काठमाडौँ।
काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार ६०औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनायो । भारतीय दूताबास परिसरमा आयोजित ६०औं आइटेक दिवस समारोहमा परराष्ट्रमन्त्री डा. आरजु राणाका साथै संसद, वरिष्ठ सरकारी अधिकारी, आइटेकका पूर्वविद्यार्थीहरूका साथै भारतका विभिन्न शैक्षिक संस्थामा अध्ययन गरिसकेका विविध क्षेत्रका व्यक्तित्वका साथै संचारकर्मीहरुको सहभागी थिए ।
गत मंगलबारदेखि शुक्रबारसम्म भारतको नयाँदिल्लीमा आयोजित राइसिना डायलगमा सहभागी भएर स्वदेश फर्केलगतै प्रमुख अतिथिको रूपमा कार्यक्रममा उपस्थिति जनाएका परराष्ट्रमन्त्री डा. राणाले भारतमा अध्ययन गर्दाको आफ्नो अनुभव सुनाएकी थिइन्। अध्ययनका क्रममा आफूले १० वर्ष भारतमा विताएको स्मरण गर्दै उनले नेपालको विकास र शिक्षाको क्षेत्रमा भारत सरकारको असंख्य पहलहरूको लागि कृतज्ञता व्यक्त गरिन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइटेक पहललाई थप विस्तार गर्ने र नेपाल सरकारको विकसित प्राथमिकताहरू अनुसार थप अनुकूलित कार्यक्रमहरू ल्याउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी कार्यक्रममा महान्यायाधिवक्ता रमेश बडाल, राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका सहायक संयोजक तथा आइटेकका पूर्वविद्यार्थी सहायक रथी पवन खत्री र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक दयाराम शर्माले आइटेकका बारेमा आफ्ना अनुभव र अन्तर्दृष्टि साझा गरेका थिए । समारोहमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्द्वारा समर्थित प्रख्यात कलाकार कुलेश्वर कुमार ठाकुरको नेतृत्वमा रहेको भारतको सांस्कृतिक समूह ‘यज्ञ’ द्वारा मनमोहक मयूरभञ्ज छाऊ नृत्य प्रस्तुत गर्नुका साथै नेपालको प्रख्यात कान्त दब दब ब्यान्डले वाद्य लोक फ्युजन र ज्याज संगीत प्रस्तुत गरेको थियो ।

सन् २०२४–२०२५ मा भारतले आइटेक कार्यक्रमअन्तर्गत नेपालका विभिन्न क्षेत्रमा कार्यरत ५१० जनालाई भारतका विभिन्न प्रमुख संस्थानहरूमा विभिन्न कोर्षहरूको लागि तालिम दिइसकेको छ । तीमध्ये नेपाल सरकारका २१ जना इन्जिनियरहरू आइआइटी रुडकीमा जलस्रोत व्यवस्थापन, जलविज्ञान, सिँचाइ जल व्यवस्थापन जस्ता विषयहरूमा दुई वर्षे एम.टेक. कोर्षमा भर्ना भएका छन् भने ५० जना चिकित्सक, ३० सरकारी वकिल, राष्ट्रिय न्यायिक प्रतिष्ठान, नेपालका १५ सदस्य, १४३ जना नेपाल प्रहरी, ८० सशस्त्र प्रहरी बल, गृह मन्त्रालयका २४ र खानेपानी मन्त्रालयका ४० जनाका लागि भारतका १० प्रमुख संस्थानहरूमा १८ अनुकूलित कोर्षहरूको व्यवस्था गरिएको थियो ।

आइटेकको रूपमा परिचित भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम भारत सरकारको विदेश मन्त्रालयको अग्रणी क्षमता निर्माण प्लेटफर्म हो । अन्तर्राष्ट्रिय क्षमता निर्माणको लागि सबैभन्दा पुरानो संस्थागत व्यवस्थाहरूमध्ये एक आइटेक सन् १९६४ मा स्थापना भएका हो, जसले १६० भन्दा बढी देशका २ लाखभन्दा बढी अधिकारीहरूलाई तालिम दिएको छ ।
नेपालबाट विगत १५ वर्षमा मात्र ३ हजारभन्दा बढी अधिकारीहरूले आइटेकअन्तर्गत रहेर भारतमा तालिम हासिल गरिसकेको छ ।

प्रतिक्रिया