नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखियोस्


नेपालमा यति बेला मौसमी फ्लु अर्थात् हङकङ फ्लुको लहर चलेको छ । प्रायः हरेक घरमा ज्वरो, रुघा, खोकी, निमोनियाजस्ता समस्याले धेरैलाई सताएको छ । गतवर्षभन्दा यस वर्ष बिरामीको संख्या बढेको स्वास्थ्य संस्थाहरुले जनाएका छन् ।

अस्पतालहरुमा ओपीडीमा आउने अधिकांश बिरामी ज्वरो र खोकीका बढी रहेका छन् । सामान्यतया नेपालमा फ्लु भाइरस वर्षमा दुईपटक बढी सक्रिय हुने गर्दछ । पहिलो लहर जनवरी–मार्च महिनामा देखिने गर्दछ भने दोस्रो जुलाई–सेप्टेम्बर महिनामा हुन्छ । त्यसैले सरकारले हरेक सिजनमा अपनाउनुपर्ने सुरक्षाका बारेमा नागरिकलाई सचेत गराउने र आवश्यकताअनुसारको स्वास्थ्य संस्थामा उपचारका लागि सहज एवं सर्वसुलभ बनाउनेतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।

यति बेला अस्पतालमा देखिने बिरामीको भीड मौसमी फ्लुकै धेरै हुन्छन् । बिरामीले साधारणरुपमा अपनाउनुपर्ने सुरक्षासमेत नअपनाई खुल्लारुपमा सबैसँग घुलमिल भएको देखिन्छ । यसो गर्दा बिरामी त आफैँ बिरामी छ नै, अन्यलाई समेत मौसमी फ्लु सर्ने सम्भावना बढी देखिन्छ ।

कतिपय रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएका बिरामीलाई जटिल अवस्थामा पु¥याउन सक्छ । यस्ता बिरामीका लागि सुरक्षा नीति अपनाउने तरिकाका बारेमा बारम्बार स्थानीय, प्रादेशिक, संघीय सरकारले घचघच्याउनु पर्ने देखिन्छ । नागरिकको स्वास्थ्य नै राज्यको ठूलो सम्पत्ति हो । जुन देशमा स्वस्थ नागरिक हुन्छन् त्यो देश धनी र ऊर्जाशील हुन्छ । देश धनी बन्न नागरिक स्वस्थ हुनुपर्छ भन्ने मान्यतालाई सरकारले प्राथमिकतामा राख्नुपर्ने हो ।

सरकारलाई नागरिकको स्वास्थ्यभन्दा कुर्सी जोगाउने मनोरोगले सताएकै कारण नागरिकको स्वास्थ्यमा खासै चासो दिएको पाइन्न । जनस्वास्थ्यजस्तो गम्भीर विषयमा सरकारको ध्यान नपुग्नु दुःखद कुरा हो । विश्वव्यापीरुपमा विगतमा देखिएका फ्लुको इतिहासलाई केलाउँदा सिजनअनुसार ठूलो संख्यामा एकैपटक फैलने ज्वरो, रुघा, खोकीको भाइरसलाई ‘मौसमी फ्लु’ भन्ने गरिन्छ । फ्लु भाइरस ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी चार प्रकारका हुन्छन् ।

यसमा ‘ए’ र ‘बी’ भाइरसले विशेषतः स्वास्थ्यमा समस्या निम्त्याउने गरेको चिकित्सकहरुको ठम्याइछ । समयअनुसार परिवर्तितरुपमा ठूलो संख्यामा फैलने यी भाइरसलाई विश्व स्वास्थ्य संगठनले एउटा चरणमा पुगेपछि पान्डेमिक भाइरस भन्ने गर्दछ । यो भनेको सामान्य अवस्थामा परिणत भइसकेको र त्यस्तो खतरा छैन, सुरक्षा अपनाएर जोगिन सकिन्छ भन्ने हो । हुन त नेपाल एउटा यस्तो मुलुक हो जहाँ विश्वका जुनसुकै कुनाबाट पर्यटकहरु आवतजावत गर्न सक्छन् ।

उनीहरुमा कुनै स्वास्थ्य समस्या भएको छ भने नेपालमा छिट्टै फैलन सक्ने हुन्छ । यस्तो अवस्थामा नेपाल सरकारले सुरक्षा नाका, एयरपोर्टलगायतका निकायमा स्वास्थ्य परीक्षणलाई निरन्तरता दिनुपर्छ । रोग फैलिएर महामारीको रुप लिनुपूर्व नै सचेतना अपनाएको खण्डमा राज्यको ठूलो धनराशि, जनशक्ति जोगिन्छ भने नागरिक स्वस्थ हुँदा देशको आर्थिक अवस्था पनि सुरक्षित हुन्छ ।

त्यसैले लहडमा कार्यक्रम ल्याउने र बीचमा अलपत्र पार्ने काम नगरियोस् । स्वास्थ्य बिमा मौसमी फ्लुजस्तै भित्र्याइयो र बीचमा अलपत्र पार्न खोजिँदै छ । यस्तो ढलमले काम सरकारबाट हुनुहुन्न । सरकारले समयमै नीति योजना तर्जुमा गर्दा हरेक विषयलाई ध्यान देओस् ।

नेपालको भूबनोट र नागरिकको आर्थिक अवस्थालाई ध्यानमा राखी सरकारले स्वास्थ्य कार्यक्रम ल्याउनुपर्छ । जनस्वास्थ्य नागरिकको नैसर्गिक अधिकार हो भन्ने विषय संविधानमै सुनिश्चित गरिएको अवस्थामा संविधानमै सीमित नगरियोस् । व्यवहारमा यस्ता विषयलाई कसरी समेट्ने भन्नेतर्फ सरकार गम्भीर बनेर अघि बढोस् । सरकारले नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी कार्ययोजना बनाओस् ।