धार्मिक पर्यटकीय गन्तव्यस्थल गजेन्द्रमोक्ष दिव्य धाम

0
Shares


त्रिकूट पर्वतको फेदी श्रीकृष्णगण्डकी (नारायणी) नदीको तटवर्ती सुन्दर वन देव, गन्धर्व, यक्ष–किन्नर सिद्ध गण तथा असङ्ख्य ऋषि–महर्षिगणद्वारा सेवित थियो । मयुर कोकिलादी पक्षीहरुको ध्वनिद्वारा गुञ्जायमान यस सुन्दर वनमा मृग, बँदेल, जरायो, गैंडा, वनगाई, दुम्सी, सिंह, बाघ, बाँदर आदि धेरै किसिमका जनावरहरु निवास गर्थे ।

त्रिवेणीधाम नारायणी, तमसा र सोनभद्रा गरी तीन नदीको संगम हो । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वार्ड नं. ६ मा अवस्थित छ । परापूर्वकालमा गजेन्द्र नाम गरेको हात्ती नै त्यहाँको राजा थियो ।

गजेन्द्रदेखि वनका साना–ठूला सबै जनावरहरू डराउँथे । एकदिन गजेन्द्र हात्ती झुन्डका साथ गण्डकी नदीमा जल विहारका लागि आउँदा बलवान् गोहीले हात्तीका खुट्टा बेस्सरी समात्यो । वनको राजा र जलको राजाबीच लामो समयसम्म भयङ्कर लडाइँ चल्यो । गजेन्द्र आफू असफल भएको देखी पूर्वजन्ममा गरेको भागवत भक्तिको स्मृतिद्वारा भगवान् नारायणलाई आह्वान गर्छन् ।

उनको दिव्य स्तुति सुनेर बह्मा आदि सबै देवी–देवता आ–आफ्ना नामको अपेक्षा गरिरहे । गोहीले जलभित्र तान्दै जाँदा सुँड मात्र शेष बचेपछि भक्तवत्सल भगवान् नारायण अत्यन्त शीघ्र गरुडारूढ भई आएको देखेर गनेन्द्र श्लोकद्वारा स्वागत गर्दछन् । भगवान् श्रीहरिले आफ्ना सुदर्शन चक्रद्वारा तत्काल ग्राह (गोही) को शिर छेदन गरी गजेन्द्रलाई उद्वार गर्नुभएको कुरा श्रीमदभागवत महापुराण, वराहपुराणादिमा वर्णन गरेको पाइन्छ ।

गजेन्द्र पूर्वजन्ममा पाण्डयवंशी इन्द्रद्युम्न नाम गरेका राजा थिए । अगस्त्य ऋषिका श्रापका कारणले हात्ती हुन पुगेका थिए भने ग्राह हुहु नाम गरेका गन्धर्व थिए । उनी पनि देवल ऋषिका श्रापका कारण गोही बन्न पुगेका थिए । दुवै ऋषिले हात्ती र गोही भए तापनि भगवान् श्रीहरिबाट हात्ती र गोहीको शरीर त्यागी मोक्ष गतिलाई प्राप्त गर्नेछौ भन्ने ऋषिले आशीर्वाद दिनुभएको थियो । भगवान्ले गजेन्द्रसहित ग्राहलाई पनि जन्म–मरणको चक्रबाट सदाका लागि मोक्ष प्रदान गर्नुभएकाले यस धामको नाम श्रीगजेन्द्रमोक्ष दिव्य धाम रहन गएको हो ।


वि.सं. २०७५ फागुन १९ गते नेपाल तथा भारतका सन्त–महन्त धर्माचार्य एवं गुरुवर्गहरुका साथ ५५५ जना संस्थापक सदस्यहरूद्वारा यस मन्दिरको सामूहिकरुपमा समुद्घाटन भई सप्तदिवसीय प्राण–प्रतिष्ठा महा–महोत्सव गरी श्रीगजेन्द्र मोक्ष नारायण भगवान्को विशाल दिव्य श्रीविग्रह प्रतिष्ठित गरिएको थियो । मन्दिरको बाहिरी बनावट नेपाली प्यागोडा शैली र भित्री बनावट हेर्दा दक्षिण भारतीय शैली झल्किन्छ । शङ्ख, चक्र, तिलक श्री, पुष्प, गौ, हस्ती, अश्वादि मांगलिक चित्राङ्कन गरिएको मन्दिरमा कुल ३१ ढोका, ९६ झ्याल एवं ५ सयभन्दा बढी मूर्तिहरु निर्मित छन् ।

वि.सं. २०४८ माघ अमावश्यादेखि श्रद्वेय श्रीस्वामीज्यू महाराजले १२ वर्षका लागि नित्य हवन गर्ने सङ्कल्प लिइबक्सेको थियो । ती सङ्कल्पित १२ वर्षमध्येका १५ सय ५५ दिनसम्म यसै हवनकुण्डमा अखण्ड अग्नि प्रज्वलित राखी हवन गरिएको थियो र १२ वर्ष पूरा भएपछिको महापूर्णाहुति पनि हवनकुण्डमा सम्पादन भएको थियो । यसै यज्ञशालामा यज्ञ पूजापाठ गराउँदा भक्तजनहरुको इच्छा सिद्व हुने जनविश्वास रही आएको छ ।

