स्वाभिमान आत्मसम्मानको वृक्ष हो । जुन व्यक्तिको आन्तरिक शक्तिको प्रतीक पनि हो । यो केवल बाह्य देखावटी कुरा होइन । तर एक जीवनदायिनी शक्ति हो । यसले हाम्रो अस्तित्वलाई अर्थपूर्ण बनाउँछ । हामी हाम्रो स्वाभिमानको आकाशमा उड्न थाल्दा, हामी आकाशजस्तो असीमित र स्वतन्त्र महसुस गर्छौं ।
स्वाभिमानको आकाश हाम्रो चिन्तन र विचारहरूको विस्तारित क्षेत्र हो । यस आकाशमा हाम्रो आत्मविश्वासले न्यानो प्रकाश फैलाउँछ । यो कुनै ठूलो आकाशको आकार लिन सक्छ, जहाँ हामी हाम्रो योग्यताको उचाइमा पुग्न सकिन्छ । यति मात्र होइन, हामीसँग अस्तित्वको सुगन्ध पनि समावेश हुन्छ । यसले हामीलाई जीवनको वास्तविकता बुझाउँछ । अस्तित्वको सुगन्धले जीवनका सानातिना पलको महत्व हो । ती क्षणहरू जसले हामीलाई यस पृथ्वीमा जीवनको महत्व र यसको जिउने अर्थ सम्झाउँछन् ।
जब हामी स्वाभिमानको आकाशमा उड्छौं, हामी हाम्रो अस्तित्वको सुगन्ध पनि फैलाउँछौं । यसले अरूसँग सकारात्मक सम्बन्ध निर्माण गर्न, आफ्ना सपना पूरा गर्न र सामाजिक न्यायका लागि संघर्ष गर्न उत्प्रेरित गर्छ । अस्तित्वको सुगन्ध भनेको हामी आफैंले बाँच्ने र संसारलाई जिउने शैलीको आभास हो । हाम्रो स्वाभिमान र अस्तित्वको सुगन्धले हाम्रो समाजमा एक उज्यालो छाया छोड्छ । जब हरेक व्यक्ति आफ्नो स्वाभिमान र अस्तित्वको सुगन्धसँग साक्षात्कार गर्न सक्छ, समाजमा शान्ति र समृद्धि फैलन सक्छ । यसरी, स्वाभिमान र अस्तित्वको सुगन्ध एक–अर्कामा गुँथेर जीवनको वास्तविक अर्थ र उदात्तता प्रस्तुत गर्छ ।
रातको नीलो अन्धकारमा आकाश झलझली टल्कन्छ, जूनले हिमाललाई चुम्छ, अनि सेतो उज्यालो छरिन्छ– त्यसरी नै राष्ट्रको पहिचान पनि स्वाभिमानको चन्द्रमाले प्रकाशित हुन्छ । राष्ट्र भनेको माटो मात्र होइन, यो त हाम्रा सपनाहरूको गोरेटो हो । हाम्रा पुर्खाहरूको पसिना हो । हाम्रा सन्ततिहरूको आधारशिला हो । हामी कसरी चिनिन्छौँ ? हामी कुन परिचयले बाँच्छौँ ? भाषा, धर्म, संस्कृति, इतिहास मिलेर बनाएको विशाल चित्र नै हाम्रो पहिचान हो । हामी आफ्नो राष्ट्रलाई माया गर्छौं, आफ्ना परम्परालाई गर्व गर्छौं भने हामी साँच्चै नेपाली हुन्छौं । हिमाल र पहाडको चुचुरोजस्तै अडिग राष्ट्रियता, नदीजस्तै बगिरहने जिजीविषा, अनि हिमालजस्तै विशाल स्वाभिमानले मात्र हामीले हाम्रो अस्तित्वलाई जोगाउन सक्छौं ।
