सेना दिवस: मुलुकको विकासमा अहं भूमिका

1.97k
Shares

नेपाली सेना नेपालको सुरक्षा र अखण्डताको प्रतीक मात्र नभई यसले देशको विकासमा पनि अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । नेपाली सेनाले आफ्नो मुख्य दायित्व सुरक्षा व्यवस्था कायम गर्नुका साथै विभिन्न विकासात्मक गतिविधिहरूमा सहभागिता जनाएर राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको छ ।

वि.सं. १८१९ मा राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको क्रमसँगै ५ वटा कम्पनीहरू खडा गरी आधुनिक नेपाली सेनाको गठन प्रक्रिया शुरु भएको इतिहास पाइन्छ । विभिन्न ऐतिहासिक कालखण्डमा नेपाली सेनाले नेपाल र नेपालीको अस्तित्व पहिचान, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको रक्षाका लागि नेपाल–अंग्रेज युद्ध, नेपाल–भोट युद्ध, पहिलो र दोस्रो विश्व युद्धसमेत लडेको ऐतिहासिक तथ्य छ ।

नेपालको एकीकरण अभियान र त्यसपछि विभिन्न कालखण्डमा भएको संरचनात्मक परिवर्तन भई हालका दिनमा नेपाली सेना मूलतः बाह्य सुरक्षा, आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, विकास निर्माण, प्रकृति संरक्षण, मुलुकको महत्वपूर्ण संरचना तथा अति विशिष्ट व्यक्तिहरूको सुरक्षा एवं संयुक्त राष्ट्रसंघको आह्वानमा विभिन्न देशमा शान्ति स्थापनाजस्ता कार्यहरूमा संलग्न रहँदै आएको छ ।
पुल, सडक निर्माण र विकास:

नेपाली सेनाले देशभर विभिन्न सडक, पुल तथा अन्य पूर्वाधार निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको छ । विशेष गरी दुर्गम पहाडी क्षेत्रमा सडक निर्माण गर्ने कार्यमा सेनाको योगदान उल्लेखनीय रहेको छ । सेनाले निर्माण गरेका सडक र पुलहरूले ग्रामीण क्षेत्रको विकासमा ठूलो योगदान दिएका छन् । यस कार्यले ग्रामीण जनताको जीवनस्तरमा सुधार ल्याउन मद्दत गरेको छ ।

नेपालको समग्र विकासमा नेपाली सेनाले खेलेको भूमिका अतुलनीय छ । मुलुकको रक्षा मात्रै नभई पूर्वाधार विकास, प्राकृतिक प्रकोप व्यवस्थापन, स्वास्थ्य तथा शिक्षा प्रवद्र्धन, शान्ति स्थापनाका साथै वातावरण संरक्षणमा सेनाले पु¥याएको योगदान उच्च प्रशंसनीय छ । नेपाली सेनाको निरन्तर प्रयासले नेपाललाई समृद्ध तथा सुरक्षित राष्ट्र बनाउन महत्वपूर्ण सहयोग पु¥याइरहेको छ ।

नेपाली सेनाले मुलुकको विकासमा टेवा पु¥याउने हेतुले २०१६ सालमा पहिलोपटक कान्ति लोकपथको निर्माण शुरु गरेर राज्यले सुम्पेको जस्तोसुकै जिम्मेवारी पनि पूरा गर्न तयार छ भन्ने सन्देश दिएको देखिन्छ । मकवानपुरलाई जोड्ने ६५ किलोमिटर सडक निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेको देखिन्छ ।

नेपाली सेनाले त्यसपछि भक्तपुर–नगरकोट सडक, लामोसाँघु–बाह्रबिसे सडक, त्रिशूली–सोमदाङ, हिले–लेगुवाघाट, होलेरी–चुङवाङ, मुसिकोट–सल्ले, रायचौर–फरुलाचौर, कटारी–ओखलढुंगा, गोरखा–मनकामना सडक, द्रव्य शाह मार्ग, सातदोबाटो निवेल बालुवा सडक, सल्यान–मुसिकोट, बागलुङ–बेनी–जोमसोम, जोमसोङ–कागबेनी, कर्णाली राजमार्ग (सुर्खेत जुम्ला) सडक निर्माण गरेर सरकारलाई हस्तान्तरण गरिसकेको देखिन्छ ।

