नेपालका विद्यालयहरूमा विगत केही वर्षदेखि विद्यार्थीको सङ्ख्या घट्दो क्रममा छ । विद्यार्थीको घट्दो प्रवित्तिका बारेमा अध्ययन गर्नुपर्ने आवश्यकता छ ।
कुन स्तरका विद्यालयहरूमा के–कति प्रतिशतले विद्यार्थी घट्दै गएका छन् ? त्यसको आधिकारिक तथ्याङ्क उपलब्ध छैन, त्यसैले प्रस्तुत गर्न सक्ने अवस्था छैन । तर यथार्थ र सत्य कुरा यो हो कि सबैतिर, सबै प्रकारका, तहका विद्यालयहरूमा विद्यार्थी भर्ना सङ्ख्या घट्नुका साथै ड्रपआउट सङ्ख्या बढिराखेको स्थिति छ ।
प्राविधिक विषयहरूको अध्ययन अध्यापन गराउने महाविद्यालयहरूदेखि विद्यालयहरूमा समेत विद्यार्थीको चाप घटिराखेको छ । यो समस्या हाइस्कुल लेभलमा र महाविद्यालय एवं विश्वविद्यालय स्तरमा प्रत्यक्ष अनुभूति गर्न सकिन्छ । यसका कारणहरू पनि भिन्न–भिन्न छन् ।
कतिपय कारणहरु यी सबै तहका र प्रकृतिका विद्यालयहरूमा समानसमेत देखिएका छन् । नेपालमा हालसम्मका यी सबै तहका विद्यालयहरूका प्रकृति र तह हेर्दा विभिन्न वर्गका विद्यार्थीहरू अध्ययन गर्नको लागि आफ्नो प्राथमिकतामा परेको विद्यालयसम्म आइपुगेका छन् । एउटा आर्थिक दृष्टिकोणबाट उच्च सम्भ्रान्त परिवार छ । उसलाई खर्च गर्नुको कुनै कठिनाइ छैन । अत्यन्त ज्यादा सुविधा प्रदान गर्न सक्ने विद्यालय र प्रचारप्रसारको माध्यमबाट आकर्षण गर्न सक्ने विद्यालयमा आफ्ना बालबच्चा पु¥याउने गरेका छन् ।
उनीहरुलाई थोरै मात्र शिक्षाको गुणस्तरको बारेमा चिन्ता भएको पाइन्छ । यस्ता अभिभावकमा प्रदर्शनको प्रभाव अत्यन्त ज्यादा परेको छ । यस वर्गमा उच्च–मध्यम वर्गीय परिवारसमेत पर्दछन् । दोस्रो हो मध्यमवर्गीय परिवार, यस समूहका अभिभावकहरूलाई आफ्ना बालबच्चा कुन विद्यालयमा राख्दा गुणस्तरयुक्त शिक्षाको अवसर प्राप्त गर्दछन् ? उक्त विद्यालयमा शुल्कको दर के कति छ ? के कस्ता किसिमका सुविधा उपलब्ध भएका छन् ? आफ्ना बालबच्चाको सर्वपक्षीय प्रगति त्यस विद्यालयमा राख्दा सम्भव हुन्छ हुँदैन ? यसबारेमा विशेष चासो व्यक्त गरेको देखिन्छ ।
अर्को वर्ग छ, ज्याला मजदुरी र काम गरेर केही रकम कमाउने । यस्ता वर्गले आफ्ना बालबच्चालाई सरकारी स्कुलमा राख्छन् । तर बोर्डिङ विद्यालयहरूमा भर्ना गर्ने तीव्र इच्छा हुन्छ । उसको आर्थिक अवस्थाका कारणले सम्भव भइराखेको हुँदैन । त्यसैले अत्यन्त कम शुल्क लिने न्यून स्तरका बोर्डिङ स्कुलमा उसले कठिनाइका साथ आफ्ना सन्ततिलाई भर्ना गर्दछ । यी सबै प्रकारका विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएकोचाहिँ यथार्थता हो ।
