बिग मर्जरको प्रभाव लाभांशमा

3.01k
Shares

पछिल्लो समयमा केही बिग बैंकहरुले आ–आफ्नो वार्षिक साधारणसभाहरुमा मर्जरको एजेन्डासहितको प्रस्ताव राखेका छन् भने केहीले मर्जरको प्रस्ताव पारित पनि गरिसकेका छन् ।

बैंकहरुलाई मर्जर गर्न पर्ने के आवश्यकता प¥यो भन्ने कारण भने खुलाउन सकेका छैनन् । पुँजी वृद्धि गर्नको लागि मात्र हो कि अरु पनि कारण छन् ? मर्जर र बिग मर्जरको कारणले बैंकहरुले राम्रो नाफा कमाउन सकिरहेका छैनन् । ३५ अर्बभन्दा बढी पुँजी भएको ग्लोबल बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले खोइ त सोचेजस्तो नाफा आर्जन गरेको ? पछिल्लो समयमा बैंकहरुमा निक्षेप थुप्रिएको थुप्रियै छ । बैंकमा अधिक तरलता भएको बैंकहरु स्वयं बताइरहेका छन् ।

बैंकहरुले लगानी गर्न सकिरहेका छैनन्, जसका कारणले बैंकहरुले मुनाफा आर्जन गर्न सकिरहेका छैनन् । त्यसो त बैंकहरुले राम्रो सोचेजस्तो मुनाफा गर्न नसकेको विविध कारणहरु होलान् तर सर्वसाधारण लगानीकर्ताको भनाइमा भने बैंकहरुको मर्जरले गर्दा हो भन्ने भनाइ रहेका छन् । बैंकहरुबीच एक–आपसमा मर्जरर एक्वायरले गर्दा लाभांशमा नकारात्मक असर परेको बताउँछन् सर्वसाधारण लगानीकर्ताहरु । त्यसो त बिग मर्जर गरेका बिग बैंकहरुले २०८०÷८१ मा शेयरधनीहरुलाई लाभांशसमेत दिन सकेनन् ।


बिग मर्जर गरेका नेपाल इन्भेस्टमेन्ट, मेगा बैंक, हिमालयन बैंक, कुमारी बैंक, प्रभु बैंकले लाभांश दिन सकेनन् । तर मर्जरमा नगएका बैंकहरुले शेयरधनीहरुलाई १० प्रतिशतभन्दा बढी लाभांश दिएका छन् । पछिल्लो समयमा शेयरबजारमा यस्तै चर्चा चलेका छन् । मर्जरको कारणले बैंकहरुले शेयरधनीहरुलाई राम्रो लाभांश दिन नसकेको हो भनाइ आएको छ शेयरधनीहरुको । मर्जरमा नगएका केही बैंकहरुले १० प्रतिशतभन्दा बढी लाभांश दिएका छन ।

स्टान्डर चार्टर्ड बैंकले २५.५, एभरेस्ट बैंकले १५.५३, नेपाल एसबीआई बैंकले १०.६५ प्रतिशत र कृषि विकास बैंकले १०.३ प्रतिशत लाभांश दिएका छन् । २१ वटा कम्पनीहरुसँग मर्जर एक्वायर गरेको भनेर गर्व गर्ने गरेको ग्लोबल बैंकले यस वर्ष ५.५ प्रतिशत मात्र लाभांश दिएको छ शेयरधनीहरुलाई । गतवर्षको साधारणसभामा २० प्रतिशतको हाराहारीमा लाभांश दिने भनेर घोषणा गरेको ग्लोबल बैंकले लाज नमानी ५.५ प्रतिशत मात्र लाभांश दियो ।

त्यसै गरी विगतका वर्षहरुमा लाभांश दिने बैंकमा अब्बल मानेको र २ वर्षअगाडिको साधारणसभामा ३ वर्षसम्म ३० प्रतिशतको हाराहारीमा लाभांश दिने भनेर घोषणा गरेको नबिल बैंकले पनि यस वर्ष १० प्रतिशत मात्र लाभांश दियो, त्यो पनि नगद । नबिल बैंकले नेपाल बंगलादेश बैंकसँगग मर्जर गरेको कारणले यो बैंकको साखमा गिरावट आएको कतिपयको भनाइ छ । तर बंगलादेश बैंकका शेयरधनीहरुलाई सबभन्दा बढी घाटा रहेको भन्दा पनि फरक नपर्ला ।


बैंकहरुको पँुजी बढाउन र बैंकहरुको संख्या घटाउनको लागि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीहरुलाई मर्जर एक्वायरमा जानको लागि दबाब दिएको र बैंक वा वित्त कम्पनीहरुले पनि नेपाल राष्ट्र बैंकको आदेशलाई श्री पशुपतिनाथ भगवान्को प्रसाद ठानेर ग्रहण गरेको कारणले अधिकांश लगानीकर्ताले घाटा व्यहोर्नुपरेको बताउँछन् जानकारहरु । एकातिर बैंक तथा वित्त कम्पनीहरुले गरेको मर्जर एक्वायरले शेयरधनीहरुले राम्रो प्रतिफल पाउन सकेनन् भने मर्जर गर्दा स्वाप रेसियोमा पनि शेयरधनीहरु ठगिएका छन् ।

