मानवसेवा आश्रम र सामाजिक सुरक्षा

13.44k
Shares

हाम्रो समाजमा मानवसेवा भन्नाले मानवजातिका समग्र कल्याणका कार्यहरु पर्दछन् ।

यसमध्ये सडकमा अलपत्र परेका, बेसहारा अवस्थामा रहेका, बस्ने बास, खाने गाँस, लगाउने नाना र उपचार नपाएका सडक मानवहरुको स्थिति विकराल र दर्दनात्मक छ । यस स्थितिमा रहेका सडक मानवहरुको उचित व्यवस्थापन मानवसेवा आश्रम नामक संस्थाले गर्दै आएको छ । यस्ता मानवसेवा गर्ने कुरा तनखामा काम गर्नेले गर्न सक्तैनन् । जुन बेला सेवाको आवश्यक पर्दछ, त्यति बेला नै गरिने कर्म भएकोले यसमा ड्युटी आवर हेरिँदैन ।

यो नितान्त सेवाभाव र त्यागमा आधारित कार्य हो । यस्ता कार्य राज्यले भन्दा अन्तरहृदयबाटै सेवाभाव जागृत भएका मानवतावादीहरुले मात्र गर्न सक्छन् । सोही सेवाभावका साथ मानवसेवाको अनुपम उदाहरणीय कार्य गरिआएको हुनाले यही फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल सरकारले यस संस्थाका संस्थापक अध्यक्ष रामजी अधिकारीलाई ५ लाख राशिको प्रधानमन्त्री राष्ट्रिय युवा प्रतिभा पुरस्कारबाट पुरष्कृत गर्ने निर्णय भएको जानकारीमा आएको छ ।

यस निर्णयबाट मानवसेवाका क्षेत्रमा काम गर्ने सबैलाई उत्प्रेरणासहित खुशी र गौरव महसुस गराएको छ । किनकि यो निर्णय सही भएको र ठीक पात्रको छनोट भएको देखिन्छ । यसै विषयमा यस आलेखमा चर्चा गर्न खोजिएको छ । मिति २०६९ साल भाद्र १३ गते रामजी अधिकारीको संस्थापक नेतृत्वमा २०८२ सालसम्म सडक मानवमुक्त बनाउने र विश्वमा मानवीयताको देशको रुपमा नेपाललाई चिनाउने अभियानका साथ यो संस्थाको स्थापना भएको पाइन्छ । सो लक्ष्य नेपाल सरकारको घोषणामा पनि परिसकेको अवस्था छ ।

यस संस्थाको स्थापनाकालदेखि नै आमाबुबा जीवित देवता हुन् भन्ने चेतना समाजमा अभिवृद्धि गरी ज्येष्ठ नागरिकहरुप्रति सम्मान र आदरपूर्ण व्यवहार प्रदर्शन गर्न समाजलाई उत्पे्ररित गर्दै आएको छ । यस संस्थाले एक दशक वर्षभन्दा बढी समयदेखि सडकमा आश्रित बेसहारा मानिसको उद्धार, पुनस्र्थापना र परिवारमा पुनर्मिलनसहितका पवित्र मानवीय कार्य एकसाथ कुशल व्यवस्थापनका साथ सञ्चालन गर्दै आएको देखिन्छ, जुन कार्यको जति प्रशंसा गरे पनि अपुग नै हुन्छ । अधिकारीले आफ्नो २३ वर्षको उमेरदेखि मेची–महाकाली अभियानअन्तर्गत कुहिएर शरीरमा कीरा परी जीवनको अन्तिम श्वास फेरिरहेकी सहयोगापेक्षी बूढी आमा, मानसिक स्वास्थ्य ठीक नहुँदा सडक जीवन जिउन पुगेकी बलात्कृत महिलाबाट जन्मेका बालबालिकाको समेत उद्धार गर्दै आउनुभएको पाइन्छ ।