स्वाभिमान आत्मसम्मानको जरो हो । यसले कुनै पनि राष्ट्रलाई दृढ बनाउँछ । जसरी हिमालहरू आफ्ना उच्च शिखरहरू लिएर गर्वसाथ अडिएका छन्, त्यसरी नै हाम्रो आत्मसम्मानले हामीलाई उँचो राख्छ । हामीले आफ्नो स्वाभिमानलाई सम्हाल्न सक्दां, हाम्रो अस्तित्व अविचलित रहनेछ । राष्ट्रप्रेम भनेको भाषणमा सीमित हुनुहुँदैन । यसलाई व्यवहारमा उतार्नुपर्छ । किसानले कोदाली चलाउँदा, सिपाहीले बन्दुक उठाउँदा, शिक्षकले पाठ पढाउँदा, साहित्यकारले कलम समाउँदा सबै हातमा राष्ट्रप्रेम हुनुपर्छ । स्वाभिमानको उज्यालो दीप ज्वाज्वल्यमान भएर बल्नुपर्छ ।
समयले बारम्बार राष्ट्रलाई चुनौती दिन्छ । कहिले आन्तरिक असन्तोष, कहिले बाह्य दबाब, कहिले आधुनिकताले ओगट्दै गएको मौलिकता । यी सबैले हाम्रो पहिचानलाई धमिल्याउन खोज्छन् । हामी आफ्नो माटोलाई माया गर्छौं, हामीलाई कसैले पनि गुमनाम पार्न सक्दैन । राष्ट्रियता भनेको धरोहरजस्तै हो, जसलाई पुस्तौं–पुस्ताले स्याहार्नुपर्छ । हाम्रा गाथा, हाम्रा इतिहास, हाम्रा संघर्षहरू बिर्सनु भनेको आफ्नो आत्मालाई बिर्सनु हो । कुनै पनि सभ्यताको मेरुदण्ड त्यहाँका नागरिकको चेतना हो । चेतना भनेको आफ्नो अस्तित्वप्रति हुने सुदृढ विश्वास पनि हो ।
इतिहास कालगणनाको साधन साथै यो एउटा जिउँदो प्रवाह पनि हो । यसले हामीलाई हाम्रो मूलचेतनासँग जोडिराखेको हुन्छ । गाथाहरू अतीतका कथाहरू मात्र हुँदैनन्, तिनमा हाम्रो पहिचानको बीउ रोपिएको हुन्छ । संघर्षहरू भोगाइका दस्तावेज मात्र होइनन्, तिनमा हाम्रो आत्माको बलियो संरचना खडा भएको हुन्छ । यी सबै बिर्सनु भनेको आफैँलाई हराउनु हो । जस्तै– एउटा चोला तर आत्माविहीन, एउटा शरीर धड्कनविहीन ।
‘नेपाल’, यो एउटा नाम र एउटा इतिहास हो । एउटा संघर्ष हो, एउटा चेतना पनि हो । हिमालको उचाइमा उभिएको हाम्रो स्वाभिमान, पहाडका कन्दराहरूमा बगेका हाम्रो संघर्षका अश्रुधाराहरू, तराईका समथर भूमि सुहाउँदो हाम्रो सहिष्णुता । यी सबै हामी नेपालीका प्रतीक हुन् ।
हाम्रो इतिहास युद्धका किल्लाहरूमा कुँदिएको हाम्रो गाथा धर्म, संस्कार र परम्परामा जीवन्त छ । हाम्रो संघर्ष हाम्रो अस्तित्वकै धरातल हो । पृथ्वीनारायण शाहले एकीकरणको अभियान चलाउँदा उनले भूगोल जोडेका थिएनन् । उनले नेपाली मनहरूलाई जोड्ने प्रयास गरेका थिए । पूर्व, पश्चिम, उत्तर, दक्षिण जोडिएको भौगोलिक एकाइ मात्र नेपाल होइन । यो मन, माटो र महसुसको सामूहिक चेतना पनि हो । यो आपसी मित्रतामा बाँधिएको ‘प्रेम’ हो । यो रगतमा रङ्गिएको ‘बलिदान’ हो । यो आत्मामा गढिएको ‘गौरव’ हो ।
