एजेन्सी।
इजरायलले गाजामा गरेको हवाई आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३ सय ३० जना पुगेको छ । ज्यान गुमाउनेमा उक्त भूभागमा रहेका हमासका उच्च सुरक्षा अधिकारी मोहम्मद अबु वफा पनि रहेको बताइएको बीबीसीको समाचारमा उल्लेख छ।
ज्यान गुमाउनेमा धेरैजसो महिला र बालबालिका रहेका छन्। आक्रमण सयौं घाइते भएका र तीमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ।
इजरायलले हवाई आक्रमण सुरु गर्नुअघि ह्वाइट हाउसलाई सूचना दिएको एक इजरायली अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई बताएका खबरमा उल्लेख छ ।
युद्धविराम बढाउने वार्ता सहमतिमा पुग्न असफल भएपछि इजरायली सेनाले ‘व्यापक’ आक्रमण गरिरहेको बताएको छ । जनवरी १९ मा युद्धविराम लागू भएयता यो सबैभन्दा ठूलो हवाई आक्रमण हो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले हमासले आफ्ना देशका बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको र पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्तावहरू अस्वीकार गरेको आरोप लगाउँदै अबदेखि हमासविरुद्ध बढ्दो सैन्य शक्तिका साथ कारबाही गर्ने बताएको छ । हमासलाई दबाव दिन इजरायलले गाजामा मानवीय सहायता र बिजुली आपूर्ति कटौती गरेको छ ।
हमासले इजरायललाई रक्षाहीन नागरिकहरूमाथि आक्रमण गरेको आरोप लगाउँदै मध्यस्थकर्ताहरूले इजरायललाई युद्धविराम उल्लङ्घनका लागि पूर्णरूपमा जिम्मेवार ठहराउनुपर्ने बताएको छ । हमासले यो आक्रमणले इजरायलका बाँकी बन्धकहरूको भविष्यलाई अन्योल बनाएको पनि जनाएको छ ।
हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायमा आक्रमण गर्दा एक हजार दुई सय जनाको ज्यान गएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । यो आक्रमणपछि इजरायलले गाजामा सुरु गरेको कारबाहीमा अहिलेसम्म ४८ हजार पाँच सय जनाभन्दा धेरैको ज्यान गएको छ । ज्यान गुमाउनेमा धेरैजसो गैरसनिक छन् ।
यस युद्धका कारण गाजाको २१ लाख जनसङ्ख्यामध्ये धेरैजसो धेरै पटक विस्थापित हुनुपरेको छ । ७० प्रतिशत भवन या त क्षतिग्रस्त वा ध्वस्त भएको अनुमान गरिएको छ । यससँगै स्वास्थ्य सेवा, खानेपानी र सरसफाइको व्यवस्था पनि ध्वस्त भएको छ र खाद्यान्न, इन्धन, औषधि र बासको अभाव छ ।
मार्च १ तारिखमा अस्थायी युद्धविरामको पहिलो चरण समाप्त भएपछि वार्ताकारहरूले अगाडि बढ्ने बाटो खोज्ने प्रयास गरिरहेका छन् । अमेरिकाले पहिलो चरणलाई अप्रिलको मध्यसम्म लम्ब्याउने प्रस्ताव गरेको थियो जसमा हमासले बन्धक र इजरायलले प्यालेस्टिनी कैदीको थप आदानप्रदान गर्ने विषयलाई समावेश छ । तर वार्ताको प्रक्रिया अघि बढ्न सकेको छैन ।
प्रतिक्रिया