सरकारले मुलुकको विकास र समृद्धिका लागि भन्दै विभिन्न महत्वपूर्ण विकास आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाको रुपमा लिएर कार्य अगाडि बढाउँदै आए पनि ती आयोजनाहरुको काम अपेक्षा गरेअनुसार द्रुत गतिमा अघि बढ्न सकेको छैन ।
सडक, सिंचाइ, कृषि, यातायातलगायतका क्षेत्रमा सञ्चालन भइरहेका ठूला र महत्वपूर्ण विकास आयोजनलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएर काम थालिएको भए पनि ती आयोजनाहरुको प्रभावकारी सञ्चालन र अनुगमन हुन नसक्दा आयोजनाहरु निर्धारित समयमा पूरा नहुने स्पष्ट देखिएको छ ।
हामीकहाँ धेरै विकासका आयोजनाहरु शुरु नहुँदै बीचैमा हराएका कैयौँ उदाहरण छन् । ठेकेदार कम्पनीले काम गर्न भनेर पैसा लैजाने तर कामै नगरी बेपत्ता हुने प्रवृत्ति पनि प्रशस्तै छ । यस्तै प्रवृत्ति भएकाले सरकारले केही ठूला र महत्वपूर्ण विकास आयोजनाहरुलाई राष्ट्रिय गौरवका आयोजनाको रुपमा लिएर समयमा नै सक्ने योजना ल्याएको हो । योजना र कार्यक्रम बनाउने तर त्यसको सशक्त कार्यान्वयन गर्न नसक्ने सरकारी रबैया आपत्तिजनक छ ।
राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन सम्बन्धित तालुक निकायबाट हुनुपर्छ । तर ती तालुक निकायका पदाधिकारीहरुले आफू मातहतका राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्न बेवास्ता गर्दा पनि आयोजनाले चुस्त किसिमले काम गर्न नसकेका हुन् । अनुगमन गरिए पनि औपचारिकतामा सीमित हुन पुग्दा अनुगमनले परिणाम दिन सकिरहेको छैन । अनुगमनको अभावमा निर्माण कम्पनीहरुले ढिलासुस्ती गरिरहेका छन् ।
आयोजना सञ्चालन भइरहँदा आउने विभिन्न किसिमका विवादहरुको समयमा नै निरुपण हुन नसक्दा पनि विकास आयोजनाहरु महिनौँसम्म अवरुद्ध हुने अवस्था छ । सरकारको नीति तथा कार्यक्रम र बजेटमा नै राष्ट्रिय गौरवका आयोजनाहरुलाई विशेष प्राथमिकता दिने व्यवस्था गरिए पनि सोही अनुसारको संयन्त्र बनाएर राष्ट्रिय गौरवका आयोजनालाई गति दिन सकेको देखिँदैन ।
प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय गौरवका आयोजनाको प्रत्यक्ष अनुगमन गर्नकै लागि करोडौं रुपियाँ खर्चेर एक्सन रुम बनाइएको छ । तर सो एक्सन रुमले पनि प्रभावकारीरुपमा अनुगमन गर्न सकेको छैन । एक्सन रुमलाई सशक्त र प्रभावकारी बनाउने हो भने आयोजनामा देखिने विभिन्न खाले कैफियत तत्काल हटाउन सकिन्छ । अनुगमनको नाममा अनुगमन मात्रै भइरहने तर गल्ती भेटिँदा कारबाही नहुने प्रवृत्तिले विकास आयोजना सञ्चालन गर्नेहरु संवेदनशील बन्न सक्ने अवस्था रहँदैन ।
जे गरे पनि हुन्छ भन्ने मानसिकता उनीहरुमा विकास भयो भने उनीहरुको अराजकता अझै बढ्न पुग्छ र आफ्नो जिम्मेवारीअनुसारको कामसमेत गर्न छोड्छन् । त्यसैले विकास आयोजना सञ्चालन गर्नेहरुलाई अझै बढी जिम्मेवार बनाउनै पर्छ । विकास योजना सञ्चालन गर्नका लागि आवश्यक वातावरण सरकारले बनाइदिनुपर्छ ।
योजनाहरु समयमा नै सम्पन्न हुन नसक्दा मुलुकले विभिन्न प्रकारका समस्यासमेत भोग्नुपर्ने भएकाले राष्ट्रिय गौरवका साथै सबै प्रकारका विकास आयोजनाहरु समयमा नै सम्पन्न गर्ने गरी आवश्यक नीति, योजना र संयन्त्र बनाउन ढिलाइ गर्नुहुँदैन । त्यसरी बनाइएका नीति, योजना र कार्यक्रमहरु प्रभावकारीरुपमा लागू गर्नुपर्छ । यसो गर्न सकिएमा मात्रै राष्ट्रिय गौरवका साथै अन्य आयोजनाहरुले पनि थप गति लिन सक्छन् ।
प्रतिक्रिया