एउटा झन्डा, एउटा परिचय । एउटा चिनारी, एउटा गौरव । रातो पृष्ठभूमिमा उभिएको चन्द्र र सूर्य, नेपालीपनको अमर प्रतीक । यो त्रिभुजाकार कपडाको टुक्रा नेपाली मनभित्र लहराइरहने गौरवको ‘ध्वजापत्र’ हो । हाम्रा वीर पुर्खाहरूको ‘श्वासप्रश्वास’ हो । हाम्रो सपनाहरूको ‘स्पन्दन’ हो । रातो र चन्द्र सूर्य हाम्रो ‘जंगी निशाना’ हो । हाम्रो ‘अभिमान’ र हाम्रो ‘आत्मा’ सबै हो ।
हिमालजस्तै अडिग, पहाडजस्तै स्थिर र तराईको ऊर्वर माटोजस्तै जीवनदायी हाम्रो झन्डा । यसले हामीलाई असंख्य कथाहरू सुनाउँछ । युद्धका मैदानमा उभिएर जीवन बलिदान दिने वीरहरूको, शान्तिको सन्देश फैलाउने बुद्धको, आफ्नै भूमिमा पसिना चुहाएर जीवन उभ्याउने किसानहरूको र अनेक संघर्षका पानाहरू लेख्ने आमनेपालीको कथा बोकेको यो झन्डा, शिर उचालेर सधैं फर्फराइरहेको हुन्छ ।
यद्यपि समयसँगै हाम्रो चेतना ओइलिँदै गएको छ । इतिहासको गाथा ओझेल पर्दै गएको छ । संघर्षको कथा विस्मृतिको गर्तमा बिलाउँदै गएको छ । हिजोको गौरवशाली आत्मसम्मान आज स्वार्थ, षडयन्त्र र विभाजनका विविध आयाममा टुक्रिँदै गएको छ । हाम्रा पुर्खाहरूले जोगाएर राखेका आदर्शहरू आज इतिहासका केही अनुच्छेदहरूमा सीमित छन् । ‘हामी नेपाली हौं’ यो ‘गर्व’ र ‘जिम्मेवारी’ को विषय पनि हो । इतिहासलाई सम्झिनु मात्र पर्याप्त हुँदैन त्यसलाई आत्मसात् गर्नु ठूलो कर्म हुन्छ । गाथाहरू गाइरहने मात्र होइन तिनलाई जिउनुपर्छ ।
संघर्षको कथा सुनिरहने मात्र होइन तिनलाई आत्मसात् गर्नुपर्छ । हाम्रो चेतना बलियो भए मात्र हाम्रो अस्तित्व पनि बलियो हुने निश्चित छ । हाम्रा गाथाहरू जीवन्त राखौं, इतिहासलाई सम्झौं, संघर्षलाई शिरमा राखौं । किनभने जबसम्म हामी आफ्नो आत्मालाई सम्झिरहन्छौं, तबसम्म नेपाल अडिग रहन्छ । निलो आकाशमुनि फैलिएको हरियाली धरती, शिर उचालेर अडिएको हिमाल, माटोको सुगन्धमा मिसिएको पसिना, भाषा र संस्कृतिको मिठास । यिनै हुन् राष्ट्रका पहिचानहरू ! नक्सामा कोरिएको ‘भूगोल’ सँगै हामीभित्र बग्ने ‘अनुभूति’ पनि हो ‘राष्ट्र’ । हाम्रो सपनाको ‘आधार’ र हाम्रो अस्तित्वको ‘सुगन्ध’ हो ।
फूललाई माटोले जीवन दिन्छ, आकाशले खुला आकाश दिन्छ, पानीले तृप्त पार्छ । तर यदि ती आधारहरूमध्ये कुनै एक चुँडियो भने, फूल न बाँच्न सक्छ, न सुगन्ध दिन सक्छ । राष्ट्र भनेको त्यही माटो हो, जसले हामीलाई जीवन दिएको छ, पहिचान दिएको छ । तर के हामीले त्यो माटोको कदर गर्न सकिरहेका छौँ ? राष्ट्रियता इतिहासका पुस्तकहरूमा सीमित हुने कुरा होइन, न त कुनै नारामा मात्र जीवित रहने भावना हो । यो त हाम्रो रगतमा प्रवाहित हुनुपर्छ, हाम्रा सपनाहरूमा बाँच्नुपर्छ । एउटा चराले जुनसुकै आकाशमा उड्न सक्छ । अन्ततः फर्कने ठाउँ आफ्नै गुँड हो । हामी जुनसुकै भूमिमा गए पनि हाम्रो जरा यही माटोमा गाडिएको छ ।
