यात्रा स्मरण: अरु तीर्थ बारबार गंगासागर एकबार

1.88k
Shares

धार्मिक मान्यताअनुसार एक भनाइ छ, ‘हरेक तीर्थ बारबार गंगासागर एकबार ।’ अर्थात् हिन्दु धर्मावलम्बीहरुले जीवनभर एकबार गंगासागरमा डुबुल्की लगाउनै पर्ने धार्मिक मान्यता छ । धार्मिक एवं पौराणिक मान्यताअनुसार हिन्दुहरुको महान् तीर्थका रुपमा सुपरिचित गंगासागर विश्वप्रसिद्ध छ ।

बंगालको खाडीमा अवस्थित ३३० वर्गकिलोमिटर क्षेत्रफल रहेको यस सागरलाई सागर द्वीप वा गंगा–सागर–संगम पनि भन्ने गरिन्छ । गंगासागर भारतको पश्चिमबंगाल प्रान्तको सुन्दरवन जिल्लामा अवस्थित छ । गंगासागरको आसपास १४३ गाउँ छन् । जसलाई आइसल्याड अर्थात् टापुको बस्ती पनि भनिन्छ ।

गंगासागर स्नान गर्न कोलकाताबाट १५० किलोमिटर पश्चिम जानुपर्छ । डायमनड हार्बर स्टेसनबाट ३५ किलोमिटर पानीजहाज र ४५ किलोमिटर फेरि बसको यात्रापश्चात् गंगासागर क्षेत्रमा पुगिन्छ । पौराणिक मान्यताअनुसार गंगासागरलाई सबैभन्दा पवित्र नदीका रुपमा चिनिन्छ । सागरसंगम नदीमा एकपटक स्नानसहित डुबुल्की लगाएपछि १० अश्वमेध यज्ञ गरेसरह मानिन्छ । एक हजÞार गाई दान गरेसमान फल मिल्छ भन्ने धार्मिक मान्यता रही आएको छ ।

स्थानीयका अनुसार जहाँ गंगासागर मेला लाग्छ, त्यसको नजिक उत्तर वामनखल स्थानमा एक प्राचीन मन्दिर छ । यो मन्दिर चार वर्षमा एकपटक देखिन्छ । तीन वर्षसम्म यो मन्दिर सागर भित्र लुकेर वसेको हुन्छ । चौथो वर्ष मन्दिर देखिने र सोही वर्ष कुम्भमेला लाग्ने गरेको स्थानीयको भनाइ छ, जो कपिल मुनिको प्राचीन आश्रमस्थल रहेको बताइन्छ ।

मकर संक्रान्तिमा लाग्ने मेलामा गंगासागरमा स्नान गर्नुको पौराणिक महत्व छ । पौराणिक कथाअनुसार जब माता गंगा भगवान् शिवजीको जटाबाट निक्लिएर पृथ्वीमा पुगिन्, त्यसपछि भगीरथको पछि–पछि गएर कपिल मुनिको आश्रममा गई सागरमा मिलिन् । गंगाको पावन जलले राजा सगरका साठी हजार श्रापग्रस्त पुत्रको उद्धार भयो । उक्त घटनाको सम्झनामा तीर्थ गंगासागरको नामले प्रसिद्ध भएको हो ।

श्रद्धालुले गंगास्नान गरी शुद्ध आत्मासहित कपिल मुनिको मन्दिरमा पूजा–अर्चना गर्छन् । पुराणका अनुसार कपिल मुनिको श्रापका कारण राजा सगरका ६० हजुर पुत्रहरुको यसै स्थानमा तत्काल मृत्यु भएको उल्लेख छ । मृतक पुत्रहरुको मोक्षका लागि सगर राजको प्रयासलाई निरन्तरता दिँदै उनका नाति भगीरथले गंगालाई पृथ्वीमा ल्याएको कथा छ । तिनै गंगा यही सागरमा मिलेको पौराणिक कथामा उल्लेख छ । त्यसैले मोक्ष प्राप्तिका लागि गंगासागर नुहाएपश्चात् कपिलदेव मुनिको दर्शन गर्नाले पापहरण हुने र मागेको फल प्राप्ति हुने जनविश्वास रहेको छ ।

