सर्वनाम थिएटरले राजधानीदेखि जिल्लासम्म इन्टरनेसनल पिपुल्स थिएटर फेस्टिभल आयोजना गर्ने भएको छ।
सर्वनाम थिएटर र पिपुल्स थियटर फेस्टिबल सोसाइटी हङकङको संयुुक्त आयोजनामा हुने फेस्टिबल शनिवारदेखि बुधबारसम्म राजाधानीमा हुनेछ भने त्यसपछि जिल्लामा पनि हुनेछ।
फेस्टिबलमा हङकङ, जापान, ताइवान, थाइल्याण्ड, बङ्गलादेश, भारतलगायत १३ देशका करिब ४०÷४५ जना कलाकारले नाटक प्रस्तुत गर्नेछन्। फेस्टिबलको अवधिभर दिउँसो अन्तर्राष्ट्रिय कलाकारले नेपाली कलाकारलाई वर्कसप गराउने र बेलुकी ५ बजेदेखि भने नाटक प्रदर्शन गरिने सर्वनाम थिएटरका संस्थापक तथा निर्देशक अशेष मल्लले जानकारी गराए।
मल्लका अनुसार सर्वनाम थिएटरले काठमाडौं पछि पहिलोपटक राजधानीबाहिर पूर्वाञ्चलको इटहरी र धनकुटामा पनि फेस्टिबल आयोजना गर्नेछ। इटहरीमा ३ दिनसम्म चल्ने फेस्टिबलमा दिउँसो त्यहाँका स्थानीय कलाकारलाई अन्तर्राष्ट्रिय कलाकारले प्रशिक्षण दिनेछन् भने बेलुकी नाटक प्रदर्शन गर्नेछन्।
फेस्टिबल इटहरीमा फागुन २३ देखि २५ गतेसम्म चल्नेछ। धनकुटामा भने फेस्टिबल २६ गते चल्नेछ। त्यँहाका स्थानीय कलाकार र अन्तर्राष्ट्रिय कलाकारले सडक नाटक प्रदर्शन गर्नेछन्।
नाटककार, साहित्यकार तथा रंगकर्मी अशेष मल्लले यस फेस्टिबलले नेपाली नाट्य क्षेत्रका साथै पर्यटनको क्षेत्रमा पनि टेवा पुग्ने बताए। ‘संयोगको कुरा के भने इटहरीमा प्रादेशिक पर्यटन वर्ष घोषणा गर्न लागिएको छ। त्यही सन्दर्भमा यो फेस्टिबल पनि जोडेका छौँ’ मल्लले नेपाल समाचारपत्रलाई जानकारी गराए।











प्रतिक्रिया