अहिले यो संस्थाको विस्तारको क्रममा ७ प्रदेशको १९ जिल्लामा २४ वटा सेवा केन्द्र विस्तार भइसकेको छ । जहाँ १ हजार ७ सयभन्दा बढी सहयोगापेक्षी आश्रित रहेका पाइन्छन् । यो मानवसेवाको कर्मलाई संघीय, प्रदेश र स्थानीय तिनै तहका सरकारहरुले अत्यन्त सहयोगी भावनाका साथ प्रशंसा, सहयोग, सहकार्य गर्दै आएका छन् । यसको शाखा सातै प्रदेशसहित दुर्गम भेग कर्णालीमा समेत सञ्चालन गर्ने योजनाका साथ काम भइरहेको बताइएको छ । हाल पोखराको हेम्जामा ६३ रोपनी जग्गामा विस्तृत योजनाका साथ सुविधा सम्पन्न मानवसेवा आश्रमको भवन निर्माण भइसकेको र मकवानपुर, चितवन र काठमाडौँमा केही महिनाभित्रमा सडक मानवमुक्त बनाइने योजनाका साथ काम भइरहेको पनि जानकरीमा आएको छ । यसरी सबै गतिविधि हेर्दा यस धर्तीमा विनाश र निरास फैलाउने खराब मान्छे मात्र नभएर सकारात्मक सोच र रचनात्मक जीवन जिउने मानवतावादीहरु पनि रहेछन् भन्ने महसुस हँन आउँछ ।


सो संस्थामार्फत मानवसेवाका क्षेत्रमा भए÷गरेका गतिविधिहरु भिडियोमा पनि देख्न, हेर्न सकिन्छ । सो देख्दा, हेर्दा जो–कोहीका आँखा रसाएर आउँछन् । यसरी भावुक हुनु स्वाभाविकै हुन्छ । किनकि नेपालीको मन कोमल हुने कारण अरुको रुवाइमा आफ्ना आँखा रसाउने नेपालीको स्वभाव नै हो । यो स्वभावले नै आजसम्म वसुधैव कुटुम्बकंलाई व्यवहारमा उतार्न सफल रहेका छाँै । एउटालाई दुःख पर्दा अर्कोले सहयोग गर्ने अमूल्य संस्काररुपी पुँजी हामीले सुरक्षित राख्न सफल भएका छौँ । दया नै परमोधर्म, पापाय परपीडनम् भन्ने आदर्शबाट अनुप्राणित हामीमा परोपकारी भाव व्यवहार रहनु कुनै अनौठो कुरा होइन । मनुष्य जुनीका चार पुरुषार्थहरु भनेका धर्म, अर्थ, काम, मोक्ष हुन् ।

यी चारै कुराको प्राप्ति धर्मको रक्षाबाट मात्र सम्भव हुने कुरा हाम्रा शाश्वत शास्त्रहरुले बताएको पाइन्छ । हाम्रा सम्पूर्ण शास्त्रहरुको सार भनेकै दीनदुःखीमाथि दया गर्नु र अरुको मन नरुवाउनु हो । त्यसैले हरेक सेवाप्रदायक संस्था र मानवले ‘काम छ र नै म छु अनि मलाई पत्याएर नै जिम्मेवारी दिइएको हुँदा सो जिम्मेवारी मैले पूरा गर्नुपर्छ’ भन्ने अन्तरबोध गर्न सक्नुपर्दछ । यो अन्तरबोध गर्न सक्नु नै मानवता हो ।

मानवतासँग नैतिकता अभिन्न रुपले गाँसिएर आएको हुन्छ । संस्था आफैँ बोल्ने, चल्ने होइन । संस्था सञ्चालन गर्ने मान्छेले हो । नैतिकता संस्थासँग होइन, व्यक्तिसँग हुने हो । यसको अभिव्यक्त मानव व्यवहारबाट हुने गर्दछ । त्यसैले मानवले मानवोचित व्यवहार गर्न चुक्नुहुँदैन । अत्यन्त सहयोगी भावनाका साथ प्रशंसा, सहयोग र सहकार्य गर्नुपर्छ । तर यसरी सेवाको काम गरिरहँदा आँखा चिम्लिएर केही नहेरी गर्न सक्नुपर्दछ भन्न खोजिएको पनि होइन । खाने, बस्ने, स्याहार–सम्भार गर्ने मानिस हुँदाहुँदै पनि मागिखाने बानी परेका व्यावसायिक ठगी गर्नेहरु पनि छन् ।

त्यस्ताप्रति सचेत हुनु पनि पर्छ । त्यस्ता मगन्तेहरुको पहिचान पनि गर्न सक्नुपर्दछ । त्यसै गरी पारिवारिक पुनर्मिलनको कार्यक्रम पनि सञ्चालन गर्नुपर्ने हाम्रा सामु चुनौतीको रुपमा रहेको छ । त्यति मात्र होइन, छिमेकी देश भारतबाट खुला सिमानाको दुरुपयोग गर्दै मगन्ते तथा सडकमानव नेपाल प्रवेश गरी सडकमानवको डम्पिङ साइट बनाउन सक्ने सम्भावनातर्फ पनि सचेत हुनु जरुरी देखिन्छ । हामीले हाम्रो नेपालको मात्र सडक मानवमुक्त गराउन सक्छौं । छिमेकी देशबाट आयातीत सडकमानवको व्यवस्थापन गर्न भने हामीसँग सामथ्र्य छैन ।

