मेचीनगर।
इण्डो–नेपाल टी २० क्रिकेट प्रतियोगिताको उपाधि पेनोरिस ११ ले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा थण्डर्स ११ लाई ७ विकेटले पराजित गर्दै पेनोरिस विजेता बनेको हो । विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गरे ।
मेचीनगर ४ बाहुण्डाँगीस्थित सरस्वती माविको खेल मैदानमा टस जितेर थण्डर्सले पहिले ब्याटिङ गरेको थियो । टोलीले २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९१ रन मात्र बनाउन सक्यो । टोलीका लागि रोहित राजवंशीले १९ रन बनाएको नै व्यक्तिगत ठूलो योगदान साबित भएको थियो । बलिङतर्फ पेनोरिसका राकेश रोय, सुनिल घोष, बोनोमली रोय र आचरल प्रधानले समान २÷२ विकेट हासिल गरेका थिए ।
९२ रनको सामान्य लक्ष्य पेनोरिसले ९.५ ओभरमा ३ विकेटको क्षतिमा प्राप्त गरेको थियो । पेनोरिसका सुभांकर देवनाले सर्वाधिक ५२ रन जोडे । थण्डर्सका शिव राजवंशीले २ विकेट लिएका थिए भने विराट डाँगीले १ विकेट लिए ।
प्रतियोगिताको म्यान अफ द म्याच पेनोरिसका सुभांकर देवनाथ घोषित हुँदै नगद १ हजार प्राप्त गरे । प्रतियोगितामा ७ विकेट तथा ७८ रन बनाएका थण्डर्सका रोहित राजवंशी म्यान अफ द सिरिज घोषित भए । उनले नगद ५ हजार हासिल गरे ।
प्रतिक्रिया