हेटौंडा।
नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागले बागमती प्रदेश कार्यसमिति र बागमती प्रदेशका ६६ प्रदेशसभा क्षेत्रीय सभापतिहरुलाई संगठन सुदृढीकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे प्रशिक्षण दिएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख चन्द्र महर्जनको सभाध्यक्षतामा आइतबार ललितपुरको ग्वार्कोमा भएको प्रशिक्षण कार्यक्रमको कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । कार्यक्रममा सभापति देउवाले प्रशिक्षणले संगठन सुदृढीकरण र विस्तारमा सहज हुने बताउँदै क्षेत्रीय सभापतिहरुलाई हाल विकसित राजनीतिक घटनाक्रम र कांग्रेसको भावी रणनीतिबारे स्थानीय नेता÷कार्यकर्ताहरुलाई प्रकाश पार्न निर्देशन दिए ।
कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रशिक्षणले गाउँगाउँमा रहेका आमकार्यकर्ता तथा जनतालाई कांग्रेसको धारणाबारे जानकारी दिन सहज हुने बताउँदै कांग्रेसले पार्टीको विधान, नेपालको संविधान संसोधन गर्दैगर्दा व्यवहारिक र वैज्ञानिकतालाई जोड दिनुपर्ने बताए ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रदेश कार्यसमिति र प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको काम, कर्तव्य र अधिकार, केन्द्रीय प्रवक्ता डा. प्रकाशशरण महतले आर्थिक रुपान्तरणमा कांग्रेसको भूमिका, कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान निर्देशक डा. कृष्णप्रसाद पौडेलले कांग्रेसको सांगठनिक अवस्था र संगठन विस्तारको रणनीति, कार्यकारी निर्देशक डा.बुद्धिमान श्रेष्ठले कांग्रेसको आदर्श, सिद्धान्त र समसामयिक मुद्धाका साथै कांग्रेस बागमती प्रदेश कोषाध्यक्ष डा. भद्रा पराजुली भण्डारीले संघीय समावेशी गणतन्त्रमा महिलाको भूमिकाबारे प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रम कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागको आयोजना तथा प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमिति २ (क) ललितपुरको व्यवस्थापनमा भएको थियो ।
प्रतिक्रिया