अघिल्लो साता आफूलाई संसारकै ठूलो र शक्तिशाली मुलुक भनेर चिनाउने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई ह्वाइटहाउसमा पाहुनाको रुपमा बोलाएर शत्रुवत् व्यवहार गरे भन्ने चर्चाले विश्व तातेको छ ।
ट्रम्पको उक्त कार्यलाई संसारका अन्य देशमा कतै स्वाभाविक र कतै आलोचनाका रुपमा हेरिएको छ । धेरैजसोले पाहुनाका रुपमा बोलाएर सामान्य कूटनीतिक मर्यादा मात्र होइन, अमेरिकाले मानवीय व्यवहार पनि प्रदर्शन गर्न सकेन भन्ने टिप्पणी गरिएको पाइन्छ ।
यो घटनाबाट युरोपका कतिपय मुलुकहरु अमेरिकाप्रति असन्तुुष्ट देखिएका छन् । शायद राजनीतिमा नैतिकता यता मात्र होइन, त्यता पनि स्खलित भएको अनुमान यो घटनाबाट सहजै गर्न सकिन्छ ।
नेपाली सन्दर्भ:
केही समययताको नेपाली राजनीतिक घटनाक्रम र राजनीतिक दलका शीर्षस्थ नेताको अभिव्यक्तिलाई हेर्दा÷सुन्दा हाम्रो शिक्षाले नैतिक पक्ष हस्तान्तरण गर्न नसकेकै हो त ? भन्ने आभास दिन्छ । किनभने हरेक घटनाको कारण हुन्छ । कतै धुवाँ देखिन्छ भने वरपर आगो लागेको अनुमान गर्नै पर्छ । अहिलेको राजनीतिक परिदृश्य नियाल्दा हाम्रा नेताहरुले राजनीतिक नैतिकताको पाठ नपढेकै देखियो । छलछाम, बेइमान र तत्कालको स्वार्थपुर्ति मात्र राजनीति होइन भन्ने कुरा यिनीहरुले अब पढ्नै पर्ने देखियो । कतै हिजो बुर्जुवा शिक्षा भनी औपचारिक शिक्षा बहिष्कार गरेकै कारण संस्कारजन्य व्यवहारमा कमी आएको हो त ? यसो हो भने पनि जसले अरुलाई बुर्जुवा शिक्षा भनी औपचारिक शिक्षाबाट अलग रहन भने, उनीहरुले त विश्वविद्यालयको डिग्री लिएकै देखियो । यसरी लिइएको डिग्रीले पनि संस्कार दिन सकेनछ भन्ने कुरा तिनीहरुद्वारा प्रदर्शित वर्तमानका गतिविधि र व्यवहारले छर्लङ्ग पार्दछ ।
क्षयोन्मुख नैतिक पक्ष:
राजनीतिको मूल आधार विचार हो । विचार फरक भएपछि राजनीति फरक हुने नै भयो । विचार मिल्दासम्म राजनीतिको एउटै खाटमा सुुत्नेहरु विचार नमिलेपछि अलग हुनुलाई अस्वाभाविक मान्न सकिँदैन । राजनीतिक विचार नमिले पनि कतिपय व्यवहार मिलेको हुन्छ । विचार र व्यवहार अलग–अलग विषय हुन् ।
रण विचार नमिल्नेसँग पनि व्यवहार मिलेर सँगसँगै काम गरेका अनेकौँ दृष्टान्तहरु छन् । २०४६ सालको बहुदलीय व्यवस्था प्राप्तिका लागि भएको जनआन्दोलन, गणतन्त्र स्थापनाका लागि भएको पछिल्लो १९ दिने जनआन्दोलन र संविधान बनाउने क्रममा नेपालका राजनीतिक दलको मिलनलाई यही कार्यगत एकताको अनुपम उदाहरणका रुपमा लिन सकिन्छ ।
