काठमाडौं ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटोस्थित कार्यालयमा प्रवेशमा नेपाल प्रहरी शुक्रवार रोक लगाएपछि १४ औं दक्षिण एसियाली खेलकुद (साग) को बारेमा हुने भनिएको बैठक बस्न सकेन ।
युवा तथा खेलकुद मन्त्रालयको निर्देशनपछि ओलम्पिक भवनमा प्रवेश गर्न प्रहरीले रोक लगाएको एनओसीका उपाध्यक्ष चतुरानन्द राजबैद्यले बताए । प्रहरीले भवन प्रवेशमा रोक लगाएपछि एनओसीले शुक्रबार २ बजे राष्ट्रिय खेलकुद संघहरुसँग राखेको बैठक पनि रोकिएको हो । फागुन १३ र १४ गते पाकिस्तानको लाहोरमा हुने साउथ एसियन ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकमा भाग लिन जानुअघि एनओसीले राष्ट्रिय संघहरुको बैठक डाकेको थियो ।
एसएओसीमा १४औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश गरिने खेलका बारेमा निर्णय हुने भएकोले त्यसका लागि संघहरुसँग बैठक राखेको थियो । यसअघि निर्वाचन प्रक्रियाको समयमा पनि एनओसी प्रवेशमा प्रहरीले रोक लगाएको थियो । सर्वोच्च र उच्च अदालत पाटनको आदेशको अवज्ञा गर्दै एनओसीले पुस १३ गते गरेको अनलाईन निर्वाचनलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) ले अवैधानिक ठहर गरेको थियो । विशेष साधारणसभा र निर्वाचन पछि सरकार र एनओसीको सम्बन्ध चिसिएको छ ।
सरकारी हस्तक्षेपको एनओसीद्धारा भत्सर्ना
शुक्रबार प्रहरीको हस्तक्षेपपछि नेपाल ओलम्पिक कमिटी (एनओसी) ले प्रेस विज्ञप्तिमार्फत सरकारको उक्त कार्यको भत्सर्ना गरेको छ । विज्ञप्तिमा पाकिस्तानमा हुने १४औं दक्षिण एसियाली खेलकुद बारे बैठकमा छलफल हुने कार्यक्रम रहेकोमा सरकारी हस्तक्षेपले बैठक बस्न नसकेको उल्लेख गरिएको छ । एनओसीले सरकारको सो कदमको घोर भत्सर्ना गर्दै नेपालको खेलकुद ऐन र नेपालको कानून विपरीत कार्य भएको उल्लेख गरेको छ ।
एनओसीका उपाध्यक्ष चतुरानन्द राजबैधले सरकारी हस्तक्षेपका कारण नेपाली खेलकुद फेरि एकपल्ट अन्यौलता र अस्थिरतामा प्रवेश गरेको र अन्तर्राष्ट्रीय ओलम्पिक कमिटी (आईओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले सरकारको यस्तो हस्तक्षेपलाई स्वीकार गर्न नसक्ने बताए ।
प्रतिक्रिया