काठमाडौँ।
ट्रमाका बिरामीको चाप बढीरहेको बेला राष्ट्रिय ट्रमा सेन्टरले टाउकोको चोटपटकको सचेतना दिवस–२०२५ को अवसरमा बिहीबार काठमाडौँमा प्रभातफेरी कार्यक्रमको आयोजना गरि जनचेतना जगाउने कार्यक्रम गर्यो ।
राष्ट्रिय ट्रमा सेन्टरको आयोजनामा भएको प्रभातफेरीमा चिकित्सक नर्स, नागरिक समाज, पत्रकार, समाजसेवी लगायतका स्वास्थ्यकर्मी, ट्राफिक प्रहरी, तथा सर्वसाधारणको सहभागिता थियो ।
प्रभातफेरी ट्रमा सेन्टरबाट सुरु भएर रत्नपार्क शान्तिबाटिका, पुरानो बसपार्क, शहीदगेट, सुन्धारा हुँदै पुनः सेन्टर पुगेर टुङ्गिएको थियो ।
सेन्टरले प्रभातफेरी पछि सेन्टरमा औपचारिक कार्यक्रम पनि गरेको थियो । कार्यक्रममा टाउकोमा लाग्ने चोटकपटकलाई न्यूनीकरण गर्न सकिने भन्दै व्यक्ति सचेत हुनुपर्ने र राज्यले पनि विशेष सचेतना एवम् नीतिगत व्यवस्था गर्नुपर्ने सहभागीहरुले बताएका थिए । टाउकोको चोटपटकको सचेतना दिवस हरेक वर्ष मार्च २० मा मनाउने गरिन्छ ।
यसपटक नेपालमा ‘टाउकोको चोटपटक रोकौँ, प्रभाव बुझौँ, जिम्मेवारी निभाऔँ’ भन्ने मूल नाराकासाथ दिवस मनाइएको थियो ।
त्यसैगरी किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले बिहीबारै विश्व मुख स्वास्थ्य दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरि प्रभातफेरि कार्यक्रमको आयोजना गरेको थियो । नगरपरिक्रममा पछि र्याली अस्पतालमा पुगी सभामा परिणत भएको थियो ।
सभामा किस्ट मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा.बलमान सिंह कार्कीले स्वागत गर्दै मुखको सुरक्षाका विषयमा प्रकाश पारेका थिए । त्यसैगरी विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा.ग्याम्पो दोर्जे, प्रा.डा.सुरज बज्राचार्य लगायतले मुख स्वास्थ्यको विषयमा जोड दिएका थिए ।
प्रतिक्रिया