सेनाले मुलुकको सुरक्षासँगै सरकारले सुम्पेका यस्ता जिम्मेवारी पूरा गर्ने क्रममा काठबाडौंबाट तराई जोड्ने सबैभन्दा छोटो दूरीको काठमाडौं–तराई द्रुतमार्गको ट्रयाक खोलेर सरकारलाई हस्तान्तरण गरेपछि सरकारले उक्त आयोजनाको जिम्मा सेनालाई नै दिएर अहिले उक्त आयोजनाले तीव्रता लिएको छ । यसै गरी दुर्गम क्षेत्रलाई सुगम बनाउने क्रममा सेनाले महत्वपूर्ण भूमिका खेलेको छ । दुर्गम क्षेत्रमा सडकमार्गको पहुँच बढाउने उद्देश्यले सरकारले अघि सारेका आयोजनाहरुमा समेत सेनाले काम गरेको देखिन्छ ।

नाग्मा–गमगढी सडक, बेसीशहरदेखि मनाङको चामेसम्मको सडक, देविस्थल–कैनकाँडा, चौरझारी सडक, खाडीचौर–धुस्कुन, बाह्रबिसे सडक, जाजरकोट–डोल्पा सडक, मैलुङ–स्याफ्रुबेसी सडक, कालिगण्डकी करिडोर सडक, कर्णाली करिडोर सडकसमेत नेपाली सेनाको अगुवाइमा निर्माण भइरहेको छ । नेपाली सेनाले २०१६ सालबाट बाटो निर्माणको शुरुवात गरेदेखि २०७८ सालसम्म १ हजार ४ सय ११ किलोमिटर सडक निर्माण गरेर सरकारलाई हस्तान्तरण गरिसकेको छ । अहिले पनि राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई मधेस द्रुतमार्गको कामको जिम्मेवारी लिएको सेनाले २०८३ सालमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारीमा रहेको देखिन्छ ।

मुलुक निर्माणमा सेनाको जस्तै संलग्नता अन्य क्षेत्रको पनि हुने हो भने अहिलेको अवस्था सधैँ रहने थिएन । तर अहिलेसम्म त्यस्तो हुन नसक्नु मुलुकका लागि दुर्भाग्य नै मान्नुपर्दछ । नेपाली सेनाले पूर्वाधार मात्र होइन, आपतकालीन र प्राकृतिक प्रकोपको समयमा विपतको सामना गर्दै सर्वसाधारण नागरिकको आवागमनलाई सहज बनाउन गर्नुपर्ने कामलाई अघि बढाएको देखिन्छ ।
नेपाली सेनाले वन संरक्षण र पर्यावरणीय सुरक्षामा पनि योगदान पु¥याएको छ । सेनाले विभिन्न वन संरक्षण कार्यक्रमहरू सञ्चालन गरेर वनको कटान रोक्ने, वन्यजन्तु संरक्षण गर्ने र पर्यावरणीय सन्तुलन कायम गर्ने कार्यमा सहयोग पु¥याएको छ । यसले नेपालको प्राकृतिक सम्पदाको संरक्षणमा ठूलो योगदान दिएको छ ।

नेपाली सेनाले विकास निर्माण मात्र होइन, मुलुकभरका १२ वटा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष तथा सिकार आरक्षको सुरक्षाको जिम्मेवारी लिएर आफ्नो विशिष्ट योगदानलाई अक्षुण्ण राख्दै आएको छ । नेपाली सेनाले नेपालमा दुर्गम क्षेत्रमा सडक निर्माणका लागि गरेको योदान अमूल्य र अविस्मरणीय रहेको छ । नेपाली सेनाले सडक, पुललगायत यातायात पूर्वाधारको निर्माणमा पु¥याएको योगदानलाई मुक्तकण्ठले प्रशंसा गर्दा फरक नपर्ला ।

नेपालको दुर्गम पहाड र अप्ठ्यारो भूभाग भएकाले दुर्गम क्षेत्रहरूलाई शहरका केन्द्रहरूसँग जोड्न बलियो पूर्वाधार आवश्यक रहेको छ । त्यसलाई नेपाली सेनाले आफ्नो दक्ष जनशक्तिको प्रयोग गरेर प्रायः दुर्गम र यातायातको पहुँच नपुगेका क्षेत्रमा सडक निर्माण परियोजनामा नेपाली सेनाको संलग्नता रहेको छ । जहाँ भौगोलिक विकटताका कारण अन्य क्षेत्रका व्यक्ति वा संस्थाले गर्न नसकेको काम नेपाली सेनाले गर्दै आएको छ ।