अब यसरी विद्यालयहरूमा विद्यार्थी सङ्ख्या घट्दै जाँदा विशेष गरी न्यून शुल्क लिने गरी आएका विद्यालयहरू बन्द हुने अवस्थामा पुगिराखेका छन् । यसका कारणको बारेमा विश्लेषण गर्नु उपयुक्त हुनेछ । सर्वप्रथम नेपालमा जनसङ्ख्या घट्दो क्रममा छ । यसका केही कारणहरु छन् । पहिलो हो, परिवारको क्रयशक्ति अथवा आर्थिक अवस्था कमजोर बन्दै गएका कारण एक जोडीले एक सन्तान मात्रमा चित्त बुझाउने गरेका छन् ।
सम्भ्रान्त परिवारमा पनि छिट्टै शारीरिक कमजोरीको महसुस हुने, वृद्ध भएको अनुभूति हुने भएकाले पनि धेरै बच्चा एकभन्दा बढीलाई जन्म नदिने प्रवृत्ति बढिराखेको छ । यसले गर्दा लामो समयमा नेपालको जनसङ्ख्या क्रमशः घट्दै जाने निश्चित छ । यसैको प्रभाव पनि पर्ने गरेको छ । नेपालमा संघीय शासन प्रणाली लागू भएपश्चात् पनि यसका मौलिक विशेषताहरू जस्तै– सन्तुलित विकासको सन्दर्भ अत्यन्त कमजोर बन्दै गएको छ । यही कारणले गर्दा जनसङ्ख्याको चाप विकसित शहरहरूमा मात्र बढिराखेको स्थिति छ ।
परिणामस्वरूप गाउँघरमा प्रायः सरकारी विद्यालयहरू मात्र हुने, केही भएका छिटपुट बोर्डिङ विद्यालयहरूमा समेत विद्यार्थी घटिराखेका छन् । दोस्रो कारण हो, यस्ता नेपालका विद्यालयहरूबाट ग्राजुएट भएका विद्यार्थीले कुनै पनि प्रकारको रोजगारीका अवसर देशभित्र पाउन सक्ने अवस्था छैन । नेपालका महाविद्यालयहरूबाट उच्च शिक्षा हासिल गरेकाहरुले विदेशमा गएर पनि शिक्षाको स्तरअनुसारको पेसागत रोजगारी पाउन सक्दैनन् । यो अवस्थामा विद्यार्थी नेपालका विद्यालयहरूमा गरेको लगानीलाई अनुत्पादक सोचिराखेका छन् ।
जब यो मनोविज्ञान अभिभावक र विद्यार्थीमा हुन्छ । त्यस अवस्थामा विद्यालयमा विद्यार्थी पठाउने आकर्षण स्वभावतः घट्ने नै भयो । नेपालका गुणस्तरीय जनशक्ति विदेशी भूमिमा आफ्नो गुजारा गर्न सक्ने किसिमले रोजगारीका अवसर प्राप्त गरिराखेका छन् । नेपालमा गुणस्तरयुक्त जनशक्तिको पनि अपेक्षित प्रकारले कदर हुन सकेको छैन । यसै कारणले गर्दा पनि राम्रा परिवारका गुणस्तरयुक्त विद्यार्थी उच्च शिक्षा हासिल गर्न अन्य देशमा पलायन हुने गरेका छन् । कमजोर आर्थिक अवस्थाका कारण पनि नेपाली नागरिकले आफ्नो सन्ततिलाई देशभित्र शिक्षा प्रदान गर्न सकेका छैनन् ।
त्यसै कारणले गर्दा उनीहरु विदेशी भूमिमा गई सानोतिनो काम गरेर शिक्षा आर्जनका लागि खर्च जुटाउन सक्ने आफ्ना सन्ततिहरु देख्दा गौरव मान्छन् । यस्ता विद्यार्थीले विदेशी भूमिमा लामो समय काम गर्दछन् । केही रकम आर्जन गर्दछन् । त्यही रकमबाट बाँच्ने र शिक्षा आर्जन गर्ने काम गर्दछन् । परिणामस्वरुप आफ्नो शिक्षाको गुणस्तर पनि कमजोर हुन्छ, आर्थिक अवस्था पनि उल्लेखनीय सुधार गर्न सक्दैन, आफ्नो भूमिमा सेवा प्रदान गर्न पनि सक्दैनन् ।
