‘फाइभ–जी’को प्रतीक्षामा उपभोक्ता

1.88k
Shares

सन् १९४० को पूर्वाद्र्धमा मोटरल्ला कम्पनीले वाकिटाकी प्रविधिको विकास गरेको थियो । यो आफैँमा शून्य–जी पुस्ताको मोबाइल थियो ।

सन् १९४०–१९८० को अवधिमा विश्वमा मोबाइल प्रविधिले खासै छलाङ मार्न सेकेको पाइँदैन । त्यसैले, सन् १९४०–१९८० लाई शून्य–जी (जिरो–जी) अवधि मानिन्छ । सन् १९८० पश्चात् औसत १० वर्षको अन्तरालमा मोबाइल प्रविधिमा कोल्टो फेराइ हुने गरेको पाइन्छ ।

वस्तुतः शून्य–जी नाममात्रको मोबाइल प्रविधि थियो । सोही कारण वैज्ञानिकहरु पहिलो पुस्ताको वायरलेस प्रविधिको (वान–जी) खोजमा जुटे । सन् १९७९ मा जापानी कम्पनी निप्पन टेलिग्राफ एन्ड टेलिफोनले टोकियो नगरमा पहिलोपटक वान–जी प्रविधि प्रारम्भ गरेको थियो । प्रारम्भको ५ वर्षभित्र जापानभर वान–जी प्रविधिमा आधारित मोबाइल वितरण भयो । सन् १९८१ मा डेनमार्क, फिनल्यान्ड, स्वेडेनमा समेत वान–जी प्रविधि शुरुवात भयो । सन् १९८३ मा अमेरिकाले सिकागो शहरमा वान–जी प्रविधि आरम्भ ग¥यो । सन् १९८५ मा बेलायत, मेक्सिको तथा क्यानडाले समेत वान–जी प्रविधि शुरुवात गरे । यसरी सन् १९८०–१९९० को अवधिमा विश्वका अन्य मुलुकहरुमा समेत वान–जी प्रविधि विस्तार हुन पुग्यो ।

वान–जी आफैँमा एनालग रेडियो सिग्नलमा आधारित प्रविधि थियो । वान–जी प्रविधिमा डाटा सुविधा उपलब्ध नहुनु, आवाजको गुणस्तर कमजोर हुनु, ब्याट्री कम खप्नु, कम तौलको सेलफोन विकास नभइसकेकाले ठूलो आकारको सेलफोन प्रयोग गर्नुपर्ने बाध्यता रहनु, पीएसटीएन नेटवर्कमा आधारित रहनु, डाटास्पीड २ केबीपीएसभन्दा अधिक नहुनु वान–जी प्रविधिका सीमितताहरु थिए । सोही कारण वान–जी प्रविधि स्तरोन्नति अपरिहार्य ठानियो ।

वान–जी मोबाइल प्रविधिमा तमाम कमी–कमजोरीहरु रहेका कारण वैज्ञानिहरु वान–जीको स्तरोन्नतिमा जुटे । परिणामतः सन् १९९० को शुरुवातीमा दोस्रो पुस्ताको वायरलेस टेक्नोलोजी अर्थात् टु–जी जन्मन पुग्यो । सन् १९९१ मा टु–जी प्रविधिको शुरुवात फिनल्यान्डको जीएसएम अपरेटर रेडियोजिन्जाले गरेको थियो । डिजिटल वायरलेस नेटवर्कमा आधारित टु–जी प्रविधिमा भ्वाइस कल, एसएमएस (टेक्स्ट मेसेज) र डाटा सुविधा उपलब्ध रहेको छ । ६४ केबीपीएस डाटा स्पीड भएको टु–जी टाइम डिभिजन मल्टिपल एक्सेस (टीडीएमए) प्रविधिमा आधारित पुस्ता हो । टु–जीका निमित्त ८५०–१९०० मेगाहर्ज फ्रिक्वेन्सी र सीडीएमए प्रविधिका लागि ८२५–८४९ मेगाहर्ज फ्रिक्वेन्सी कम्प्याटेबल रहन्छ ।

तथापि, दूरसञ्चार प्रविधिगत स्तरोन्नतिका कारण टु–जी प्रविधि अस्ताउँदो छ । जहाँ, अमेरिकन कम्पनी एटी एन्ड टीले २०१७ मा र अर्को कम्पनी भर्जनले २०१९ मा बन्द गरिसकेका छन् । त्यस्तै, भारती दूरसञ्चार कम्पनी एअरटेलले सन् २०१९ मा र बेलायती कम्पनी ‘टी’ मोबाइलले सन् २०२० मा टु–जी फेज आउट गरेका हुन् । टु–जीपश्चात् सन् २००० मा सेकेन्ड एन्ड हाफ जेनेरेसन अगाडि सारियो, जुन टु–जीकै विकसित रुप थियो ।

