साढे ८ किलो सालकको खपटासहित गोकर्णेश्वरबाट चार जना पक्राउ


काठमाडौँ। 

 वन्यजन्तु सालकको खपटा (आखेटोपहार)को ओसारपसार तथा बेचबिखनमा संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका-९ घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ४८ वर्षीय कुवेरबहादुर स्याङताङ, नुवाकोट बेलकोटगढी नगरपालिका-५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने ४० वर्षीय सन्तबहादुर गुरुङ रहेका छन्।

यस्तै, ओखलढुंगा मोलुङ गाउँपालिका-६ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने २८ वर्षीय राजु विश्वकर्मा र सुनसरी धरान उपमहनगरपालिका-१५ घर भई हाल काठमाडौं-२६ नयाँ बसपार्क बस्ने ४२ वर्षीय मदन राई रहेका छन्।

उनीहरूलाई शनिवार काठमाडौँ गोकर्णेश्वर नगरपालिका-५ नचामुण्डा चोकबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूको साथबाट साढे ८ किलो सालकको खपटा बरामद भएको छ।

उनीहरूले कहाँबाट उक्त खपटा संकलन गरे भन्नेबारे डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंले अनुसन्धान गरिरहेको छ।