नेपाल सरकारले उपलब्ध गराएका पाठ्यक्रम र पाठ्यपुस्तकहरू पनि अहिलेको परिवर्तित सन्दर्भलाई खासै सम्बोधन गर्न सक्ने प्रकारले डिजाइन भएका हुँदैनन् । यही कारण हो विश्वबजारमा हाम्रा विद्यार्थीले अवसर प्राप्त गर्न सक्दैनन् । उदाहरणका लागि अहिले कृत्रिम बौद्धिकता, सूचना प्रविधिजस्ता विषयहरूलाई प्राथमिकतामा राखेर गुणस्तरयुक्त शिक्षा हामीले दिन सकेका छैनौँ । यही कारण हो विश्वबजारमा हाम्रा उत्पादनहरु खपत हुँदैनन् ।
नेपालमा लामो समयदेखि राजनीतिक अस्थिरताले जरा गाडेको छ । यही अस्थिरताका कारणसमेतले गर्दा भ्रष्टाचार व्याप्त भएको छ । देशको स्रोत–साधन सीमित व्यक्तिहरूमा केन्द्रित हुन पुगेको छ । शिक्षाजस्तो महत्वपूर्ण क्षेत्रमा राज्यले लगानी गर्न सकेको छैन । यस अवस्थामा देशको भविष्य नै सुनिश्चित देख्न नसकेका सचेत नागरिकहरू आफ्ना सन्ततिलाई कलिलै उमेरमा विदेश पलायन गराई आफ्नो आँखाबाट ओझेलमा पारेर उराठ लाग्दो जीवन व्यतीत गर्न बाध्य हुन्छन् ।
सामान्यतया अन्य तहका विद्यार्थीहरू अथवा विशेष गरी हाइस्कुल स्तरमा कक्षा १२ सम्म अध्ययन गर्ने केही सङ्ख्याका विद्यार्थी नेपालमा रहेका छन् । जब कक्षा १२ उत्तीर्ण हुन्छन् तत्पश्चात् उनीहरूको गन्तव्य अपवादबाहेकका विद्यार्थीको देशबाहिर अध्ययन गर्ने बन्दछ ।
विशेष गरी पश्चिमा देशहरू संयुक्त राज्य अमेरिका, क्यानडा, युरोप, जर्मनी, संयुक्त अधिराज्य, अस्ट्रेलिया, जापान आदि उच्च शिक्षा आर्जन गर्ने गन्तव्य मुलुकहरु हुन् । तर मलेसिया, दक्षिण कोरिया, भारत, खाडी मुलुकहरू इजरायल र यहाँसम्म कि पूर्वी युरोपका देशहरूसमेत नेपाली युवाहरुले रोजगारीका लागि आफ्नो गन्तव्य निर्धारण गरी आएको अवस्था छ । यसरी उच्च शिक्षा अध्ययनकै लागि विदेश पलायन हुनुको कारण पनि उल्लेख भएजस्तै छ ।
जस्तै– शिक्षाको गुणस्तर यी देशहरुमा राम्रो हुने र शिक्षा आर्जन गरिसकेपश्चात् आफ्नो योग्यताअनुसारको काम पाउने सम्भावनासमेत प्रबल रहन्छ । विश्वबजारमा यस्ता गुणस्तरयुक्त शिक्षा प्राप्त गरेकाहरूले सहजै रोजगारीका अवसर प्राप्त गर्दछन् । नेपालका महाविद्यालय, विश्वविद्यालयहरूले प्रदान गरेका पाठ्यक्रमहरूभन्दा विदेशी विश्वविद्यालयहरूले पठनपाठनका लागि निर्धारण गरेका पाठ्यक्रमहरू अत्यन्त बृहत् प्रकारका छन् ।
विद्यार्थीहरूको आ–आफ्नो चाहना र क्षमताअनुसारका विषयहरु सहजै उपलब्ध हुने गर्दछन् र ती आफ्ना इच्छाअनुसारका विषयहरू अध्ययन गरेर आफ्नो वृत्ति विकासको शृङ्खला अघि बढाउने चाहना उनीहरूमा तीव्र हुन्छ । नयाँ–नयाँ विषयहरूको खोज र अनुसन्धान गर्ने अवसरसमेत प्राप्त गर्दछन् ।
