लिम्बुवान राज्य भएको भए केबुलकार बन्दैनथ्यो: राजेन्द्र महतो


काठमाडौं ।

आज माइतीघरमा आयोजित मुकुमलुङ संरक्षण सङ्घर्ष समितिको विरोध प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । 

 पाथीभरामा केबुलकार निर्माण गर्न लागेको भन्दै बिरोधमा उत्रिएको समुहलाइ सम्बोधन गर्दै राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले लिम्बुहरूलाई अधिकार दिनु पर्नेमा जोड गरेका हुन् ।

 ‘यो देश लिम्बुको हो कि होइन ? हो भने सार्वभौमसत्ता साझा गर्नुपर्छ । लिम्बुवान स्वायत्तता हुनुपर्छ । लिम्बुवान राज्य भएको भए केबुलकार बन्ने निर्णय नै हुने थिएन। आफ्नो राज्य भएन भने उसको लोकतन्त्र पनि हुँदैन, मानव अधिकार पनि हुदैन्,’ उनले भने, ‘अहिले केबलकार निर्माण जारी राखेको छ, आन्दोलनकारी पक्राउ गरिरहेको छ तर सरकार वार्ताको नौटङ्की गर्दैछ। यसरी तर्साएर डराएर धम्काएर वार्ता हुँदैन।’

दमन गर्ने, गोली हान्ने जस्तो कार्य राज्य सधैँ गर्दै आएको जनाउँदै छुट्टाछुट्टै लड्दा दमन गर्ने भएकाले मिलेर लडनु पर्ने उनको जोड रहेको छ । 
केवल लिम्बु समुदायको सहभागिताले मात्र अहिले पनि सफलता सम्भव छैन, सम्पूर्ण उत्पीडितहरुको एकता आवश्यक परेको उनको जोड थियो ।

‘उपरोक्त सवाल केबलकार वा रोजिरोटीसँग सम्बन्धित सवाल मात्रै होइन, यो वैचारिक दार्शनिक सवाल पनि हो । सम्पूर्ण विजय प्राप्तको निम्ति स्वदेशी सत्ता चाहिन्छ,’ उनले भने, ‘त्यसैले  मधेसी आदिवासी अधिकार रक्षा गर्न राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य रहेको छ।’ 

 मुक्कुम्लुडको संघर्षले राष्ट्रिय मुक्ति क्रान्तिको औचित्य थप स्पष्ट पारेको उनको भनाइ छ । ‘अब बहुराष्ट्रिय राज्य स्थापनाका लागि लामबद्ध हुन जरुरी छ, नश्लीय सरकारको गलत नियत भण्डाफोर गर्दै मुन्धुमी आस्था स्थल र सांस्कृतिक सम्पदा जोगाउन सबै एकजुट हुनुपर्छ,’ उनले भने, ‘अब लिम्बू एक्लै छैन, उसँग मधेस पनि उभिएको छ। एक्लै लड्दा गरिएको दमन झैँ सधैँ दमन गर्छु नसोछे हुन्छ अब इटको जवाफ पत्थरले दिइने छ।’