धादिङ ।
डढेलोको जोखिममा रहेको धादिङ जिल्लामा प्रतिकार्य कार्य योजना पारित गर्दै सबै पालिकाले हरित स्वयंसेवक परिचालन गर्ने भएको छ ।
डढेलोबाट वन जंगल जोगाउन जिल्ला विपद् व्यवस्थापन समिति धादिङको बैठकले हिउँदमा हुनसक्ने डढेलोको जोखिम कम गर्न र डढेलो नियन्त्रण सम्बन्धी प्रतिकार्य योजना पारित गरिएको छ ।
७ सय १७ सामुदायिक बन समेत गरी ५२ प्रतिशत बन क्षेत्र रहेको धादिङमा गत वर्ष आधाभन्दा बढी सामुदायिक बनमा डढेलो लागेको थियो ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा भएको बैठकले वन डढेलो तथा आगलागी नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१र८२ स्वीकृत गर्दा स्थानीय अवस्था र आवश्यकता बमोजिम सबै नगरपालिका र गाउँपालिकाहरुले वन डढेलो तथा आगलागी नियन्त्रण कार्यान्वयन कार्य योजना तयार गरी एक हप्ता भित्र स्वीकृत गरी जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराउने तथा वन डढेलो तथा आगलागी नियन्त्रण कार्यान्वयन कार्य योजनाका आधारमा बजेट व्यवस्थापन गरी उपकरण खरिद गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
वन डढेलो तथा आगलागी नियन्त्रण पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१र८२, धादिङ बमोजिम प्रतिकार्यका उपकरण खरिद गर्न जिल्ला विपद् व्यवस्थापन कोषबाट पाँच लाख र प्रदेश विपद् व्यवस्थापन कोषबाट दुई लाख रकम विनियोजन गर्ने निर्णय गर्दै आगलागी तथा वन डढेलोबाट हुन सक्ने सम्भावित घटनालाई न्यूनीकरण एवम् नियन्त्रण गर्न प्रत्येक नगरपालिका र गाउँपालिकाले कम्तीमा १० जना हरित स्वयंसेवक तयार गरी परिचालन गर्ने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेले जानकारी दिनुभयो ।
डढेलो नियन्त्रण विपद् व्यवस्थापन प्रतिकार्य योजना अनुसार विद्यालय तथा समुदाय तह सम्मा सचेतता अभियान सञ्चालन गर्ने, डढेलो नियन्त्रण सप्ताह सञ्चालन गर्ने, डढेलो लगाउनेको सूचना दिनेलाई पुरस्कार दिने, प्रतिरोधात्मक आगो लगाउने लगायतका योजना समेत बनेको छ ।











प्रतिक्रिया