छाउपडी प्रथाले महिलाहरुमाथि लादेको विकराल यातनाको अमानवीय परम्परासम्बद्ध पराकाष्ठाका सम्बन्धमा लेख्न बसेर पनि अहिले म त्यसको बीभत्स बयानतिर नलागी परिवर्तनको अवश्यम्भावितालाई हृदयङ्गम गर्दै कतिपय सांस्कृतिक पक्षमा मात्र केही शब्द लेख्दै छु ।
संस्कार–संस्कृति भन्ने कुरा वृक्ष, वनस्पति, झारपातजस्तै किन नहुन्, तिनले जरा हालेपछि परसम्म र तल–तलसम्म पुग्छन् । वृक्ष बनेपछि काटिन सक्छन् । उखेलिन सक्दैनन् । कति बिखालु वनस्पतिहरु काटे पनि बार–बार पलाउँछन् । एकपटक रुढ बनेपछि संस्कार–संस्कृतिले पनि जरा हाल्ने परम्पराको रुप लिन्छ ।
रुढिको रुप लिन्छ । विकृति–विसङ्गतिले रुढिको रुप लिएको समाज हम्मेसी माथि उठ्न सक्दैन । बानी परेपछि समाजमा घृणितभन्दा घृणित विकृति–विसङ्गति मन पराउने मानिसहरु पनि भइदिन्छन् । यो सामाजिक, सांस्कृतिक समस्या हो । विषवृक्ष भन्ने पहिचान भएपछि विभिन्न विधि–प्रविधि प्रयोग गरेर पनि त्यसको जरोकिलो उखेलेर हटाइदिनु र त्यहाँ जीवनदायी वृक्षहरु रोप्नु, उमार्नु र हुर्काउनु प्रगतिको आवश्यकता हो । समस्याको समाधान पनि यही हो ।
अँध्यारोबाट उज्यालोतिर जाने सवालमा परम्परागत अँध्यारोको मोहमा परेर एक बोरा अँध्यारो पनि बोकेर जाऊँ भन्न मिल्दैन, र पनि बोकिहिँड्नेहरु भेटिन्छन् । । जस्तै– विषवृक्षलाई खतरनाक भन्ने थाहा पाएपछि आफ्नै पुर्खाले रोपे–हुर्काएको हो, सबै नकाटौँ, हाँगाहरु मात्र छिमलौँ भनेर जरासहितको रुखलाई यथावत् छाडिराख्न मिल्दैन र पनि छाडिराखौँ भनेर मरिहत्ते गर्नेहरु पनि समाजमा भेटिन्छन् ।
धार्मिक, राजनीतिक, आर्थिक हरेक संस्कृतिका क्षेत्रमा यो गम्भीर रुपमा विचार पु¥याउनुपर्ने सवाल हो । रुढ परम्पराभन्दा विवेक ठूलो हो । विवेक चेतनाको विकास हो । सत्यतथ्यको पहिचान सामथ्र्य हो । समाजमा चलिआएको कुनै पनि चलन समग्र मानवहित विपरीत र पश्चगामी रुढि एवम् परम्पराका रुपमा पहिचान भएपछि त्यसलाई अँगालिरहन जिद्दी गर्ने होइन, बरु निर्ममताका साथ त्यसको जरोकिलो उखेलेर फ्याँक्नतिर अग्रसर हुन सक्नुपर्छ ।
अलिकति बाँकी राख्दा क्रमशः फेरि पलाउँछ र झाङ्गिन्छ । धुरीमा पलाएका पीपलले हुर्कन पाउँदा कालान्तरमा घर–मन्दिरलाई नै भुँडीभित्र पु¥याएजस्तै संस्कृतिका रुढिगत पश्चगामी मान्यताले थोरै मात्र पनि जरो गाड्ने ठाउँ पायो भने समाजलाई फेरि त्यही पुरानै भुँडीभित्र पु¥याइदिन सक्छ । यसमा शतप्रतिशत सचेत रहनुपर्छ ।
हाम्रा पुर्खाहरु ऋषिमुनि थिए, त्रिकालदर्शी थिए, हस्तामलकवत् संसार हेर्न–बुझ्न सक्थे । उनीहरुले जे देखे, जे भने त्यही यथार्थ हो, त्यही पर्याप्त हो, त्यही अन्तिम सत्य हो भनी ठान्नु र मान्नु ज्ञानको द्वन्द्वात्मकता र गतिशीलतालाई नमान्नु हो । स्वयं विज्ञ पुर्खाहरुलाई पनि नमान्नु हो । हाम्रा पुर्खाहरुले ‘नेति नेति’ अर्थात् यति मात्र होइन, यति मात्र होइन पनि त भनेका थिए । ‘अनन्ता वै वेदा’ अर्थात् ज्ञान अनन्त छ पनि भनेका थिए । यो उनीहरुको इमानदारी थियो । हामीले पुर्खाका इमानदार अभिव्यक्ति र अग्रगमनको इशारालाई बुझ्न सक्नुपर्छ ।
