प्रिमियरमा मन पराइयो मायावी


आज बुधबार रिलिजमा आउने फिल्म मायावीले राजधानीमा सम्पन्न प्रिमियर शोमा प्रशंसा पाएको छ।

फिल्म हेरेपछि अभिनेता राजेश हमालले मायावीले सिंगो फिल्म क्षेत्रलाई नै चलायमान बनाउने प्रतिक्रिया दिएका छन्। ‘फिल्ममा हरेक कुरा छ। कथावस्तुले मन छुन्छ। गीतसंगीतको प्रयोग निकै उत्कृष्ट छ। ब्याकग्राउन्ड म्युजिक पनि उत्कृष्ट छ। कलाकारहरूले पनि निकै राम्रो काम गरेका छन्। यसैले, मायावीले बजार तताउनेमा विश्वस्त छु’ प्रिमियरमा हमालले भने ‘मैले अहिलेसम्म हेरेको लभ स्टोरीमा यो बेग्लै छ। यो कसरी सकिन्छ भन्ने पनि थाहै पाइन्न।’

फिल्म हेरेका अधिकांशले कथावस्तु र प्रस्तुतिले आँखा रसाएको बताए। लभ स्टोरीको एउटा मन छुने कथामा फिल्म बनेको फिल्मीकर्मीको भनाइ छ। दिवाकर भट्टराईको निर्देशन तथा धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा बनेको फिल्ममा प्रविन भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सह–निर्माता छन्।

फिल्ममा पल शाह, दीपिका प्रसाईं, सुशील सिटौला, करिश्मा श्रेष्ठ, समीम खान, राजाराम पौडेल, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, अंशु महर्जन, रवि डंगोल, रमा प्रसाईं, दीपेन्द्र सिंखडा, संगीता सिलवाललगायतले अभिनय गरेका छन्।