तर हामीकहाँ पछिल्लो समयमा व्यवहार पक्ष उपेक्षित छ । विगतको ऐतिहासिक एकता सबै दलले भुलेका छन् । सबैमा मपाईं हाबी छ । राजनीतिक विचार नै प्रधान बनेर आएको छ ।
यसैका आधारमा कसैलाई देव र कसैलाई दानवीकरण गरिएको पाइन्छ । यो सरासर गलत, पूर्वाग्रही र अव्यावाहारिक पनि छ । राजनीतिक मुद्दामा व्यक्तिगत आक्षेप, चरित्र र पारिवारिक पक्षलाई सार्वजजिक गरिनु राम्रो होइन । राजनीतिमा नीति, विचार, सिद्धान्त र दर्शनको लडाइँ हुनुपर्छ । तर यी सबै कुराबाट च्युत भएपछि मानिसहरु व्यक्तिगत स्तरमा ओर्लेर गालीगलौजमा लाग्छन् । यस्ता घटना त्यति बेला घटछन्, जब मानिसहरु विवेक गुमाउँछन् । मानिसमा विवेक भर्ने काम शिक्षाको हो । शिक्षाले नैतिक पक्षका बारेमा व्यक्तिलाई अभ्यस्त गनुपर्ने थियो तर गर्न सकेन ।
शिक्षाको नैतिक पक्ष त्यस्तो पक्ष हो, जसको माध्यमबाट असल व्यक्ति, समाज र चरित्रको निर्माण गर्न सकिन्छ । खयर, बुर्जुवा शिक्षा बहिष्कार गरेकाहरुले पनि जनवादी शिक्षाका नामबाट राजनीतिक स्कुलिङ गरेर नै आएका हुन् । औपचारिक शिक्षाभन्दा राजनीतिक प्रशिक्षणबाट पढेकाहरुलाई पनि उक्त शिक्षाले नैतिक पक्ष सिकाउन भने नसकेकै हो ।
के हो नैतिकता ?
‘नीति र ‘इक’ मिलेर नैतिक शब्द बनेको हो । यसको अर्थ ‘नीतिको पालना गर्नु’ भन्ने हो । नीतिको पालना हुँदा समाजमा सकारात्मक सोचको विकास हुन्छ । नागरिकमा आफ्नो दायित्वबोध हुँदै जान्छ र समाज सकारात्मक तरिकाबाट अगाडि बढ्दै मानिसमा सदाचार, विनम्रता, सद्भाव, प्रेमभाव, श्रद्धा र परोपकारजस्ता सकारात्मक पक्षले स्थान पाउँछ । यसै कारण शिक्षामा नैतिक पक्षको अभाव आजका यी घटनाका लागि जिम्मेवार देखिन्छ ।
नेपाली बृहत् शब्दकोशले ‘नैतिक’लाई ‘राम्रो आचरण, नीतिसँग सम्बन्धित कुरा’का रूपमा व्याख्या गरेको छ । नीतिमा पनि ‘विद्या विनय सम्पन्ने’ भनिएको छ । अर्थात् विद्याले विनय दिनुपर्छ । प्रसिद्ध समालोचक डाक्टर ताना शर्माले चाँदनी शाहका कविताको समीक्षा गर्थे ।
तत्कालीन रानी ऐश्वर्यको साहित्यिक नाम चाँदनी शाह थियो । रानीका कविताको समालोचना ग¥यो भनेर शर्मालाई चाकडी गर्ने, राजा–महाराजाका सामुु टाउको निहुँराउने भनेर आलोचना गरिन्थ्यो । यसको प्रत्युत्तरमा उनले भन्ने गर्थे, ‘मेरो टाउको छ, यसैले निहुँरिन्छ, टाउको नै नहुनेको के निहुँरियोस् ? मसँग कोही मान्छे झुक्न आउँछन्, यसैले म पनि मान्यवरसँग झुक्नुुपर्ने रहेछ भनेर थाहा पाएँ, जोसँग कोही मान्छे झुक्नै आउँदैन उसलाई अरूसँग झुक्नुपर्दो रहेछ भन्ने के थाहा ?’