उत्तरोत्तर विकास प्रकृतिको नियम हो । आज ज्ञान–विज्ञानका क्षेत्रमा अध्ययन–अनुसन्धानका जे–जति साधन उपलब्ध छन्, विगतमा ती थिएनन् । सीमित साधनका आधारमा हाम्रा पुर्खाहरुले विगतमा जे–जति अध्ययन गरे र जे–जति अभिलेख छाडेर गए, त्यसप्रति हामी कृतज्ञ रहनै पर्छ । हरेक युगमा समाज र प्रकृतिको अध्ययन–अनुसन्धान गर्न जे–जति र जे–जस्ता साधनहरु उपलब्ध रहन्छन्, तिनकै आधारमा सोचिनु, बोलिनु र मान्यता बनाइनु स्वाभाविक हो ।
त्यस समय र परिस्थितिका लागि त्यो मान्यता सामयिक रहेको हुन सक्छ, उचित रहेको पनि हुन सक्छ । त्यति बेलाका शोधकर्ता र नियमनकर्ताका परिश्रमको हामीले कृतज्ञताका साथ प्रशंसा गर्नुपर्छ । विगतबाट आवश्यक पाठ पनि लिनुपर्छ ।
समयले आँखा खुलाइसकेपछि विगतको यथातथा अन्धानुशरण गर्नुहुँदैन । अन्धानुशरण प्रायः लज्जाजनक नै हुन्छ । अतीतमा तत्कालीन अवस्था र आवश्यकताअनुसार हतारमा वा शान्त अवस्थामा हाम्रा पुर्खाहरुले जे–जति जसरी सोच्न सके, त्यो इमानदारीका साथ समाजसमक्ष राखे । यत्तिमै ज्ञानको ढोका बन्द हुने कुरा थिएन, भएन ।
मानव समाज ज्ञान र व्यवहार, व्यवहार र ज्ञान हँुदै निरन्तर अगाडि बढ्दै गयो । अतीतको अनुभव, वर्तमानको प्रयत्न र भविष्यका सम्भावनाहरुको समन्वय गरेर नै प्रगतिको समग्र आधार बनिआएका छन्, मानव समाज यसरी नै प्रगति गर्दै आएको छ र यसरी नै अनन्त कालसम्म अगाडि बढिरहनेछ ।
सत्यको शोधको मार्ग असीम सम्भावनाहरुले भरिएको छ । त्यसमा अगाडि बढ्नेहरुले खुला मन–मस्तिष्क लिएर अगाडि बढ्नुपर्ने हुन्छ । हिजो अमृत वृक्ष ठानिएर रोपिएका चालचलनका वृक्षहरु समयक्रममा आज विषवृक्षका रुपमा पहिचानमा आएपछि यो त हाम्रो पुख्र्यौली सम्पदा हो भनेर अँगालिरहन मिल्छ र ? मिल्दैन नि ! अतीतमा हाम्रा पुर्खाहरुले जानेका र भनेका कुरा नै शाश्वत सत्य हुन्, त्यसभन्दा सही कुरा अरु हुन सक्दैन भनी जिद्दी गर्ने हो भने सत्यतथ्य खोज्ने, छानबिन गर्ने बाटो नै बन्द हुन्छ अनि क्रमिक विकास र प्रगतिको सम्भावना नै समाप्त हुन सक्छ ।
वर्तमानसँग अमिल्दा पुराना रुढिहरुलाई नअँगाल्दा पुर्खाको अपमान होला कि भनी सोच्नु पनि सङ्कीर्णता हो । वेदले पनि हामीले जे भन्यौँ सत्य त्यति मात्र हो त्यसैलाई समातेर बसिराख भनेको छैन । ‘चरैवेति चरैवेति चरन् नै मधुविन्दति’ अर्थात् अगाडि बढ, अगाडि बढ, अगाढि बढ्नेले मधु भेट्छ भनेको छ । यहाँ मधु भनेको सफलाता हो, ज्ञान हो । अग्रगमन हो ।
शास्त्रकारहरुले ‘वादे वादे जायते तत्वबोधः’ अर्थात् जति–जति छलफल ग¥यो त्यति–त्यति सत्यको निकट पुगिन्छ भनेका छन् । रुढ परम्पराभन्दा विवेक ठूलो हो पनि भनेका छन् । विद्वान् व्यक्तिले ज्ञानको भारी बोकिहिँड्ने होइन, हरेक ज्ञानलाई अभ्यासमा परीक्षण गर्नुपर्छ र अपनाउनुपर्छ पनि भनेका छन् ।
