लाज शरणम्लाई सेन्सर बोर्डले दियो प्रदर्शन अनुमति


पूर्वमन्त्री अफताव आलमले आफूस“ग मिल्दोजुल्दो चरित्र भएको जनाउँदै रिट दायर गरेपछि रिलिज अलमलमा परेको फिल्म लाज शरणम्लाई सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएको छ।


बोर्डले फिल्मलाई युनिभर्सल प्रमाणपत्रका साथ प्रदर्शन अनुमति दिएको हो। यसस“गस“गै फिल्मलाई तोकिएकै मिति पर्सि महाशिवरात्रीका दिन रिलिज गर्ने बाटो खुलेको छ। पूर्वमन्त्री अफताव आलमको रिटपश्चात् पाटन उच्च अदालतले लाज शरणम्लाई सेन्सर पास नभएसम्मका लागि प्रचार प्रसार गर्न रोक लगाएको थियो।


फिल्मले देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ। देशकै ठूलो मल्टिप्लेक्स क्यूएफएक्स चेनमा ६५ शो पाएको छ। क्यूएफएक्सका काठमाडौं उपत्यकाका आउटलेटमा २९ र काठमाडौंबाहिर ३६ शो पाएको छ। विग मुभिजले ५, एफक्यूब सिनेमाजले ४, बीएसआरले ४ शो दिएका छन्।


फिल्मका प्रमुख कलाकारमध्येका एक अर्जुन घिमिरे (पाँडे) ले आफूहरूको चार वर्षको मिहिनेतपछि फिल्म बनेको बताएका छन्। कथा लेख्न थालेको करिब चार वर्षपछि लाज शरणम् बनेको खुलाउँदै उनले फिल्मले कर्णालीका आम नागरिकको कथा भन्ने दाबी गरे। ‘डार्क ह्युमर कमेडी फर्मममा कसरी हसाउँदा हसाउँदै गम्भीर कथा भन्न सकिन्छ भनेर हामीले सिनेमाको यो कथा भनेका छौँ।

हामीले हाम्रो करियरको यो लामो समय टेलिसिरियलमार्फत दर्शकलाई हसायौँ। अब फिल्ममार्फत हसाउने प्रयास गर्दैछौँ’ घिमिरे भन्छन्। लोकप्रिय हास्य टेलिश्रृंखला सक्किगोनिका अरू कलाकार लाज शरणम्मा फरकफरक लुक्स र चरित्रमा देखिए पनि अर्जुन भने पाँडेकै चरित्रमा देखिँदैछन्। दर्शकले आफूलाई यही क्यारेक्टरमा मन पराइरहेकाले फिल्ममा पनि सोही भूमिकामा देखिएको अर्जुन प्रष्टयाउँछन्।

अर्जुन फिल्मका कार्यकारी निर्माता पनि हुन्। कुमार कट्टेल (जिग्री) फिल्मका लेखक तथा निर्देशक हुन्। सिताराम कट्टेल (धुर्मुस), मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अपर्ण थापा, रेणू योगी, कमलमणि नेपाल, माला लिम्बू, अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी) लगायतका कलाकारले अभिनय गरेको फिल्म जेपिटी क्रियसनको ब्यानरमा नवीन श्रेष्ठले निर्माण गरेका हुन्। फिल्ममा राम नरेश शाह र सृजना खड्का सह–निर्माता रहेका छन्।