लोकप्रिय हास्य अभिनेता केदार घिमिरे (माग्ने बुढा) प्रमुख भूमिकामा रहने फिल्म माग्ने राजाको महाशिवरात्रीको अवसर पारेर बुधबार सूर्य विनायक मन्दिरमा पूजाआजा गरी काभ्रेको बल्थलीबाट सुटिङ शुरू गरिएको छ।
एउटा गरिबको धनी बन्ने महत्वकांक्षालाई समेटेर लेखिएको कथामाथि बन्ने फिल्म ऋषि लामिछानेले निर्देशन गर्दैछन्। आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरेले निर्माण गरिरहेको फिल्ममा केदार घिमिरे, वर्षा सिवाकोटी, विलशन विक्रम राई, शिशिर वाङदेल, शारदा गिरी, पुष्कर गुरुङलगायतका कलाकारले अभिनय गर्नेछन्। सामीप्य राज तिमल्सेनाको पटकथामा बन्ने फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ।
केदार घिमिरे र विलशन विक्रम राईले करिब एक दशकपछि फिल्ममा सँगै काम गर्न लागेका हुन्। विल्सन विक्रम राईलाई लोकप्रिय हास्य टेलिश्रृंखला मेरी बास्सैमा केदारले नै ल्याएका थिए भने उनको चरित्रलाई तक्मे बुढा नामाकरण पनि केदारले नै गरिदिएका थिए। यस कारण विल्सनविक्रम केदारलाई गुरू मान्ने गर्दछन्। ‘हामी लामो समयदेखि एकअर्कासँग काम गर्न उत्सुक थियौँ। अखण्ड प्रयासका बावजुद जुरेको थिएन’ केदार भन्छन्, ‘माग्ने राजामा भने हामी दुवैलाई अटाउने भूमिका निस्कियो। यो जुगलबन्दीलाई सार्थक बनाउने प्रयास गर्नेछौँ।’
माग्ने बुढासँगको सहकार्यलाई लिएर तक्मे बुढा पनि उत्तिकै उत्साहित छन्। ‘उहाँर मैले टेलिभिजनबाहेक देश विदेशमा थुप्रै स्टेज सो गरेका छौँ। सँगै काम गर्ने भएपछि मन त्यता पनि पुगिरहेको छ।
फिल्ममा भने त्यति धेरै सहकार्य गर्न पाइएको थिएन। यो फिल्मले त्यो चाहना पूरा गरिदिएको छ’ विल्शन भन्छन् ‘हामी दुई बुढाको जोडीले पहिलेझैँ दर्शक हसाउने पक्का छ।’ केदार र विल्सनले यसअघि रामकहानीमा स्क्रिन सेयर गरेका थिए।











प्रतिक्रिया