विद्यार्थीको सबै माग पूरा भएको छ – राजदूत शर्मा
-ओडिसा सरकारद्वारा छानबिन समिति गठन
-कलेजका तीन अधिकारी र दुई सुरक्षाकर्मी निलम्बित
-फर्कने विद्यार्थीको खर्च कलेजले बेहोर्ने
-ओडिसा प्रहरीद्वारा हटलाइन सार्वजनिक
काठमाडौं।
भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी २० वर्षीया प्रकृति लम्सालको छात्रावासमा शंकास्पद मृत्युपछि शुरू भएको क्याम्पस प्रशासन र नेपाली विद्यार्थीबीचको समस्या लगभग समाधान भइसकेको छ । यस प्रकरणका मुख्य आरोपी पनि न्यायिक हिरासतमा पुगिसकेको छ । ओडिसा प्रहरीले पीडितलाई पूर्ण न्याय दिलाउने बताइरहेको छ । यद्यपि, नेपाली विद्यार्थीहरू भने आश्वस्त हुन सकेका छैनन् । यो विषयले नेपालको संसद्मा मात्र होइन, ओडिसा राज्यको विधानसभामा पनि प्रवेश पाएको छ । त्यहाँका प्रतिपक्षी दलका सांसदहरूले सरकारले राज्यमा शान्ति सुरक्षा कायम गर्न नसकेको र यो घटनाप्रति अन्तर्राष्ट्रिय रूपमा आलोचना भइरहेको भन्दै सरकारको आलोचना गरेका छन् ।
यसैबीच नयाँ दिल्लीस्थित नेपाली दूतावासको पहलमा क्याम्पस प्रशासनले नेपाली विद्यार्थीहरूमाथि भएको दुव्र्यवहारप्रति माफी माग्र्दै विद्यार्थीहरूलाई पुनः कक्षामा फर्काएको छ भने घर फर्किसकेका नेपाली विद्यार्थीहरूलाई पनि कक्षामा फर्कन अपिल गरेको छ । विद्यार्थीहरूमाथि दुव्र्यवहार गर्ने छात्रावासका दुई अधिकारी, अन्तर्राष्ट्रिय मामिला हेर्ने कार्यालयका एक उच्च अधिकारीसहित दुई सुरक्षा गार्डलाई पनि निलम्बित गरिएको छ । प्रकृतिले आफूमाथि दुव्र्यवहार भएको जानकारी दिए पनि क्याम्पस प्रशासनले नसुनेको भन्दै मृतकको लागि न्यायको माग गर्दै नेपाली विद्यार्थीहरूले आन्दोलन गरेपछि क्याम्पस प्रशासनले उनीहरूमाथि दुव्र्यवहार गर्दै घर फर्कन भनेको थियो ।
क्याम्पस प्रशासनका अधिकारीहरूबाट भएको दुव्र्यवहारप्रति खेद प्रकट गर्दै केआईआईटीको उपकुलपतिले पनि मंगलबार सार्वजनिक रूपमा माफी मागिसकेको छ । साथै उनले सबै नेपाली विद्यार्थीहरूलाई नियमित कक्षामा आउन अपिल पनि गरेका छन् । यसैबीच काठमाडौंस्थित भारतीय दूतावासले पनि प्रेस विज्ञप्ति जारी गरी नेपाली विद्यार्थीको हितका लागि भारत सरकारले आवश्यक सबै कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ भने ओडिसा प्रदेश सरकारले उक्त घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति समिति गठन गरेको छ ।
ओडिसा प्रदेश सरकारले प्रेस विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । गृह विभागका अतिरिक्त मुख्य सचिवको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिँदै विज्ञप्तिमा भनिएको छ– ‘कलेजमा प्रदर्शन गरेका विद्यार्थीमाथि बल प्रयोग र दुव्र्यवहारका घटनाहरू भएको कुरा बाहिर आएका छन्, त्यसमाथि अनुसन्धान भइरहेको छ र कानुनअनुसार कारबाही हुनेछ । प्रदेश सरकार विद्यार्थीहरूको सुरक्षा, सम्मान र कल्याण सुनिश्चित गर्नका लागि प्रतिबद्ध छ ।’