आफ्नै देश नेपालको हकमा पनि केही वर्ष मात्र यो अभियान जारी राख्ने हो । हाम्रो चाहना त वास्तवमा यस्ता संस्थाको आवश्यकता नै नपरोस्, सबै नेपालीको उचित व्यवस्थापन आ–आफ्नै घरमा हुन सकोस्, कसैले सडकमा आउनुपर्ने अवस्था नै सृजना नहोस् भन्ने हो । तर पनि हामीले सडकमा यस्ता विक्षिप्त मनोरोगीहरु, बेसहराहरु, बालबालिकाहरु अलपत्र परेर बसेका अवस्थामा देख्नुपरिरहेको छ ।

यस अवस्थाको अन्त्य नभएसम्म यस अभियानलाई अगाडि बढाउनुको विकल्प छैन ।
मानवसेवारुपी समाजकल्याणको कार्य गरी आफ्नो जीवन धन्य बनाउनु हामी सबै मानवजातिको कर्तव्य नै हो । हाम्रो समाजकल्याण ऐन २०४९ को दफा २ को (क) मा समाजकल्याण कार्यको परिभाषा गरिएको छ । जसअनुसार समाजमा कमजोर, असहाय र अशक्त व्यक्तिको लागि सहयोग पु¥याउन र समाजका पिछडिएका वर्गलाई आर्थिक एवं सामाजिकरुपमा सक्षम बनाउन गरिने सामाजिक कार्य सम्झनुपर्दछ भन्ने व्यवस्था गरी ऐ ऐनको दफा ३, ४ मा समाजकल्याणका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न निर्देशित गरिएको पाइन्छ ।

त्यसै गरी ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ मा ज्येष्ठ नागरिकहरुलाई विभिन्न तहमा विभाजन गरिएको छ । जसअनुसार ज्येष्ठ नागरिक, अशक्त ज्येष्ठ नागरिक, असहाय ज्येष्ठ नागरिक छन् । तिनीहरुको उचित व्यवस्थापनको लागि हेरचाह केन्द्र, दिवा सेवा केन्द्रको व्यवस्था गरिनुपर्ने ऐनले निर्देशित गरेको छ । सो ऐनको प्रस्तावनामा नै ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरुमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गरी निजहरुप्रति श्रद्धा आदर तथा सद्भावको अभिवृद्धि गर्ने सम्बन्धमा तत्काल व्यवस्था गर्नुपर्ने वाञ्छनीय भएकोले भनी ज्येष्ठ नागरिकहरुलाई महत्वपूर्ण स्थान दिइएको देखिन्छ ।

सोही ऐनको दफा ३–४ मा ज्येष्ठ नागरिकप्रति श्रद्धा गर्नुपर्ने र पालनपोषण, हेरचाहको दायित्व समाज र परिवारप्रति रहने प्रस्ट पारिएको छ । त्यसै गरी बालबालिकासम्बन्धी ऐन २०५६ को संशोधनमा बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक विकासको निमित्त समयानुकुूल ऐन बनाउन वाञ्छनीय भएको भन्ने प्रस्तावनामा व्यवस्था गरी दफा २ मा बालकलाई हेरचाह गर्ने अधिकारी र बेवारिसे बालकको परिभाषा गर्दै विभिन्न दफाहरुमा उनीहरुको हक–अधिकारको व्यवस्था गरिएको पाइन्छ ।

तसर्थ हामीले मानवताको हिसाबले मात्र नभएर लोककल्याणकारी राज्यको मर्मअनुसार संविधान, ऐेन बनाएर गरिएका प्रतिबद्धताहरु क्रमशः पूरा गर्दै जानु हामी सबैको कानुनी र नैतिक दायित्व हो । यसकारण हराएको मानवतालाई समाजमा पुनस्र्थापित गरौँ । कर्मले नै मानवलाई महान् बनाउँछ भन्ने मान्यतालाई आत्मसात् गरी मानवसेवामा समर्पित भएर आफ्नो साधना, सेवा र त्यागद्वारा आफू महान् बनौँ । मानवसेवा आश्रमलाई सबैले सहयोग गरौं ।
(लेखक प्रसाई अधिवक्ता हुनुहुन्छ ।)