शिक्षाले यस्तै मानव मूल्यको अभिवृद्धि गर्न सक्नुपर्छ । शिक्षाले संस्कारसहितको अनुकरण सिकाउनुपर्छ । पाश्चात्य दार्शनिक अरस्तु पनि अनुकरण सादृश्य विधान मात्र होइन भन्छन् । यसर्थ शिक्षाले विगतबाट सिकेर कमी–कमजोरी सुधार्ने पनि गर्नुपर्छ । सत्य, धर्म, शान्ति, पे्रम र अहिंसा मानवीय मूल्य हुन् ।
यिनको संरक्षण, विकास र रक्षाका लागि शिक्षा सदैव तत्पर हुनुपर्छ । तर, हामीकहाँ न शिक्षा मानवीय मूल्यकै संरक्षण गर्न सक्ने खालको छ, न त नागरिकलाई गरिखान नै सिकाउने खालको छ । कति पढ्ने भन्ने कुरामा जोड दिँदा के पढ्ने भन्ने विषयवस्तु छायामा परेको छ । यसैले बेरोजगार नागरिक उत्पादन गर्न वा सस्कार शून्य चरित्र निर्माण गर्नकै लागि शिक्षा किन चाहिने ? बहसको विषय बन्न सक्छ । अहिले पुरानै ढर्रामा नयाँ मान्यतालाई बोक्न खोज्दा शैक्षिक प्रणालीमाथि नै प्रश्नचिह्न खडा हुने अवस्था छ ।
बढ्दो नकारात्मकता:
शिक्षाले समाजमा देखिने दुव्र्यवहार र खराब आचरणलाई रोक्न सक्नुपर्छ । पढेका र नपढेकाबीच अन्तर देखाउन सक्नुपर्छ । लिडर र सामान्य नागरिकबीच भेद छुट्याउन सक्नुपर्छ । तर आज यस्तो अवस्था देखिँदैन । हामीकहाँ मात्रै होइन, विश्वमा नै शिक्षाले मानवीय मूल्य बोक्न सकेको छैन ।
भनिन्छ, अमेरिकामा हरेक पाँच मिनेटमा एउटा बालक हिंसात्मक अपराध गरेको अभियोगमा समातिन्छ र प्रत्येक तीन घण्टामा एउटा अमेरिकन बालकको मृत्यु बन्दुकसँग सम्बन्धित हिंसाबाट हुन्छ । किन्डरगार्डेन जानुअघि नै केटाकेटी ५ हजार घण्टा टिभी हेर्दछन् । मोबाइलको दुरुपयोगमा केटाकेटी अधिक छन् । जुवा, तासमा पनि कैयन् बालबालिका संलग्न भएको पाइन्छ । शिक्षाले यस्ता कुरा नरोके पनि कम गर्न सक्नुपर्छ । यसका लागि तल्लो कक्षाबाटै नैतिक पक्षको ज्ञान दिनुपर्दछ । आज पढाइने गरेको नाम मात्रको नैतिक शिक्षा परीक्षाका लागि मात्र भएको छ, व्यावहारिक जीवनका लागि हुन सकेको छैन ।
शिक्षाको नैतिक पक्षले मानवीय चेतना उजागर गराउन सक्नुपर्छ । यसका लागि नर्सरीदेखि आध्यात्मिक ज्ञान, योग शिक्षा र प्रभात संगीत, धर्मचक्रमा सहभागी गराउने गरी व्यावहारिक शिक्षा दिनुपर्छ । तर हामीकहाँ नैतिक, आध्यात्मिक र सदाचारयुक्त शिक्षाको खाँचो छ । हाम्रो सोच अंग्रेजी माध्यमतर्फ छ । भाषिक माध्यम मात्र परिवर्तन गरेर हामीलाई चाहिने नागरिक उत्पादन हुन सक्दैन । बरु अंग्रेजी माध्यममा जोड दिन लालायित हुनु भनेको त दुई–चारजना विदेश नगई स्वदेशमा बस्न खोजेकालाई पनि जबर्जस्त विदेश धकेल्न खोज्नु हो । अंग्रेजी मोहको सोच कुनै पनि हालतमा त्याज्य नै छ ।
