सुर्खेत ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले संसदबाट ल्याईनुपर्ने कानुनहरु अध्यादेशबाट ल्याएको हुँदा पास नहुने दाबी गरेका छन् । उनले ती अध्यादेशहरु आफूहरूलाई स्वीकार्य नभएको बताए ।
पार्टीका अगुवा नेता कार्यकर्ता प्रशिक्षणका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आएका माओवादी अध्यक्ष प्रचण्डले पत्रकारहरुसँगको भेटघाटमा यस्तो बताएका हुन्।
मङ्गलवार प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संसद छलेर ल्याइएका अध्यादेशहरु पासै नहुने जिकिर गरे । जनता समाजवादी पार्टीसँग पनि छलफल भएकोले उसले पनि अध्यादेशको विपक्षमा मत जाहेर गर्ने उल्लेख गर्दै उनले भने, ‘हामी राष्ट्रिय सभाबाट पारित हुन दिने पक्षमा पनि छैनौँ । अध्यादेश पास हुदैंन।’
उनले वर्तमान सरकारको दुई तिहाईको दम्भलाई राष्ट्रिय सभाले काउन्टर गरेको पनि बताए । उनले भने, “सरकारले दुई तिहाईको अहंकारमा जे गरे पनि पास हुन्छ भन्ने ठानेको थियो । प्रतिपक्षलाई गनेकै थिएन् । तर राष्ट्रिय सभाले सरकारलाई राम्रै चेतावनी दिएको छ । आफ्नो धरातल पनि देखाएको छ । यसबाट सरकारले शिक्षा सिक्नुपर्छ । सबैको मान्य हुने काम गर्नुपर्छ ।”
प्रचण्डले मुलुक आर्थिक हिसाबले निकै संकटमा परेको बताए । सरकारले स्थानीय सरकारलाई दिनुपर्ने अनुदानहरु कटौतीमा लागिरहेको छ । उनले भने, “यसैबाट मुलुकको आर्थिक अवस्था नाजुक भएको प्रष्ट हुन्छ । तर स्थानीय सरकारलाई प्रदान गर्ने अनुदान काटिनु भने राम्रो होइन । यो गाँउको विकास माथि खेलबाड हो ।”
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले आफूहरूको ध्यान अहिले सरकारतिर नरहेको बताए । उनले भने, “हाम्रो ध्यायन सरकारतिर छैन् । अहिलेकै गठबन्धन २०८४ पछिसम्म जोहोस । त्यसमा हाम्रो कुनै चासो छैन् । तर, सरकारले गर्ने काम जनताका हित बिपरीत भएमा संसद र सडक दुवै प्रयोग गरेर खबरदारी हामी गरिरहन्छौँ ।” उनले अहिलेको गठबन्धनमा नेकपा एमाले भन्दा नेपाली कांग्रेस तुलनात्मक इमानदार रहेको बताए ।
प्रतिक्रिया