धेरैले भन्छन्, ‘राष्ट्रप्रेम भनेको के हो ?’ राष्ट्रप्रेम कुनै ठूला महल बनाउनु होइन, न त चर्को स्वरमा देशभक्ति गीत गाउनु मात्र हो । राष्ट्रप्रेम त सानो–सानो कुरामा झल्किनुपर्छ– आफ्नो भाषा बोल्नुपर्छ, आफ्ना मौलिकता जोगाउनुपर्छ र आफ्नो संस्कृतिको रक्षा गर्नुपर्छ । हाम्रो इतिहास गौरवशाली छ । पृथ्वीनारायण शाहले देखाएको एकताको सपना, भानुभक्तले कोरिदिएको भाषिक एकताको गौरव, वीर गोर्खालीहरूले जोगाएको स्वाभिमान– हाम्रो राष्ट्रको ‘मेरुदण्ड’ यिनै हुन् । गौरवलाई हामीले इतिहासमै मात्र सीमित राख्नुहुँदैन । हाम्रो स्वाभिमान आज पनि उत्तिकै ‘सशक्त’ हुनुपर्छ, हाम्रो पहिचान आज पनि उत्तिकै ‘गर्विलो’ बन्न सक्नुपर्छ ।
हाम्रो पहिचान मेट्न सक्ने कुनै शक्तिले जन्म लिन सक्दैन । यदि हामी स्वयं आफ्नो अस्तित्वको रक्षा गर्न जागरुक छौँ भने । एउटा दीप उज्यालो हुन्छ, जब त्यसमा बत्ती बल्छ । त्यसै गरी, राष्ट्र उज्यालो हुन्छ, जब हाम्रा सपनाहरू, हाम्रा कर्महरू, हाम्रा आदर्शहरू स्वच्छ रहन्छन् र उज्यालोतिर उन्मुख रहिरहन्छन् भने । आफ्नो छातीमा हात राखेर सोचौँ– यदि राष्ट्र छैन भने हाम्रो अस्तित्व के रहन्छ ? हामी के हौँ, हामी किन छौँ ? जबसम्म हामी आफ्नो देशलाई आत्मा बनाएर प्रेम गर्न सक्दैनौँ, तबसम्म हाम्रो पहिचान अपूरो रहन्छ । त्यसैले राष्ट्रलाई इतिहासका पानामा मात्र होइन, हाम्रा सपनाहरूलाई हाम्रा कर्महरूमा, हाम्रा रगतका कण–कणमा जिउँदो राखौँ । किनभने राष्ट्रभन्दा ठूलो केही छैन । यो हाम्रो माटो हो, हाम्रो पहिचान हो, हाम्रो अस्तित्वको सुगन्ध हो ।
राष्ट्रभन्दा ठूलो केही हुँदैन । हाम्रो अस्तित्व, हाम्रो भविष्य, हाम्रो गौरव– सबै राष्ट्रसँग गाँसिएको छ । जसरी एक फूलले माटोबिना सुगन्ध दिन सक्दैन, त्यसरी नै मानिस आफ्नो देशबिना पूर्ण हुन सक्दैन । राष्ट्रियता इतिहासमा मात्र होइन, हाम्रो रक्तसञ्चारमा बग्नुपर्छ । यदि हामीले स्वाभिमानको मियो समात्न सक्यौं भने, समयले हामीलाई कहिल्यै भत्काउन, टुक्राउन वा विभाजन गर्न सक्दैन । जग बलियो भए मात्र घर उँचो बन्न सक्छ । अनि राष्ट्रियता बलियो भए मात्र पहिचान अक्षुण्ण रहन्छ । राष्ट्र हामी हौं, हामी राष्ट्र हौं । त्यसैले राष्ट्र हाम्रो अस्तित्वको सुगन्ध हो ।
प्रतिक्रिया