अहिलेको शिक्षाले शैक्षिक उपलब्धिमा मात्र बढी जोड दिएको छ । पाठ्यक्रम र परीक्षामा बढी जोड दिएर कति अंक ल्यायो भन्नेमा जोड दिएको छ । अर्थात् कति पढ्ने भन्ने कुरामा चासो राखेको छ तर किन पढ्ने र के पढ्ने भन्ने कुरामा चासो राखेको छैन । यसले गर्दा चरित्र विकासमा कम जोड दिएको पाइन्छ । उदाहरणीय र असल नागरिक बन्नुपर्नेमा कम चासो दिएको छ । रूपान्तरण नभई जानकारीमा मात्र जोड दिएको छ । यो राम्रो होइन । प्रायः हामी जे सिक्दछौं, त्यो तुरुन्तै बिर्सिहाल्छौं । हामीले बालबालिकालाई के सिकाउँदै छौं भन्ने कुरा बिर्सेर विषयवस्तुमै रुमलिन्छौं ।
यसै कारण शिक्षा प्रक्रियामै सम्मिलित रहने जो–कोही पनि असन्तुष्ट देखिन्छन् । विद्यार्थी, शिक्षक, अभिभावक, सरकार र समाज कोही पनि अहिलेको ज्ञानार्जन प्रक्रिया, विषयवस्तु र विधिबाट सन्तुुष्ट देखिँदैनन् । यसैको परिणाम हो माननीयको गैरमाननीय व्यवहार प्रदर्शन र निकृष्ट गालीगलौज ।
हामीबीच शैक्षिक विरोधाभासको स्थिति छ । एकातिर शिक्षाकै माध्यमबाट मानिसले पदार्थ र अन्तरिक्षमाथि नै विजय प्राप्त गरिरहेको छ भने अर्कोतर्पm शान्ति र खुशीको खोजीमा भौंतारिरहेको अवस्था पनि छ । यो वा त्योको दोधारमा हाम्रो शैक्षिक अवस्था रुमलिइरहेको छ । धैरैजसो समाजमा मद्यपान, लागूपदार्थ सेवन, मानसिक रोग, अपराध र नाबालकहरूको बढ्दो आपराधिक संलग्नता विकराल बन्दै गएको छ । यो अवस्थालाई शिक्षाले न्यूनीकृत गर्नुपर्ने हो तर वर्तमान शिक्षाले भाषा र अवधारणा सिकाउँछ तर आपूmसँग र अरूसँग कसरी सन्तुलित जीवनयापन गर्ने भन्ने सिकाउँदैन ।
यो नै आजको शिक्षाको मूल कमजोरी हो । व्यवहारमा आउने सकारात्मक परिवर्तनको खोजी शिक्षाको नैतिक पक्षले समेट्न सक्नुपर्छ । आजकलको शिक्षा दिमागलाई किताबी कुराले भर्ने, भरिएको कुरा परीक्षा हलमा खन्याउने र घर फर्कंदा रित्तो दिमाग फर्कने प्रक्रियाको छ । परीक्षामा मात्र जाने र पुग्ने शिक्षा छ । वर्तमानमा शिक्षाले बुद्धि र गफको विकास गर्दछ तर असल गुणको विकासमा कम योगदान दिन्छ ।
अबको शिक्षा कम्तीमा पनि मानव कल्याणका लागि हुनुपर्दछ । यसले सामाजिक कुसंस्कार, कुरीति र अमानवीय व्यवहारलाई चिर्न सक्नुपर्दछ । समाजमा रहेका राम्रा पक्षलाई उजागर गर्न सघाउनुपर्छ । व्यक्तिगत सदाचार, स्वावलम्बीपना र नैतिक मूल्य–मान्यतालाई संरक्षण गर्ने शिक्षा नै आजका लागि आवश्यक छ । विनम्रता, आदर, संस्कारजस्ता मान्यतामा विशेष जोड दिनुपर्दछ । जसबाट बालबालिका वयष्क हुँदा भविष्यमा असल र कुशल नागरिक भई देश, समाज र विश्वमै अनुकरणीय बन्न सकून् , नकि अहिले हाम्रा राजनीतिक दलका शीर्षस्थ भनिने नेताहरुजस्ता ।
यसकारण चरित्रमा सुधार आजको मुख्य आवश्यकता हो । व्यवहारमा सकारात्मक परिवर्तन समयको माग हो । राजनीति विचारका आधारमा गरिए पनि व्यवहारका आधारमा हुने भाइचाराको सन्निकटता अक्षुण राख्नै पर्छ । यसका लागि भिन्न विचारबीच पानी बाराबारको अवस्था होइन, अस्तित्व स्वीकारसहितको सम्मान दिन सक्ने फराकिलो छाती आजको आवश्यकता हो ।
प्रतिक्रिया