संस्थाहरूमा महिलाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने कानुनी व्यवस्था लागू गरिने तथा महिला नेतृत्व प्रवद्र्धन गर्न विशेष कोटा, क्षमता अभिवृद्धि कार्यक्रम, र आर्थिक सहयोग उपलब्ध गराइने बताए । उनले महिलाहरूको नेतृत्वदायी भूमिका बढाउन प्रशिक्षण, सीप विकास, र सशक्तीकरण कार्यक्रम सञ्चालन गरिने उद्घोष दिए ।

जल स्रोतको दीगो व्यवस्थापनका लागि सामुदायिक सहभागिता आवश्यक रहेको उल्लेख गर्दै  मन्त्री यादवले पानीको दुरुपयोग रोक्न, स्रोत संरक्षण गर्न, तथा सरसफाइको सही अभ्यास अपनाउन उपभोक्ताहरूलाई आग्रह समेत गरे ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले महिलाहरूलाई नेतृत्वदायी भूमिकामा ल्याउन खेलेको भूमिका अत्यन्त सराहनीय रहेको भन्दै मन्त्री यादवले महासंघको पहललाई सरकारले उच्च प्राथमिकता दिएको बताए ।

उनले सरकार खानेपानी तथा सरसफाइ सेवा सुधार, महिला नेतृत्व प्रवद्र्धन, र उपभोक्ता अधिकार संरक्षणमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।