पश्चिम बंगालका स्थानीय बासिन्दा महबुुबअली बंगालीका अनुसार यस वर्षको कुम्भ मेला मकर संक्रान्तिदेखि पाँच दिनसम्म चलेको थियो । करिब २० बिघा खाली जमिनमा ८० हजार बढी अस्थायी आश्रम बनाएर सजाइएको थियो । पश्चिम वंगाल सरकारको शुद्ध वातारणमैत्री व्यवस्थापन भएको कुम्भमेला भव्य र सभ्यरुपमा सञ्चालन भएको थियो ।

भारत सरकारको प्रभावकारी एवं कुशल व्यवस्थापनका खातिर लाखौं तीर्थालु भक्तजनले अत्यन्त रमणीय वातारणमा गंगासागर स्नान गर्न पाएका थिए । अझ अच्चम त के थियो भने, जति होटेल, पसललगायतका भौतिक सामग्रीका स्टल थिए, सबैमा स्वदेशी उत्पादन थिए । स्थानीय उत्पादित वस्तुलाई मात्र प्रवेश गराउने पश्चिम बंगाल राज्यले थिति बसाएकाले स्थानीय उत्पादनको बाहुल्यता देखिन्थ्यो ।

स्वच्छ वातावरणीय शुद्धताका साथ गंगासागर कुम्भ मेला याने कि गंगासागर स्नानका क्रममा कोही कसैलाई पनि असहज भएन । लाखौं यात्रुलाई आवागमन, बासस्थान र शान्ति सुरक्षामा अब्बल व्यवस्था थियो । तीर्थालु महारुद्र जोशीले भन्नुभयो, ‘वातावरणीय शुद्धता कायम राखी प्रदूषणरहित कुम्भ मेला सम्पन्न गर्न मानव सेवामा समर्पित भारत सरकारका उच्च पदस्थ अधिकारीदेखि हरेक अंग परिचालनले गंगासागर अत्यन्तै शोभायमान छ ।’ आमाबुुबा र आठ वर्षीया छोरी प्रियंकासँगै गंगासागरमा डुबुल्की लगाउन पाउँदा सौभाग्यको महसुस भएको बताउनुहुन्छ नेपालको जाल्पादेवी मा.वि.का प्र.अ. एवं तीर्थालु वेदप्रकाश जोशी ।

कुम्भ मेला व्यवस्थापनका लागि भारतीय सञ्चारमाध्यमले देखाएको स्वउत्तरदायी भाव अनुकरणीय नै थियो । बाटोमा हिँड्दा, लाम लाग्दा, खानपिन गर्दा, बास बस्दा, स्नान गर्दा र दुःख–बिरामी परेकालाई निःशुल्क उपचार, आवास तथा आवागमनको उच्च प्रबन्ध थियो । लोक कल्याणकारी राज्यको अनुुभूतिका साथ भारत सरकारले कुशल अभिभावकत्व देखाएको अनुुभव गर्न पाइयो ।

मेला सफल पार्न आमसञ्चारमाध्यमको पनि अहं भूमिका देखिन्छ । हरक्षणमा तीर्थालुको सहज यात्राका लागि देखाइएको सामाजिक उत्तरदायी भावका साथ प्रसारित सामग्रीका कारण यात्रुलाई अत्यन्त सहज भएको थियो । अझ रेडियोको माध्यमबाट आम नागरिकलाई सञ्चारको पहुँच पुु¥याउन चोक–चोकमा राखिएका रेडियो स्टेसनबाट प्रत्यक्ष प्रसारणले तीर्थालुुलाई थप सहज भएको थियो । मान्छे हराउँदा, बिरामी पर्दा, उपयुक्त बासस्थान पहिचान नहुँदा सञ्चारमाध्यमको पहुँचमा पुुगेको पाँच–सात मिनेटमै सुरक्षाकर्मी, स्वयंसेवकको सम्पर्कमा भइन्थ्यो ।

सञ्चारमाध्यममा लोकेसन, नाम, ठेगाना प्रसारण भएको केही मिनेटभित्रै प्रहरी पुुग्थे । जनशक्ति परिचालन पनि कति राम्रो । गंगासागरको मेलामा उर्लेको जनसागरलाई उच्च व्यस्थापन गरेको देख्दा लोककल्याणकारी राज्य भनेको यस्तो हुँदो रहेछ भन्ने अनुुभव भएको तीर्थालु नृगराज जोशी बताउनुहुन्छ । सूचनाको सदुपयोग, आत्मअनुशासन, कर्मशील र ड्युटीफुुल हुने भारतीय आमसञ्चारमाध्यमले राष्ट्रिय स्वाभिमानमा उदाहरणीय कार्य गरेको अनुभव भयो ।

