औषधिको मूल्य समायोजन नगरिए कालो झन्डा लिएर आन्दोलनमा उत्रने चेतावनी


काठमाडौँ। 

दुई–चार दिनभित्र औषधिको मूल्य समायोजन नगरिए कालो झन्डा लिएर आन्दोलनमा उत्रने औषधि उत्पादन संघ (एपोन) का कार्यबाहक अध्यक्ष प्रभात रुंगटाले चेतावनी दिएका छन्  । स्वास्थ्य पत्रकार मञ्च नेपालको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै  उनले यस्तो चेतावनी दिएका हुन् ।

‘हामीले सोचेअनुरूप सरकार प्रस्तुत भएन भने हामी एपोनलगायतका चार–पाँच वटा संस्थाहरू मिलेर कालो झन्डा लिएर हिँड्नुपर्ने अवस्था आउने दुई–चार दिनभित्र नै देखिरहेको छु’, उनले भने ।

उनले अस्थिर सरकार हुँदा नीतिगत व्यवस्था गर्न जटिल भएको गुनासो गरे । कुनै मन्त्री आउँदा उहाँलाई बुझाउन समय लाग्ने र बुझाइसक्न लाग्दा अर्को मन्त्री फेरिने प्रवृत्तिले नीतिगत व्यवस्था हुन नसकेको बताए । ‘विगत ६ वर्षमा १३ जना स्वास्थ्यमन्त्री फेरिए’, उनले भने, ‘मन्त्रीलाई स्वास्थ्य तथा औषधिको बारे बताउँदा बताउँदा जान्न लाग्ने हुन लाग्नुभएको बेला अर्को मन्त्री आइहाल्नुहुन्छ । सरकार असाध्यै अस्थिर भयो ।’

कार्यबाहक अध्यक्ष रुंगटाले मञ्चसँग सहकार्य गरेर विभिन्न किसिमका ‘फेलोसिप’ कार्यक्रम गर्न तयार रहेको पनि बताए । पत्रकारको व्यवसायिक स्तरवृद्धि, नयाँ खोजलगायतका विषयमा फेलोसिप कार्यक्रम गर्न सकिने उनको भनाइ छ । यसका लागि छलफल गरेर सहकार्य गर्न एपोन तयार रहेको जनाए ।

एपोनका पूर्व अध्यक्ष दीपकप्रसाद दाहालले सरकारी संस्थाहरू नै नीति र थितिमा नचलेको आरोप लगाए । ‘विसं २०५१ सालमा औषधि नीति आयो त्यसले १० वर्षभित्र इसेन्सियल औषधि ८० प्रतिशत नेपालमै उत्पादन गर्ने भन्ने थियो । सोअनुसार हामी उद्योगीले हौसिएर लगानी गर्‍यौँ तर कार्यान्वयन हुने बेलामा अनेकन बाधा बखेडा झिकेर रोकियो, त्यो लागू हुन सकेन ।कोभिडको बेलामा ६५० एमजीको प्यारासिटामोल बनाउने निर्णय गर्‍यो तर पछि विभागले नै त्यसको कार्यान्वयन गर्न दिएन । यस्ता धेरै उदाहरण छन्, व्यवसायीलाई उत्साहित भन्दा पनि निरुत्साहित गर्ने सरकारको नीति जस्तै देखिएको छ,’ उनले भने ।

यसैगरी एपोनका निवर्तमान अध्यक्ष प्रज्वलजंग पाण्डेले नेपालको औषधिको क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भन्दै औषधिको गुणस्तरतामा जोड दिनुपर्ने बताए । ‘हामी मूल्यलाई बढी केन्द्रित हुन्छौँ, गुणस्तरीय औषधिमा हाम्रो ध्यान बढाउनुपर्छ जस्तो लाग्छ, राज्यका निकायले पनि त्यसरी नै हेर्नुपर्छ जस्तो लाग्छ,’ उनले भने ।

मञ्चका नवनिर्वाचित अध्यक्ष भिषा काफ्लेले गुणस्तरीय औषधिमा जोड दिँदै देश औषधिमा आत्मनिर्भर बनाउने सरकारी नीतिको कार्यान्वयनको अवस्थाबारेमा खोजी गर्नुपर्ने जरुरी भएको बताइन्  । उनले स्वदेशी उद्योगहररू फस्टाउँदा देश उभो लाग्ने भन्दै यसका लागि नेपाली सञ्चारमाध्यम सहयोगी बन्ने बताइन्  ।