अष्टकोणात्मक प्यागोडा शैलीमा बनेको शीशमहल धाममा आउने हरेक दर्शनार्थीहरुका लागि नयाँ अनुभवको आभास हुन्छ । शीशमहलभित्र राधाकृष्ण भगवान्को दिव्य दर्शन हुन्छ । मुख्य विग्रह शीशमहलको बीचमा रहेकाले दर्शकहरु परिक्रमा गर्दा प्रतिविम्ब देखिन्छ । वि.सं. २०६२ कार्तिक २२ गतेदेखि २८ गतेसम्म भारतका विभिन्न ३ सय ३२ स्थानहरुमा एकै तिथि, मिति र मुहूर्तमा प्रारम्भ भई एकैसाथ सम्पादित श्री विश्वशान्ति मुक्तिनाथ १०८ विराट महायज्ञको त्रिदिवसीय पूर्णाहुति एवं फूलपाती विसर्जन कार्यक्रम देवभूमि हरिद्वारमा मंसिर २ गतेदेखि ४ गतेसम्म सञ्चालित थियो ।

साथै सवा लाख गाईको दूधद्वारा १ हजार ८ शालग्राम भगवान्सहित भागिरथी गंगामा महा अभिषेक गरी सवा करोड दीप प्रज्वलन कार्यक्रम सम्पादन भएको थियो । सो अवसरमा निर्मित श्रद्वेय श्री मुक्तिनाथ बाबाज्यूको उचाइ बराबरको अष्टधातुको कलश याज्ञावधिभर विधिवत् पूजन गरेर नेपाल र भारतका प्रायः सबै तीर्थस्थलको परिक्रमा गराई पवित्र नदी, ताल एवं सरोवरहरूको जल भरी त्रिवेणीमा ल्याइएको थियो ।

सो कलश अहिले शीशमहलको दोस्रो तलामा स्थापना गरिएको छ । श्रीगजेन्द्रमोक्ष दिव्य धाममा आउने साधु, सन्त, साधक एवं तीर्थयात्रीका लागि साधना, भोजन, आवासको सहज प्रबन्ध होस् भन्ने ध्येयले साधना हल, धर्मशाला एवं अन्नदान क्षेत्र सञ्चालित छन् । प्रतिदिन करिब १ सय ५० जनासम्म यात्रीहरूका लागि भोजन र आवासको व्यवस्था रहेको छ ।


संस्कृत वाङ्मयको विशाल भण्डारमा प्राचीन ज्ञान, विज्ञान, योग, कला, साहित्य, दर्शन, संस्कृति र समग्र वैदिक इतिहास सुरक्षित छ । श्रीमुक्तिनाथ बाबाज्यूले वि.सं. २०४८ देखि नै संस्कृत गुरुकुलको स्थापना गरी सञ्चालन गर्नुभयो । वि.सं. २०६४ देखि नेपाल सरकारबाट स्वीकृति लिई श्रीमुक्तिनाथ पीठ वेद विद्याश्रम (आवासीय गुरुकुल मा.वि.) नामबाट सञ्चालनमा आयो । हाल १०० जना बटुकहरुले शिक्षा लिइरहेका छन् ।

गाई सुख, शान्ति, समृद्धि प्रदान गर्ने र धर्म, अर्थ, काम, मोक्ष प्राप्त गर्ने दयाकी मूर्ति हुन् । गोसंरक्षणका लागि श्रद्धेय श्रीमुक्तिनाथ बाबाज्यूले वि.सं. २०५० मा विशाल गोसंरक्षण महायज्ञ सम्पन्न गरी सोही अवसरमा यस गजेन्द्रमोक्ष दिव्य धाममा श्रीगजेन्द्र मोक्ष कामधेनु गौशालाको स्थापना गरी गोसेवा प्रारम्भ गर्नुभयो । हालसम्म गोशालामा १ सय ५० वटा वैदिक गाईहरूको सेवा भइरहेको छ ।


नेपालका प्रकाण्ड विद्वान् योगी नरहरिनाथले मेचीदेखि महाकालीसम्म कोटिहोम लगाउने सिलसिलामा त्रिवेणीमा गएर घना जङ्गल भएको ठाउँमा जङ्गल फडानी गरी वि.सं. २०४० मा कोटिहोम लगाउनुभएको थियो । उहाँका सहयात्री स्वामी प्रपन्नाचार्य हुनुहुन्थ्यो । तीस वर्षको उमेरमा कखरा सिकेका प्रपन्नाचार्य वेदमा विद्यावारिधि गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो । ढिलो पढ्न सिकेकाले स्वामी प्रपन्नाचार्यले खासै समय दिन भ्याउनुहुँदैनथ्यो । कहिलेकाहीँ आउनुहुन्थ्यो । योगी नरहरिनाथले एक महिनासम्म चलेको कोटिहोमको सम्पूर्ण नेतृत्व लिनुभएको थियो ।

