आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्नु सबैको दायित्व हो । त्यसका लागि विद्यार्थी संघ–संगठनको मुख्य भूमिका रहन्छ । एक–आपसमा झगडा नगरी निर्वाचन सम्पन्न गर्नुपर्छ । यसको लागि सरकार र त्रिभुवन विश्वविद्यालयले सहयोग गर्नुपर्छ ।
निर्वाचन सम्पन्न गर्न गृहमन्त्री रमेश लेखकले विशेष चासो देखाउनुभएको छ । संसदीय निर्वाचनपछिको ठूलो निर्वाचनको रुपमा हेरिएको स्ववियु निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गराउनु सरकारको पनि दायित्व हो । त्यसैले गृहमन्त्रीले निर्वाचनमा पूर्ण सुरक्षा व्यवस्था गर्न ७७ वटै प्रजिअलाई निर्देशन दिनुभएको छ ।
उपकुलपति, रेक्टर र रजिस्टारसहितको बैठकमा गृहमन्त्री लेखकले निर्देशन दिनुभएको हो । उक्त निर्देशनलाई सरोकारवाला निकायले पूर्णरुपमा पालना गर्नुपर्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचनको अवस्थाबारे सूक्ष्म अध्ययन गर्नुपर्छ । निर्वाचन सम्पन्न गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्मिलित निर्वाचन सेल गठन भएको छ ।
उक्त सेलले प्रहरी परिचालनसम्बन्धी सबै निर्णय गर्नेछ । तर निर्वाचनमा विद्यार्थीलाई तर्साउन सुरक्षामा कडाइ गर्नुहुँदैन । विद्यार्थीले पनि सुरक्षा अवस्थालाई ध्यान दिएर निर्वाचनलाई सफल बनाउनु अपरिहार्य छ । त्रिविले सुरक्षा निकायको सहयोगमा निर्वाचन हुने प्रत्येक जिल्लाका जिल्ला प्रहरी कार्यालयमा स्ववियु निर्वाचनकै लागि सम्पर्क व्यक्ति तोकेर निर्वाचन हुने क्याम्पस र आवश्यक सुरक्षा संयन्त्र स्थापना गरिसकेको छ ।
प्रहरी प्रधान कार्यालयमा निर्वाचन समन्वय टिम गठन भएको छ । यही फागुन १९ गतेबाट स्ववियु निर्वाचन प्रक्रिया शुरु भएको छ । निर्वाचन प्रक्रियाअन्तर्गत मतदाता नामावली सार्वजनिक भइसकेको छ । निर्वाचन प्रक्रिया स्थगित भएका उपत्यकाका आरआर, सरस्वती र नेपाल ल क्याप्पसमा प्रक्रिया थाल्ने तयारी भइरहेको छ ।
२०७९ सालको निर्वाचनमा उपत्यकाका ४ र बाहिरका ८ गरी १२ आंगिक क्याम्पसमा निर्वाचन भएको थिएन । त्रिविले यो वर्ष सबै आंगिक क्याम्पसमा निर्वाचन गर्ने तयारी गरेको छ । निर्वाचनको दुईवटा प्रक्रिया सकिएको छ । २५ गते मतदाता सूचीउपर दाबी विरोध गर्ने र सोही दिनको ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने गरी तालिका सार्वजनिक भइसकेको छ ।
२६ गते मनोनयनपत्र वितरण गरेपछि २७ गते समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता, २८ गते प्रत्यक्ष समानुपातिकतर्फको उम्मेदवारको दाबी विरोध र सोही दिन ५ बजे उम्मेदवारको दाबी विरोधउपर छानबिन गरी अन्तिम नामावली प्रकाशन हुनेछ । यसै गरी २९ गते दिनको १ बजेसम्म उम्मेदारको नाम फिर्ता लिई अन्तिम नामावली प्रकाशन गरिनेछ । चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ ।
प्रचारप्रसार गर्ने समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म र त्यसपछि मौन अवधि शुरु हुनेछ । मौन अवधि शुरु भएपछि उम्मेदवारले निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न निषेध गरेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा उपत्यकालगायत देशैभरका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा गतिविधि बढेको छ । गतिविधि बढेसँगै निर्वाचन समितिले सक्रियता बढाएको छ । निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न होस् ।
प्रतिक्रिया