‘शास्त्राण्यधीत्यापि भवन्ति मूर्खाः यस्तु क्रियावान् पुरुष ः स विद्वान्’ । आज हरेक क्षेत्रमा ज्ञानको विस्तार छ । शरीर विज्ञानका क्षेत्रमा पनि हिजोका तुलनामा आज धेरै नयाँ जानकारी भेटिएका छन् । हिजो कुनै–कुनै पुराणका आधारमा सोच बनाउँदा महिलाहरुको रजस्वला हुनुलाई पापको भोगाइ ठानिन्थ्यो, आज विज्ञानसम्मत दृष्टिले हेर्दा यो नितान्त प्राकृतिक कुरा हो र खासमा प्रकृतिले महिलालाई दिएको सृष्टिको जिम्मेवारी हो भन्ने यथार्थ स्पस्ट भएको छ ।
यसै त वेदले पनि रजस्वला हुनुलाई पाप भनेको छैन । प्रकृतिको विरोध गरेको छैन वेदले । ऋषिपुत्री तथा ऋषिपत्नीहरुले रजस्वला हुँदा छाउपडीमा कोचिनुपरेका घटना बयान वेदमा कतै भेटिँदैन । पुराणमा इन्द्रले गरेको पाप महिलाहरुले भोग्ने व्यवस्था बाँधिएको कुरा जो छ त्यो धर्म न्याय र विवकेका आँखामा औचित्यपूर्ण छैन । यो शतप्रतिशत मिथक हो । तथ्यसङ्गत होइन ।
हाम्रो मुलुक देवी पुज्ने मुलुक हो । हाम्रो मुलुको धर्तीमा जति देवीथानहरु छन्, जति शक्तिपीठहरु छन् त्यति अन्यत्र कतै छैन । हामी शप्तशती चण्डीमा पढ्छौँ– ‘विद्याः समस्ताः तव देवि भेदाः स्त्रियः समस्ता सकला जगत्सु’ अर्थात् सबै विद्याहरु देवीका फरक–फरक रुप हुन्, सकल जगत् संसारमा नारीहरु सबै देवीकै रुप हुन् ।
त्यही चण्डी पाठ गर्ने नेपाली देवभूमिका शाक्त ब्राह्मणहरु आफ्नै धार्मिक मान्यता र साधनपथका विरुद्ध घरका आमा, श्रीमती, छोरी, दिदी, बहिनीहरुलाई रजस्वला हुँदा छाउपडीको नरकमा कोच्छन् । यो सांस्कृतिक विडम्बना हो । धर्म, परम्परा र रुढिका नाममा जघन्य अपराध हो ।
आज नारी जागरणका कुरा छन् । महिला सशक्तीकरणका कुरा छन् । लैङ््गिक समानताको कुरा छ । मानवअधिकारको कुरा छ । महिलाअधिकारको कुरा छ । मातृशिशु–अधिकारको कुरा छ । यी सबै चेतना र अधिकारबोधका विरुद्ध उभिएका छन् हाम्रा छाउपडीहरु । आज २१ औँ शताब्दीको ज्ञानगङ्गामा नुहाएर मध्यकालीन अन्धकार युगको अवशिष्ट रुढि छाउपडीहरु बोकिहिँड्नु मानव सभ्यता र शिष्टतालाई लाजमर्नु क्रियाकलाप हो ।
वैदिक धर्म–संस्कृतिको बेइज्जत हो । भयङ्कर अपराध हो । विगतमा असुरभूमि, सुरभूमि, देवभूमि जे–जे भनिए पनि आज आएर हामी सबैको मातृभूमि नेपालका घर–मन्दिरहरुमा नयाँ जुगका नयाँ–नयाँ ज्ञान–विज्ञानका बत्तीहरु बल्न थालेका छन् । बत्ती बलेपछि अन्धकार त भाग्छ नै ।
उज्यालो नेपालमा नयाँ र समुन्नतरुपमा नारीसम्मानको नयाँ संस्कृतिका पदचापहरु पनि सुनिन थालेका छन् । छुवाछूत हट्न थालेको छ । छाउपडीका अपराधकर्मी सोचहरु भत्किन थालेका छन् अर्थात् यो प्रथा मासिन थालेको छ । धर्म–संस्कृतिका नाममा समाजको नाकमा लागेका अतीतका घीनलाग्दा दागहरु पखालिन थालेका छन् । नेपाल र नेपालीका लागि यो एउटा सुन्दर, समुन्नत र समुज्ज्वल भविष्यको शुभसङ्केत हो ।
प्रतिक्रिया