भारतमा बगलीमारा हुन्छन्, उनीहरुबाट सावधान रहनुपर्छ भन्ने सुनिथ्योे । तर पछिल्लो समयमा भारतीय सेना, प्रहरी र स्वयंसेवकको सक्रियताले लाखौं यात्रीले सुरक्षित यात्रा गर्न पाएका थियौँ । चोेक–चोकमा राखिएका प्रहरी कन्ट्रोल रुम, हजारौंको संख्यामा जल, स्थल र वायु सेना, प्रहरीलगायत लाखौं स्वयंसेवक परिचालन थिए । करोडौं नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने पश्चिम बंगाल सरकारलाई धन्यवाद भन्नै पर्छ ।

शान्ति सुरक्षाका सवालमा पश्चिम बंगालका स्थानीयको कथन थियो– ‘भारत में जब तक मोदी और पश्चिम बंगाल में ममता बेनर्जी का सरकार रहेगा तो लुटपाट हो नहीँ सक्ता ।’ ४० हजार बढी अस्थायी शौचालय, २० हजार बढी शुद्ध खानेपानीका धारा, ३ लाख बढी अस्थायी धर्मशाला, होटेल, रेस्टुराँ थिए । निःशुल्क स्वास्थ्य उपचारसहित सहुलियतमा यातायात सुविधा थियो । यद्यपि राति सुत्ने स्थान नपाएर मानिसहरु गंगासागरको दलदलको बालुवामा जाग्राम बसेका दृश्यले मानिसमा गंगासागरप्रति कति आस्था हुँदो रहेछ भन्ने दर्शाउँछ ।

भारतमा लाग्ने हरेक मेलालाई सफल पार्न सिंगो भारत सरकारको आर्थिक, सामाजिक, भौतिक, सांस्कृतिक पक्ष क्रियाशील भएको देखिन्छ । साथै ठूलो मात्रामा जनशक्ति परिचालनले करोडौं तीर्थयात्रुहरुले सुरक्षित यात्रा भएको महसुस गर्ने गरेका छन् ।
धर्म–संस्कार र संस्कृतिले भरिपूर्ण भारतको बाराणसी पुगेर कपाल मुण्डन, स्नान गर्ने, श्राद्धादि कर्म गर्नेहरु पनि धेरै भेटिन्छन् ।

पुनपुनमा पुुगेर आमा हुनेले खीर अथवा दूध पिलाउने र आमा नहुनेले पिण्ड दिएर आउने चलन छ । त्यस्तै गया पुुगेर पितृमोक्ष हेतु श्राद्ध गर्ने, गयाबाट बोधगया भएर झारखण्ड हुँदै पश्चिम बंगालमा रहेको गंगासागरमा स्नान गरी त्यहाँबाट जगन्नाथपुरी जानेहरु पनि हुन्छन् । जगन्नाथपुुरीको समुद्रमा स्नान गरी अलौकिक जगन्नाथजीको दर्शन उत्तिकै महत्वपूर्ण मानिन्छ । त्यहाँका वास्तुकलाले सजाइएका मठमन्दिर अत्यन्त आकर्षक छन् ।

यता प्रयागराज महाकुम्भ स्नानको उत्तिकै महत्व छ । जहाँ गंगा, सरवती र यमुनाको संगम त्रिवेणीमा स्नान गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक मान्यता छ । मकर संक्रान्तिकै अवसरमा भारतको अयोध्यास्थित राम मन्दिरमा पनि गइयो, जो भारत सरकारले अर्बाैं रुपियाँ लगानी गरेर निर्माण गरेको छ र अझै निर्माण भइरहेको छ ।

भारतका प्रायः सबै धाममा दर्शनार्थीको घुंइँचो देखिन्थ्यो । पत्येक धाममा दैनिकजसो लाखौं भक्तजनले दर्शन गर्छन् । हरेक धाममा गरिएको कुुशल व्यवस्थापनकै कारण भारत धार्मिक पर्यटकबाट अर्बांं रुपियाँ कमाउन सफल देखिन्छ । यहाँका मन्दिरहरुमा तीर्थाटन गर्नेको घुइँचो लाग्ने गरेको छ । भारत सरकारको सकारात्मक कामको सिको नेपाल सरकारले पनि सिक्ने हो कि !