२ सय ६२ वर्षअघि स्थापना भएको नेपाली सेनाले विभिन्न कालखण्डको आरोह–अवरोह पार गर्दै, आधुनिक युगमा प्रवेश गरी आफूलाई समय अनुकूल परिवर्तन गर्दै नेपाली परिवेशमा मात्र होइन विश्व परिवेशमा समेत नेपाली सेनाको गर्विलो इतिहांसलाई कायम राख्न सफल हुँदै आएको छ । विपद्को अत्यधिक जोखिममा रहेको नेपालमा विपद् व्यवस्थापनमा नेपाली सेनाको भूमिका प्रशंसनीय रहेको छ ।

इतिहासलाई फर्केर हेर्ने हो भने नेपालमा गएका विनाशकारी भूकम्प वि.सं. १९९०, २०४५ र २०७२ को समयमा होस् वा गत असोज १० देखि १३ गतेसम्मको बाढी–पहिरोले बु¥याएको विनाश होस् वा पटक–पटक तराईमा आएको बाढीको समयमा होस्, मुलुकको अन्य भागमा गएको बाढीपहिरोमा होस्, हरेक विपद्मा नेपाली सेनाको कार्यलाई आम नेपालीले मुक्तकण्ठले प्रशंसा गरेको पाइन्छ । उद्धार एवम् राहत वितरणमा गरेको कामको प्रशंसा र सराहना स्वदेश तथा विदेश सबैतिरबाट हुने गरेको पाइन्छ ।

नेपाली सेनाले संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न मुलुकमा शान्ति मिसनमा सहभागिता जनाएर अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको गौरव बढाएको छ । यसले नेपालको छवि विश्वमा उज्ज्वल बनाउन मद्दत गरेको छ । यसबाहेक, अन्तर्राष्ट्रिय शान्ति मिसनमा सहभागी हुने क्रममा नेपाली सेनाका जवानहरूले प्राप्त गरेको अनुभव र ज्ञानले देशभित्र पनि सुरक्षा र विकासका क्षेत्रमा सकारात्मक योगदान दिएको छ । विगत ६ दशकको इतिहासलाई हेर्ने हो भने नेपाली सेनाले विश्वका द्वन्द्वग्रस्त राष्ट्रहरुमा शान्ति स्थापनाका लागि गरेको योगदान उल्लेखनीय छ ।

तर नेपालले विश्व शान्तिका लागि संयुक्त राष्ट्रसंघले अघि बढाएको शान्ति मिसनमा गुणात्मक योगदान दिएको भए पनि नेपालले राष्ट्रसंघीय शान्ति मिसनमा नेतृत्वदायी भूमिकामा भने पछि पर्दै आएकाले सरकारले उच्च सैनिक अधिकारीलाई राष्ट्र संघको मिसनहरुमा नेतृत्वदायी भूमिकामा पु¥याउन पहल गर्नुपर्ने देखिन्छ । नेपालको सरकारी तथा राजनीतिक नेतृत्वले अहिलेसम्म त्यस्तो पहलकदमी लिएको पाइँदैन । त्यसका लागि कूटनीतिक पहल गर्नुपर्ने देखिन्छ ।

नेपाली सेनाले सैनिक कूटनीतिका माध्यमबाट मुलुकमाथि आइपर्ने सुरक्षा चुनौतीको सामना गर्न आफ्नो कूटनीतिक अभ्यासलाई अघि बढाएको देखिन्छ । विभिन्न देशका सेनाप्रमुखलाई नेपाल भ्रमणमा बोलाउने र नेपाली सेनाका प्रमुख विभिन्न देशको भ्रमणमा जाने अनि सैन्य कूटनीतिको माध्यमबाट मुलुकलाई समेत थप मजबुत बनाउन सेनाले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ । आज बुधबार महाशिवरात्रि पर्वसँगै नेपाली सेनाको २ सय ६२ स्थापना दिवस मनाउन लागिएको छ । यस अवसरमा नेपाली सेनाका सकल दर्जालाई हार्दिक शुभकामना !