सेकेन्ड एन्ड हाफ जेनेरेसनकै कारण जीपीआरएस प्रादुर्भाव भयो । सेकेन्ड एन्ड हाफ जेनेरेसन ८५०–१९०० मेगाहर्ज फ्रिक्वेन्सीमा कम्प्याटेबल प्रविधि हो, जहाँ उपभोक्ताले ई–मेल, वेब ब्राउजिङ, क्यामेरा फोन, मोबाइल गेम, डाइरेक्ट रिसर्च, एसएमएसजस्ता सुविधाहरु उपभोग गर्न सक्छन् । सेकेन्ड एन्ड हाफ जेनेरेसनकापश्चात् सन् २००३ मा सेकेन्ड एन्ड ७५ जी अगाडि सारियो, जुन ‘एज’ नामबाट पनि चिनिन्छ । जुन टु–जी तथा टु एन्ड हाफ–जीको स्तरोन्नति र थ्री–जीको प्रारुपको रुपमा अगाडि सारिएको हो ।

मूलतः ८५०–१९०० मेगाहर्ज फ्रिक्वेन्सी २.७५ जीमा कम्प्याटेबल हुने २.७५ जी अन्तर्गत औसत १ सय २८ केबीपीएस स्पीडमा डाटा तथा इन्फर्मेसन ट्रान्समिट गर्न सकिन्छ । यसै कारण उपभोक्तामा मोबाइल इन्टरनेटको आदत विकास हुुन पुग्यो । २ जी, २.५ जी, २.७५ जी प्रविधिमा भिडियो कल, लाइभ टीभीलगायत सुविधाहरु उपलब्ध नहुँदा तेस्रो पुस्ताको वायरलेस प्रविधिको खोजमा वैज्ञानिहरु जुट्नु स्वाभाविकै थियो । यसै क्रममा पहिलोपटक व्यावसयिकरुपमा जापानी कम्पनी एटीटी डोकोमोले सन् २००१ अक्टुबरमा थ्री–जी शुरुवात ग¥यो ।

नर्भेजियन कम्पनी टेलिनोरले सोही वर्ष डिसेम्बरमा थ्री–जी शुरुवात गरेको थियो । डिजिटल ब्रोडब्यान्ड मानिने थ्री–जीमा भ्वाइस कल सुविधाको अलवा भिडियो कल, लाइभ टीभी, मोबाइल टीभी, लाइभ भिडियो, एचडी भिडियोका सुविधाहरु उपलब्ध रहन्छ । थ्री–जीमा ३.६ देखि २१ एमबीपीएस स्पीडमा डाटा चलाउन सकिन्छ । जहाँसम्म छिमेकी मुलुकमा थ्री–जी प्रविधि अवलम्बनको सवाल छ, चिनियाँ कम्पनी चाइना टेलिकम, चाइना युनिकम र चाइना मोबाइलले २००८ मा, भारतीय कम्पनी, महानगर टेलिफोन निगम लिमिटेडले सन् २००८ मा र भारत सञ्चार निगम लिमिटेडले सन् २००९ मा थ्री–जी सेवा शुरुवात गरेका हुन् ।

२००७ मा थ्री–जी शुरु गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले सेवा दक्षिण एसियामै सबैभन्दा पहिले थ्री–जी सेवा शुरु गर्ने कम्पनी बन्न पुगेको थियो । तत्पश्चात् अर्को सेवाप्रदायक ऐनसेल प्राइभेट लिमिटेडले पनि थ्री–जी सेवा पस्किन पछि परेन । त्यस्तै सन् २००३ मा भ्वाइस, डाटा, भिडियो र मल्टिमिडिया कम्प्याटेबल हुने गरी थ्री–जीको अपग्रेडेड भर्जनको रुपमा ३.५ जी तथा ३.७५ जी पस्कने कार्य भयो ।

थ्री–जी टेक्नोलोजीमा डाटा स्पीडको सीमितता हुनुको कारण वैज्ञानिहरु चौथो पुस्ताको मोबाइल प्रविधिको खोजमा जुट्नु अस्वाभाविक थिएन । यसै क्रममा फोर–जी टेलिया सोनेराद्वारा पहिलोपटक सन् २००९ डिसेम्बर १४ मा स्वीडन र नर्वेमा एकैसाथ शुरुवात गरिएको थियो । लङ टर्म इभोलोसनको नामबाट समेत चिनिने, १० देखि ५० मेगाबाइट प्रतिसेकेन्ड स्पीडमा इन्टरनेट चलाउन सकिने इन्टरनेट प्रविधि पनि हो, यो ।