यस प्रकारका शिक्षा आर्जन गर्न युवाहरू आकर्षित हुने नै भए । यस्ता विश्वबजारमा आफ्नो विश्वसनीयता प्रदर्शन गरिसकेका विश्वविद्यालयहरूले प्रदान गरेको शैक्षिक उपाधिधारीहरूले सहजै त्यसै देशहरूमा र अन्य देशहरुमा समेत रोजगारीका अवसर प्राप्त गर्दछन् । त्यस्ता विश्वविद्यालयहरूबाट शिक्षा आर्जन गर्न पाउँदा युवाहरू गौरव मान्छन् । अध्ययन कार्यको अन्त्य हुँदै गर्दा विभिन्न प्रकारका रोजगारी प्रदान गर्ने संस्थाहरुले उनीहरूलाई छनोट गरिसकेका हुन्छन् ।
यसबाट बजारमा रोजगारीका लागि लामो समय खोजी गरिरहनुपर्ने अवस्थासमेत रहँदैन । अध्ययन–अनुसन्धान गर्न आवश्यक पर्ने कोष पनि उपयुक्त विद्यार्थीले प्राप्त गर्दछन् । नयाँ–नयाँ विषयमा ज्ञान हासिल गर्ने पर्याप्त अवसर यस्ता अत्यन्त राम्रा आधारशिलाहरु भएका सुविधासम्पन्न विश्वविद्यालयहरूमा पाइने गर्दछ । आफ्नो बौद्धिक क्षमताको विकास गर्ने पर्याप्त अवसर राम्रा विद्यार्थीले यस्ता विदेशी भूमिका विश्वविद्यालयहरूमा प्राप्त गर्दछन् । जीवन निर्वाह गर्ने नयाँ तरिकाहरू विभिन्न भाषा, भेषभूषा, संस्कृति, सभ्यताको जानकारी प्राप्त गर्दछन् ।
आफ्नो ज्ञानको स्तरलाई अत्यन्त बृहत् बनाउन सक्छन् । बौद्धिक प्रतिस्पर्धा गर्ने क्षमता वृद्धि गर्न सक्छन् । विदेशी भूमिमा अध्ययन गरिरहेका विद्यार्थीले यदि उनीहरुले त्यही देशमा स्थायी बसोबास गर्न चाहेमा सो समेत प्राप्त गर्ने अवस्था बन्दछ । किनकि गुणस्तरयुक्त जनशक्ति सबै देशलाई आवश्यक पर्दछ । यस अर्थमा राम्रा विद्यार्थीलाई राम्रा विश्वविद्यालयहरूले आफ्नै विश्वविद्यालयमा राख्छन् । रोजगारीका अवसर प्रदान गर्दछन् ।
अनुसन्धान कार्यमा संलग्न गराउँछन् । राष्ट्रले उनीहरुलाई नागरिकता प्रदान गर्दछ । यी सबै अवसरहरू नेपालमा उपलब्ध छैनन्, हुँदैनन् । त्यसैले १२ को परीक्षामा सामेल भएका अपवादबाहेकका विद्यार्थी सबै विभिन्न देशमा उच्च शिक्षा आर्जनका लागि प्रवेश आज्ञाको माग गरेर प्रतीक्षामा बस्छन् । नेपालका नीति निर्माताहरु आफ्नै देशभित्र यी सबै प्रकारका सुविधा उपलब्ध गराई आफ्ना होनहार युवाहरूलाई देशैभित्र सेवा गर्न पाउने अवसर प्रदान गरी देश लाभान्वित हुन सक्ने अवस्था बनाउन चुकेका छन् । उनीहरूको प्राथमिकतामा यो विषय छैन । तर युवाहरु विदेश पलायन गराई आफ्नो कुशासनलाई निरन्तरता दिने विषय नेपालका शासकहरु, राजनीतिज्ञहरू र नीति निर्माताहरुको प्राथमिकतामा परेको छ ।
यस अवस्थाबाट नेपालमा विद्यार्थीको सङ्ख्या घट्दै जाँदा धेरै चुनौतीको सामना गर्नुपर्ने हुन्छ । सबैभन्दा पहिला शिक्षण संस्थाहरुमा वित्तीय संकट आइपर्ने हुन्छ । रोजगारीका अवसरहरु घट्दै जान्छन् भने शिक्षक–शिक्षिका र व्यवस्थापकीय जनशक्तिको अभाव देखिँदै जान्छ । राष्ट्रका लागि आवश्यक जनशक्तिको उत्पादन हुन सक्दैन । राम्रा जनशक्ति विदेशी भूमिमा सेवारत रहन्छन् । विद्यालयका आधारशिलाहरू विकास गर्न स्रोत–साधनको अपर्याप्तताको सामना गर्नुपर्ने हुन्छ ।
