बाह्रखरी गल्फ चैत २३ मा


काठमाडौं।

बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ चैत २३ गते हुने भएको छ ।
प्रतियोगिताको आठौं संस्करण गोकर्ण फरेस्ट गल्फ क्लबमा हुने आयोजकले सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो । प्रतियोगितामा यस वर्ष करिब १२० कर्पोरेट खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा हुनेछ । यसको अर्थ कुनै पनि होलमा तोकिएकोभन्दा बढी स्ट्रोक हान्न पाइने छैन । यस नियमले ठूलो प्रतियोगितामा समयको बचत गर्नेछ ।

प्रतियोगितामा भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंका गल्फर तथा नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि सहभागी हुनेछन् । त्यसैगरी प्रतियोगितामा काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगन्जलगायतका कर्पोरेट गल्फर, न्यायाधीश र केही सरकारी उच्च अधिकारीले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

कर्पोरेट क्षेत्रका खेलाडीबीच हुने प्रतियोगिता देशकै प्रतिष्ठित प्रतियोगिता भएको यसका ‘अल–राउन्ड’ विजेताले २४ क्यारेट सुनले बनेको गल्फ बल तथा अन्य पुरस्कार प्राप्त गर्नेछन् । साथै, अन्य विभिन्न विधामा विजेताले ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्नेछन् । कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे भने ‘होल इन–वन’ पुरस्कारका रूपमा बिवाइडीको ‘एट्टो थ्री’ गाडी प्राप्त गर्नेछन् ।