आईपी टेलिफोनी, रोमिङ सर्भिस, हाई डेफिनेसन भिडियो कल, हाई डेफिनेसन मोबाइल टीभी, भिडियो कन्फ्रेन्सिङ, थ्रीडी टेलिभिजन, लाइभ टीभी, क्लाउड कम्प्युटरिङ, कस्टमाइज र पर्सनल सर्भिसेस फोर–जीका मुख्य विशेषताहरु हुन् । नेपालमा २०१७ जनवरी १ मा नेपाल टेलिकमद्वारा, २०१७ मे ३ मा ऐनसलेद्वारा र २०१७ अगस्ट १३ मा स्मार्ट टेलिकमद्वारा फोर–जी प्रविधि आरम्भ गरिएको हो ।

थ्री–जी तथा फोर–जी प्रविधिमा सफलता प्राप्त गरेका आईटी क्षेत्रका वैज्ञानिक त्योभन्दा दु्रत गतिको इन्टरनेट प्रविधिको खोजीमा जुट्नु स्वाभाविकै थियो । यसै क्रममा, पाँचौँ पुस्ताको वायरलेस टेक्नोलोजी अर्थात् फाइभ–जी प्रविधि विकासका लागि वैज्ञानिकहरु जुटिरहेकोमा २०१६ जुलाईमा टुंगोगमा पुगेका थिए । फलतः सन् २०१९ मा आइपुग्दा फाइभ–जी प्रविधि विधिवत्रुपमा प्रारम्भ हुन पुग्यो ।

आईटी वैज्ञानिकहरुले फाइभ–जी प्रविधिलाई फोर–जीभन्दा निकै एड्भान्स प्रविधिको रुपमा पस्किएका छन् । फाइभ–जी टेक्नोलोजीमा १ हजार अधिक एप्लिकेसन चलाउन सकिन्छ । डाटा स्पीड फोर–जीभन्दा १ सय गुणा अधिक रहेको छ, जुन २ देखि २० गिगाबाइट प्रतिसेकन्ड रहेको छ । एउटा मुभी थ्री–जी प्रविधिमा २६ घण्टा, फोर–जी प्रविधिमा ६ मिनेट लाग्ने गरेकोमा फाइभ–जी प्रविधिमा ०.३७ सेकेन्डमै डाउनलोड हुनु त्यसैको दृष्टान्त हो । फोर–जीभन्दा १० गुणा कम पावर कन्जुम हुनु वा सौर्य ऊर्जाबाट समेत चलाउन सकिने अर्को विशेषता हो ।

यसको साथै रिस्पोन्स वा कनेक्सन टाइम फोर–जीको तुलनामा निकै उच्च रहनु पनि अर्को विशेषता हो । फाइभ–जी प्रविधिमा भाषागत अस्पष्टता अर्थात् आवाज वुझ्न नसकिने समस्या भोग्नुपर्दैन । हाई डेफिनेसन क्वालिटीमा भिडियो हेर्न सकिन्छ । फाइभ–जीको बेस स्टेसन आकार टु–जी, थ्री–जीभन्दा अपेक्षाकृत सानो हुने हुँदा बेस स्टेसन जडानबापतको खर्च कटौतीमा सघाउ मिलेको छ ।

फाइभ–जी टेक्नोलोजी अहिलेकै सीमकार्ड, अप्टिकल र बेस स्टेसनमा सञ्चालन गर्न सकिन्छ । मात्र टावर मोडिफिकेसन गरे पुग्छ । तथापि, सुपर हाई फ्रिक्वेन्सी प्रयोग गर्नुपर्ने, नयाँ उपकरणहरु लगाउनुपर्ने, नयाँ ब्यान्डविथ खरिद गर्नुपर्ने हुँदा शुरुमा फाइभ–जी प्रविधि स्वाभाविकरुपमै महँगो पर्दछ । सन् २०१९ अप्रिलमा फाइभ–जी शुरुवात गरेको दक्षिण कोरिया फाइभ–जी प्रविध आरम्भ गर्ने पहिलो मुलुक हो । त्यस्तै, चीनले सन् २०१९ अक्टुबरमा, जापानले सन् २०२० मार्चमा, भारतले सन् २०२२ अक्टुबरमा फाइभ–जी प्रविधि शुरुवात गरेका हुन् ।