शिक्षाक्षेत्रमा लगानी गर्नेहरू पनि पलायन हुँदै जान्छन् । त्यसैले सम्बन्धित निकायहरु विशेष गम्भीर हुनु जरुरी छ । सरकार, शिक्षण संस्थाहरू, समुदायहरू पनि यो समस्याको समाधानका लागि अग्रसर हुनुपर्दछ । समस्या समाधानका लागि योजना र ती योजनाहरूको सफल कार्यान्वयनको लागि सफल रणनीतिको तर्जुमा हुनु जरुरी छ । शिक्षण संस्थाहरूले गुणस्तरीय एजुकेसन प्रदान गर्नका लागि उद्योगीलगायतका सम्बन्धित सबै पक्षसँग सहकार्य गर्दै सम्बन्धित विज्ञहरूको राय–परामर्शका आधारमा यो संकटलाई कम गर्ने उपायहरूको बारेमा संयुक्त प्रयास जरुरी देखिएको छ ।
सरकारले शिक्षाको क्षेत्रमा प्रशस्त लगानी गर्न सक्नुपर्दछ । यसका लागि द्विपक्षीय र बहुपक्षीय अनुदानका लागि पहलकदमी हुनु जरुरी छ । उद्यमीहरूसँग पर्याप्त छलफल गरी रोजगार प्रदान गर्ने निकायलाई आवश्यक पर्ने प्रकारको जनशक्ति उत्पादन गरी विद्यार्थीहरूमा देखिएको विश्वासको संकटको अवस्थालाई चिर्न सक्नुपर्दछ । शिक्षा क्षेत्रमा लगानी गर्न आकर्षित गर्ने प्रकारका नीतिहरू तय गरी लगानीकर्तामैत्री वातावरण तयार पार्नु जरुरी छ ।
विशेष गरी प्राविधिक शिक्षामा विशेष जोड दिनुपर्दछ र ती उत्पादित जनशक्तिलाई विदेश पलायन हुनबाट रोकी देशभित्रै राख्ने रणनीति अख्तियार हुनु जरुरी छ । नेपालका शिक्षण संस्थाहरू केही अत्यन्त व्यापारी प्रवृत्तिमा अघि बढिराखेका छन् । उनीहरूलाई नियन्त्रण गर्ने सोचसम्म पनि सरकारले राख्न सकेको छैन । सरकारमा रहनेहरु नै शैक्षिक माफियाहरूसँग मिलिभगत गरी व्यक्तिगत स्वार्थ पूर्ति गर्न लालायित देखिन्छन् ।
यसमा सुधार अत्यावश्यक छ । महँगो शिक्षा बोर्डिङ स्कुलहरुमा देखिँदै छ । त्यसैले सर्वसाधारण नेपालीले त्यस्ता विद्यालयहरूमा सहजै अध्ययन गर्न पाउने अवसर मिलाउने जिम्मेवारी र जवाफदेहिता सरकारले लिनुपर्दछ । किनकि विकसित देशहरुमा शिक्षा निःशुल्क गरिएको स्थिति छ । निजी क्षेत्रबाट सञ्चालित विद्यालयभन्दा सरकारी विद्यालयमा विद्यार्थीको चाप बढी भएको देखिन्छ ।
यो अवस्था नेपालमा पनि कसरी सिर्जना गर्न सकिन्छ ? यो विशेष गरी सरकारकै जिम्मेवारीको विषय हो । यी व्यवस्थाहरू गर्न सकेको खण्डमा नेपालका शिक्षण संस्थाहरूले आफ्नो विश्वसनीय बढाउनेछन् र उल्लेख भएअनुसारका सबै प्रकारका समस्याको सही समाधान हुन सक्छ । त्यसपछि युवाहरू आफ्नै देशमा बस्न रुचाउनेछन् । अन्त्यमा राष्ट्र नै लाभान्वित हुने स्थिति बन्दछ ।
प्रतिक्रिया