त्यसै गरी ओडिसा प्रहरीले सहयोगको आवश्यक्ता परेका विद्यार्थीहरूले २४ सै घण्टा सम्पर्क गर्नसक्ने भन्दै एउटा सम्पर्क मोबाइल नम्बर सार्वजनिक गर्दै नेपाली विद्यार्थीहरूसहित सबै विद्यार्थीहरूको सुरक्षा, मर्यादा र कल्याणको सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको छ ।
भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारी अनुसार विद्यार्थीहरूको आतेजाते सबै खर्च क्याम्पस प्रशासनले नै बेहोर्नेभएको छ । उहाँले भन्नुभयो – ‘विद्यार्थीहरूको सबै माग पूरा भएको छ । छात्रावासमा भएका विद्यार्थीहरूको सुरक्षा व्यवस्थासहित कक्षा पुनः सञ्चालन हुने भएको छ भने घर फर्किसकेका विद्यार्थीहरूको रेलको आतेजाते खर्च पनि क्याम्पस प्रशासनले नै बेहोर्नेभएको छ । यसका साथै छुटेका कक्षाहरूको रिकभरी र छुटेको परीक्षा पनि पुनः लिने भएको छ ।’
राजदूत शर्माले दूतावासका कन्सुलर सञ्जीव शर्मा दास र नवीन अधिकारीले ओडिसा पुगी क्याम्पसको छात्रावासमा रहेका विद्यार्थीहरूसँग कुराकानी गरेको जानकारी दिँदै भन्नुभयो – ‘स्थिति सामान्य हुँदै गएको छ । त्यहाँ भएका विद्यार्थीहरू पुनः कक्षामा जान तयार छन् । घर फर्केका विद्यार्थीहरूले पनि केही दिनमा क्याम्पस फर्कन्छु भनेका छन् ।’
उहाँले मृतकको पोस्टमार्टम रिपोर्ट आउन केही समय लाग्ने जानकारी दिँदै भन्नुभयो– ‘मुख्य आरोपी पक्राउ गरेर न्यायिक हिरासतमा पठाइसकेको छ । मृतकको र ती आरोपीको मोबाइल फोन, ल्यापटपलगायतका सामग्रीहरू पनि फरेन्सिकमा पठाइसकेको छ । मृतकलाई न्याय दिलाउन हामी निरन्तर खबरदारी गरिरहेका छौं ।’
यसैबीच शिक्षा मन्त्रालयले पनि मंगलवार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै ओडिसाबाट फर्कने र फर्कन चाहेका विद्यार्थी र अभिभावकलाई लक्षित गरी मंगलवारबाटै हेल्पसेन्टर शुरू गरेको जानकारी दिएको थियो । तर, मंगलवार दिउँसो नै समस्या सल्टिसकेको कारण कुनै पनि विद्यार्थी सम्पर्कमा आएनन् । शिक्षा मन्त्रालयका उपसचिव राजु श्रेष्ठले समाचारपत्रसँग भन्नुभयो– ‘हामीले हेल्प सेन्टर शुरू गरेका थियौं तर जानकारी दिन केही ढिला भएको र त्यतिन्जेल समस्या सल्टिसकेको कारण अहिलेसम्म कसैले पनि सम्पर्क राख्न आएका छैनन् । परराष्ट्र मन्त्रालयले पनि समस्या समाधान भइसकेको जानकारी गराएको छ । हामीले यति छिट्टै समस्याको समाधान होला भन्ने सोचेका थिएनौं । समाधान भयो, राम्रो भयो ।’
बीटेक मेकानिकल तेस्रो वर्षमा अध्ययनरत २१ वर्षीय अद्विक श्रीवास्तवको दुव्र्यवहारका कारण बुटवल घर भएकी प्रकृतिले आत्महत्या गरेको भन्दै सोही कक्षामा अध्ययनरत प्रकृतिका दाजु पर्ने २४ वर्षीय सिद्धान्त सिग्देलले इन्फोसिटी प्रहरी थानामा आइतबार उजुरी दर्ता गराएका थिए । प्रहरीले सोही उजुरीका आधारमा सोही दिन श्रीवास्तवविरुद्ध आत्महत्या दुरुत्साहनको एफआइआर दर्ता गरेको थियो ।
भिडियो श्रोत : सामाजिक संजाल











प्रतिक्रिया