मर्जरको कारणले पनि शेयरबजारमा मागभन्दा आपूर्ति बढी हुने गरेकोले बजारमा शेयरको भाउमा पनि गिरावट आएको जानकारहरु बताउँछन् । पछिल्लो समयमा वाणिज्य बैंकहरुको बजारमा शेयरको भाउ २–३ सयको हाराहारीमा कृष्णको सुदर्शन चक्रजस्तो घुमिरहेको छ । मर्जर एक्वायरको कारणले एकातिर बजारमा शेयरको भाउ घटिरहेको छ भने अर्कोतिर बैंकहरुले पनि शेयरधनीहरुलाई चित्त बझ्दो लाभांश दिन सकिरहेका छैनन् ।

त्यसै गरी एकातिर मर्जरको कारणले बैंकहरुको पुँजी वृद्धि भएको छ भने अर्कोतिर पछिल्लो समयमा बैंकहरुमा तरलता पनि अधिक रहेको अनि बैंकहरुले लगानी गरेको लगानी पनि उठाउन सकिरहेका छैनन्, जसको कारणले बैंकहरुको निष्क्रिय कर्जा पनि बढेको देखिन्छ । अधिकांश बिग बैंकहरुको निष्क्रिय कर्जा बढेको छ भन्दा पनि फरक नपर्ला, जसका कारणले पनि शेयरधनीहरुले न्यून मात्रामा लाभांश पाउने गरेका छन् ।


बैंकहरुको यस्तो अवस्था भइरहँदा पनि केही बैंकले मर्जर एक्वायरको एजेन्डा ल्याउने गरेका छन् । चुक्ता पँुजी बढेका बैंकहरुले बढी नाफा गर्न सकिन्छ भन्ने भनाइलाई पछिल्लो समयमा बैंकहरुले नै गलत साबित गरिदिएका छन् । चुक्ता पुँजी बढी भएका बैंकहरुले पुँजी वृद्धिको अनुपातमा नाफा आर्जन गर्न असफल भएका छन् । यसको असर शेयरको भाउमा समेत परेको छ । त्यसो त बैंकहरु एक–आपसमा मर्जर एक्वायर गर्दा केही सीमित व्यक्तिहरु र कम्पनीलाई केही फाइदा भए पनि सर्वसाधारण लगानीकर्तालाई भने घाटा नै छ ।

मर्जरमा गएका अधिकांश बैंकहरुको बजारमा माग र आपूर्तिको सन्तुलन नमिल्दा शेयरको भाउ बढ्न सकिरहेको छैन । बजारमा मागभन्दा बढी आपूर्ति भएको बताउँछन् सरोकारवाला । त्यसै गरी पँुजी वृद्धिको अनुपातमा नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानी घटिरहेको छ भने निष्क्रिय कर्जा बढिरहेको छ भन्दा पनि फरक नपर्ला । विगतमा बैंक तथा वित्त कम्पनीहरुको संख्या बढी भयो भनेर नेपाल राष्ट्र बैंकले मर्जर गर्न दबाब दिएको नेपाल राष्ट्र बैंकको नीति नै गलत रहेको जानकारहरु बताउँछन् ।


विगतमा चाहिँ कमिसनको चक्करमा श्राद्धको प्रसाद बाँडेजस्तो गरी लाइसेन्स बाँड्ने अनि अहिले बैंक तथा वित्त कम्पनीहरुको संख्या बढी भयो भनेर मर्जर गर्न दबाब दिने । बैंक तथा वित्त कम्पनीहरुको मर्जरले सबभन्दा बढी मार वाणिज्य बैंकहरुका लगानीकर्ताहरुले भोग्नुपरिरहेको छ ।

बैंक तथा वित्त कम्पनीहरुको मर्जरको कारणले एकै बैंकको शेयरको थुप्रो नै भइसकेको छ शेयरधनीहरुसँग, जसका कारणले शेयरधनीहरुलाई नखाऊँ भने दिनभरको सिकार खाऊँ भने कान्छा बाउको अनुहारजस्तै भइरहेको छ । शेयर बिक्री गरौं भने घाटामा, नगरौं भने एकै बैंकको शेयरको थुप्रो ।

अन्त्यमा केही बैंक तथा वित्त कम्पनीहरुले केही प्रतिशत लाभांश दिने क्षमता भए पनि यस वर्ष नदिने, सञ्चित कोषमा राख्ने भनेर शेयरधनीहरुलाई लाभांश दिएनन् । तर अधिकांश शेयरधनीहरुको भनाइमा जुन वर्षको लाभांश हो त्यही वर्षमा जतिसुकै भए पनि शेयरधनीहरुलाई वितरण गर्नुपर्छ भन्ने गरेका छन् । त्यसै गरी वाणिज्य बैंकहरुले लाभांश दिँदा बोनस शेयर होइन, नगद लभांश दिनुपर्ने बताउँछन् सरोकारवालाहरु ।

एक त बिग मर्जरको कारणले वाणिज्य बैंकहरुको पुँजी आवश्यकताभन्दा बढी भइसकेको छ, जसले गर्दा शेयरधनीहरुलाई राम्रो लाभांश दिन सकिरहेका छैनन् भने बोनस शेयरहरु लाभांशको रुपमा दिँदा कम्पनीको पुँजी बढ्ने हुन्छ । पुँजी बढेको अनुपातमा नाफा बढाउन सकेन भने कम्पनीहरुलाई लाभांश दिन नै समस्या हने देखिन्छ । कम्पनीहरुले राम्रो नाफा आर्जन गर्न नसकेसम्म नगद लाभांश दिन नै उपयुक्त हुने देखिन्छ । त्यसो त नगद लाभांशभन्दा बोनस शेयर नै दिए राम्रो हुने कतिपय शेयरधनीहरुको भनाइ पनि रहेको छ ।