नेपालभरि योगी नरहरिनाथले १ सय ८ भन्दा बढी ठाउँमा कोटिहोम लगाउनुभएको थियो भन्ने कोटिहोम मन्दिरका पुजारी देवी पाण्डेयबाट जानकारी भयो । १३ सय वर्षअगाडि गजेन्द्रमोक्ष धाममा हात्ती र गोहीको लडाइँ हुँदा सोही ठाउँमा भगवान् विष्णु विराजमान हुँदा माता लक्ष्मी भने केउलानीमा वृक्षको फेदबाट हेरेर बस्नुभएको थियो । केउलानीमा विराजमान लक्ष्मी माताको परिसर खुल्ला ठाउँमा छ । त्यहाँ मन्दिर बनाई छानो हाल्दा अनिष्ट हुने भएकाले भौतिक संरचना बनाउन पूर्णतया निषेध रहेको केउलानी मन्दिरका पुजारी नारायण अधिकारीबाट जानकारी पाइयो । केउलानी माता, नरदेवी माता, दाउन्नेदेवी माता र चुवाडीदेवी माता यी चार दिदी–बहिनी हुन् । नरदेवी माताको मन्दिर भने भारतमा पर्छ ।


चितवनको माडी नगरपालिका–१ मा पर्ने वाल्मीकि आश्रममा वाल्मीकिले रामायण रचना गरेको मानिन्छ । वाल्मीकि ऋषिले सीतालाई आश्रय दिएका थिए । लव–कुशको जन्म भएको, उनीहरुले शिक्षा लिएको, सीताले प्रयोग गर्ने सिलौटो, तबला रहेको, वाल्मीकि ऋषि अन्तध्र्यान भएको, सीता माताले पाताल प्रवेश गरेको स्थान यहाँ रहेको छ । भारतबाट बेला–बेलामा आवतजावत गर्न अवरोध खडा भएपछि हाल नेपाल सरकारले यहाँ झलुङ्गे पुल निर्माण गरेको छ ।


यो पौराणिक, ऐतिहासिक एवं धार्मिक पर्यटकीय क्षेत्र हो । स्वर्णभद्रा, पूर्णभद्रा र नारायणीको संगमस्थल त्रिवेणीधाम, माता सीताको विरह भूमि, महर्षि वाल्मीकिले वाल्मीकि रामायण लेखेको स्थान, लव र कुशको जन्मभूमि, केउलानी मन्दिर, स्वयं प्रकट नागस्थान, बालपुरी आश्रम, नागबाबा कुटी, श्रीलक्ष्मी बैंकटेश मन्दिर, लक्ष्मीनारायण मन्दिर, रामजानकी मन्दिर, कोटिहोम शिवालय मन्दिर यहाँका प्रमुख स्थान हुन् । त्यसै गरी भक्तेश्वर मन्दिर, कठवाँ गुफा, विष्णु धाम, गडीगाई र बालपुरी बाबाको जिउँदो समाधि स्थल आदि विभिन्न मठस्थलहरु पनि यहाँ रहेका छन् ।

यस क्षेत्रमा दिनानुदिन धार्मिक पर्यटकहरुको आवागमन बढ्दो क्रममा छ । तीन नदीको संगम विश्वमै शालिकराम शिला पाइने गण्डकी नदी हो । वार्षिक मेलाका रूपमा चल्दै आएका धार्मिक पर्वहरु जस्तै– जनै पूर्णिमा, माघ अमावश्या, ठूली एकादशी, श्रावण मेला, चैत वारुणी, रामनवमीमा यस धाममा हरेक वर्ष हुने यज्ञ यागादि अनुष्ठानले सुनमा सुगन्ध थप्दै आएको छ ।

नेपालको हिन्दु धर्म–संस्कार र संस्कृतिको स्तम्भको रुपमा यस क्षेत्रको विकास गरी बाह्य पर्यटन प्रवद्र्धन गर्दै राष्ट्रिय अर्थतन्त्रलाई समुन्नत गराउन समस्त धर्मानुरागी तथा राष्ट्रप्रेमी सज्जन महानुभावहरुको सद्भाव एवं सहयोगको खाँचो छ । धार्मिक र ऐतिहासिक महत्व बोकेको यस पवित्र भूमिको प्रचारप्रसार गर्नु आवश्यक छ । नेपालको हरिद्वार मानिने त्रिवेणी धाम राष्ट्रिय स्तरबाटै संरक्षण र संवद्र्धन हुनु आवश्यक छ ।
(लेखक गैंडाकोट ४, नवलपुर निवासी हुनुहुन्छ ।)