अहिलेसम्ममा जर्मनी, हँगेरी, इटली, अमेरिका, उरुग्वे, बहराइन, कुवेत, कतार, साउदी अरेबिया, चीन, भारत, माल्दिप्सलगायतका कैयौँ मुलुकले फाइभ–जी प्रविधि अवलम्बन गरिसकेका छन् । अहिले अमेरिका, चीन, दक्षिण कोरिया, बेलायत, जर्मनी फाइभ–जी प्रविधिमा अग्रपंक्तिमा रहेका छन् । तथापि, सन् २०२५ को अन्त्यसम्ममा अन्य मुलुकहरुलाई पछि पार्दै चीन अग्रस्थानमा रहने अनुमान गरिएको छ ।

भारतमा, रिलाइन्स जीयो र भारती एअरटेलले फाइभ–जी शुरुवात गरेकोमा ग्लोबल स्पीडमा चौधौँ स्थानमा रहेको छ । जहाँ स्न २०२०÷२०३० लाई फाइभ–जी अवधिको रुपमा लिइएकोमा सन् २०२४ को अन्त्यसम्ममा लगभग २ अर्ब उपभोक्ताले फाइभ–जी सेवा उपभोग गरिरहेका छन् । पहुँच विस्तारका हिसाबले हाल अमेरिका, चीन, दक्षिण कोरिया, स्पेन, बेलायत, क्यानडा, अस्ट्रेलिया, साउदी अरब, इटली तथा फिनल्यान्ड फाइभ–जी प्रविधिमा अग्रपंक्तिमा रहेका छन् ।

मेरिकन कम्पनी एटी एन्ड टी, जेटीई, भर्जन, स्प्रिन्टजस्ता कम्पनीहरु पनि फाइभ–जी प्रविधिलाई आवश्यक पर्ने उपकरणहरु उत्पादन तथा बिक्रीमा जुटेका छन् । त्यस्तै सामसुङ, एप्पल, भिभो, साउमीलगायत मोबाइल ह्यान्डसेट निर्माता कम्पनीहरु पनि फाइभ–जी कम्प्याटेबल ह्यान्डसेट निर्माणमा लागिपरेका छन् । जहाँ सामसुङ अलक्स फाइभ–जी कम्प्याटेबल रहेको छ ।
नेपालमा फाइभ–जी प्रविधि सञ्चालन गर्ने सोच, चर्चा र बहस ५ वर्षअघिदेखि हुँदै आएको छ । जहाँ, २०७७ चैत्रमा दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई फाइभ–जी परीक्षणका लागि अनुमति प्रदान गरेको थियो ।

फाइभ–जी अनुमति कार्यविधिमा परीक्षण अवधिभर प्रयोगकर्तालाई निःशुल्क फाइभ–जी सेवा चलाउन दिनुपर्ने, परीक्षण अवधिपश्चात् प्राधिकरणले फ्रिक्वेन्सी फिर्ता लिन सक्ने, परीक्षण स्वीकृति अवधिसम्ममा उपकरणहरु आयात एवं जडान गरेको नदेखिए अनुमतिपत्रलाई निरन्तरता नदिइनेजस्ता प्रावधान उल्लेख थियो । फाइभ–जी परीक्षणका लागि दूरसञ्चार प्राधिकरणले एक वर्षसम्मका लागि २६ सय मेगाहर्ज ब्यान्डअन्तर्गत ६० मेगाहर्ज फ्रिक्वेन्सी निःशुल्क उपलब्ध गराएको थियो । सो अनुरुप २०७९ माघ २२ मा नेपाल टेलिकमले फाइभ–जी प्रविधिको परीक्षण गरेको बताइए तापनि परीक्षण कसरी गरियो, अनुभव कस्तो रह्यो, नतिजा के आयो भन्ने कुरा सर्वसाधरणले खासै भेउ पाएनन् ।

नवीनतम प्रविधिले ग्राहक चाहना, आवश्यकता वा बजार आफैँ निर्माण वा सृजना गर्दछ । बजार निर्माण भइसकेको छैन, फाइभ–जी लाभदायक हुन सक्दैन भन्नु व्यावसायिक जोखिम बहन गर्न डराउनु हो । यसर्थ, फाइभ–जी सेवा सञ्चालनका लागि सरकारले पूर्वाधार निर्माणसहित आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराउनुपर्दछ । छिमेकी भारत, चीन, मालदिप्सलगायतका छिमेकी मुलुकहरुमा यसअघि नै फाइभ–जीको व्यावसायिक शुरुवात भइसकेको सन्दर्भमा नेपालले यो सेवाको व्यावसायिक सञ्चालन गर्न खुट्टा कमाउनुहुँदैन ।