सुपुष्पाको चुनौती फेरि रेशम फिलिली


अडिसनबाट छानिएर रणवीर नामक फिल्मबाट डेब्यु गरेकी सुपुष्पा भट्ट लामो समयपछि आप्mनै होम प्रोडक्सनको फेरि रेशम फिलिलीबाट फिल्ममा फर्कंदैछिन्।

महाशिवरात्रीको अवसर पारेर भोलि बुधबार रिलिजमा आउन लागेको फिल्मबाट उनी उत्साहित छिन्। ‘फिल्ममा फिलिली गर्ल बन्दै छु भन्ने थाहा पाउँदा सबैभन्दा माथि पुगेजस्तो भयो। प्रोडक्सन हाउस राम्रो, निर्देशक मिहिनेती, स्क्रिप्ट राम्रो र बलियो भएकाले फिल्ममा काम गर्न पाउँदा खुशी भए’ रेशम फिलिलीको सिक्वेलस्वरुप बनेको फेरि रेशम फिलिलीमा पहिलो श्रृंखलाका लगभग सबै कलाकार छन्।

लिडिङ महिला पात्रमा भने सुपुष्पा नयाँ अनुहार बनेर आएकी छिन्, भन्छिन् ‘त्यो र योमा तुलना नै गर्न मिल्दैन। दुवै पात्र एक–अर्कासँग बिल्कुलै फरक छन्। मैले गरेको क्यारेक्टर बोल्ड छ, जो आफूले चाहेको कुरामात्र सोच्छे र आफूलाई मैं हूँ ठान्छे।’ फिल्ममा काम गर्दा सुपुष्पाको एउटै चाहना हुन्छ रे फिल्मको स्क्रिप्ट राम्रो होस्, राम्रो परिदृश्य दिइयोस्। संयोगवश फेरि रेशम फिलिली आप्mना लागि त्यस्तै फिल्म भइदिएको उनको भनाइ छ। ‘मलाई फिल्मको कुरा आउँदा स्क्रिप्ट राम्रो होस् भन्ने सधैँ लाग्छ। यो फिल्ममा चाहिँ स्क्रिप्टसँगै मेरो भूमिका पनि उत्तिकै राम्रो भएको आयो’ उनी भन्छिन् ‘मैले गरेको क्यारेक्टर च्यालेन्जिङ छ। चिन्ता पनि छ अनि राम्रो हुन्छ भन्ने पनि छ।

विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङदेल, रवीन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापालगायतले अभिनय गरेको फिल्म निरोज महर्जनको डेब्यु निर्देशनमा बनेको हो।

फिल्म आट्र्स र वि मोसन पिक्चर्सको ब्यानरमा रौनक विक्रम कँडेलद्वारा निर्मित फिल्ममा निर्देशक महर्जन र आकाश बरालको पटकथा, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत, नरेश किङ योगीको द्वन्द्व निर्देशन, सुसन प्रजापतीको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ। फिल्ममा सुरज बम ठकुरी कार्यकारी निर्माता र एनि थापा सह–निर्माता छन्।