नेपाली राजदूतावासमा डाटा चोरीको उजुरी


 क्यालिफोर्निया ।

क्यालिफोर्नियाको सान फ्रान्सिस्कोमा हालै राहदानी कन्सुलर सेवा शिविर खडा गरी एक हजार पाँच सय पन्ध्र नेपाली नागरिकलाई पासपोर्ट उपलब्ध गराएर प्रशंसा कमाएको कार्यवाहक राजदूत एवं डिपुटी चिफ अफ मिसन शरदराज आरणको टोलीलाई अनधिकृत रुपमा निवेदकहरुको इमेल अरुलाई उपलब्ध गराएको आरोप लागेको छ । 

‘पासपोर्टका लागि हामीले व्यक्तिगत विवरण राजदूतावासलाई बुझायौं, कतै त्यसको दुरुपयोग हुन्न भन्ने विश्वासका साथ, तर त्यो डाटा नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्निया र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् क्यालिफोर्निया च्याप्टलाई उपलब्ध गराइयो, जो सरासर बदमासी हो, चोरी हो’ राजदूतावासलाई उजुरी गर्ने मध्येका एक जनाले न्युज अफ नेपाललाई जानकारी गराएका छन् । 

अहिले राहदानीका लागि सो शिविरमा निवेदन दिने सबै सेवाग्राहीलाई चन्दा माग्दै नेपाली एशोसिएसन अफ नर्दन क्यालिफोर्नियाले पत्राचार गरेपछि सेवाग्राहीहरु असन्तुष्ट भएका हुन् । कुनै प्रकारको अतिरिक्त शुल्क वा चन्दा मागिन्न भन्ने वचनबद्धताका साथ बसेको शिविरले सेवाग्राहीसँग विश्वासघात गरेको टिप्पणी चन्दाको दबाबमा परेका नेपालीहरुको छ ।

राजदूतावाससमक्ष हाल विद्युतीय उजुरी गरिएको, तर आधिकारिक पक्षबाट चित्तबुझ्दो जबाफ प्राप्त नभए गुनासो परराष्ट्र मन्त्रालयसम्म पुग्ने चन्दा पीडितहरुले बताएका छन् । 

यस घटनाले व्यक्तिगत जानकारीको गोपनीयता र सुरक्षामा प्रश्न खडा गरेको छ । राजदूतावासमाथिको विश्वसनीयतामा असर पार्ने कर्मचारीलाई कारबाहीको घेरामा आउनुपर्छ, उजुरीकर्ता बताउँछन् । 

यस्तो छ पत्र