लोकतन्त्रमा शहीदहरुको भारी अपमान भएको छ । अपराध गर्नेहरुलाई पनि सरकारले शहीद बनाएको छ, बेरोजगार भई विदेश जान लागेकालाई पनि । सबै कुरा शब्दकोषमा लेखिँदो रहेनछ र लोकतन्त्रमा मनलागी व्याख्या छुट हुँदो रहेछ । सबै विषयमा राजनीतीकरण हुने राजनीतिको व्याख्या जनताले गर्न नपाउँदा रहेछन् । जनता निरीह र नेता सक्रिय हुने प्रवृत्ति मज्जैले हुर्केको छ देशमा । हरेक वर्ष नेतृत्वको चाहनाले शहीद बढाउने र आममाफी गरिदिने चलन चलेको लामो समय भयो । स्वाधीन तर संसारमै धेरै शहीद भएको देश हो यो । देशको लागि उत्सर्ग गर्नेहरु शहीद हुनुपर्ने हो तर भएन त्यस्तो । देश कहिल्यै पराधीन भएन तर शहीदको संख्या पनि कम भएन । पहिलो शहीद लखन थापा, त्यो पनि धेरै पछि मात्रै घोषणा भएको।
आधुनिक नेमाल निर्माणको क्रम वि.सं. १८०० देखि नै शुरु हुन्छ।
गोर्खा नरेश पृथ्वीनारायण शाहले राज्यको एकीकरण गर्ने क्रममा काठमाडौँ आक्रमणपूर्व कीर्तिपुरमा युद्धरत भए, ४४ वर्षीय वीर कालु पाण्डेको ज्यान गयो, बल्खुमा काटिए उनी। वि.सं. १९०३ को कोतपर्वमा धेरै मरे, भण्डारखाल पर्वको इतिहास ताजै छ देशमा। वि.सं. १९२७ मा जहानिया राणा शासनविरुद्ध आक्रामक भए लखन थापा, जनविद्रोह गरे, राणा शासनले वि.सं. १९३३ फागुनमा झुन्ड्याएर मारिदियो । छिटफुट घटना यसपछि पनि भयो, तर १९९७ सालमा ४ शहीद एकैपल्ट बन्न पुगे, राणा शासनकै विरुद्धमा लागेर । राणाहरुविरुद्ध बोलेकै कारण माघ १० गते काठमाडौँको सिफलमा नेपाली भाषाका पहिलो व्याकरणकार शुक्रराज शास्त्रीलाई खरीको रुखमा झुन्ड्याएर मारियो । माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई मारियो भने माघ १५ गते गंगालाल र दशरथ चन्दलाई शोभा भगवतीमा गोली हानेर मारियो । तिनै ४ शहीदको सम्मानमा टुँडिखेलमा शहीद गेट निर्माण गरेर शालिक राखियो तर को जान्छ र अहिले त्यहाँ, अब त शहीद हजारौँ हजार भए कहाँ मात्रै राख्ने । ७ सालमा राणा शासन समाप्तिपछि पनि २०२० मा राजा महेन्द्रको गाथगादी ताक्ने भन्दै दुर्गानन्द झालाई मुत्युदण्ड दिइयो । वि.सं. २०३६ हुँदै ४६ सालपछि शहीदको संख्या वृद्धि हुन थाल्यो । माओवादी सशस्त्र युद्ध वि.सं. २०५२ पछि र लोकतन्त्र प्राप्ति भनिएपछि त शहीदको संख्या गनेरै नसकिने भयो, कुनै मापदण्ड नै भएन । सत्तासँग साट्ने काम शुरु भयो । असली शहीदहरुको अहिले घोर अपमान भएको छ ।
शहीद बनाएपछि सुविधा थपिन्छ, आर्थिक प्रलोभनकै कारण शहीदको संख्या बढ्दै छ देशमा । साँच्चै राजनीतिक असन्तोषका कारण धेरै सहादत भएका छन् तर यकिन मापदण्ड नभएकाले छुटेका शहीद भन्दै संख्या बढाउनतिर लागिएको छ । आर्थिक दुरुह अवस्था छ देशमा, उत्पादन, आपूर्ति प्रणाली भरपर्दो छैन र दिनप्रतिदिन बेरोजगारी वृद्धि हुँदा देश छोड्नेको संख्या बढ्दो छ । विपत्ति र अनेकानेक दुर्घटनामा परी मृत्यु हुनेको संख्या कहाली लाग्दो छ। निकट भविष्यमै देशमा भोकमरीको विकराल समस्या हुने लक्षण देखिँदै छ भने दिगो विकासको लक्ष्य केवल सपना भएको छ।
आयातीत वस्तुले व्यापारघाटा र विप्रेषणको आयले अर्थतन्त्र धानिएको छ अनि महँगी र करको मारमा आम नेपाली असह्य पीडामा छन् । विकास गति सुस्त छ, चालू खर्चको तीव्र वृद्धि र विकास खर्च हुन नसकेको अवस्था छ भने नजिकका छिमेकीहरुले गरेको तीव्रत्तर समृद्धिलाई हेर्दै अर्काको थाल थापेर भिक्षार्थी भई गुजारा गर्नुपरेको अवस्था छ यहाँ । देश आन्तरिक र बाह्य ऋणले चुर्लुम्म डुबेको छ ।
थरी–थरीका सरकार छन् यहाँ, काम भने बेपारीको जस्तो मात्रै छ । काण्डहरु धेरै छन् भने सरकारी कर्मचारीका बीच कुटाकुट छ । स्रोत सीमित भएकाले दोहन गर्न सबैलाई असहज हुँदा ईष्र्या बढेर तनाव हुने हो, भ्रष्टाचार बढ्ने पनि त्यसैका लागि हो । आत्मसम्मान नहुँदा र समान व्यक्तिको समाजमा प्रतिष्ठा वृद्धि हुँदा देखासिकीकै कारण व्यक्ति कुरुप बन्ने हो । इमानदारिता र निष्ठाको अभावमा माथिबाट जे सिकियो तलकाले अनुशरण गर्ने पनि त्यही नै हो। घरको धारामा पानी शुद्ध पाउन मुहान नै शुद्ध हुनुपर्ने हुन्छ । पदासीन र सत्तासीनहरुले आँखा चिम्लेर अनैतिक कार्य गरी पैसाको थुप्रो लगाउनाले अरुलाई पीडाबोध हुने नै हुन्छ । यहाँ उच्च पदस्थहरु पनि नपिटिएको अवस्था छैन, नडामिएका छैनन् भने कर्मचारीहरु पनि।
समाज पैसामुखी भएको छ । अनियन्त्रित संरचनाहरु बनेका छन् । अमुक मुख्यमन्त्रीले आफन्त ठूलाको मलामी जाँदा दैनिक भ्रमण भत्ता स्वाहा पारेको खबर बाहिर आयो पोहोर साल । काठमाडौँ आइरहनुपर्ने संघीयता छ हाम्रो । देशको भूभाग आठ–दश घण्टाभित्रको पहुँचमा छ, जनसंख्या २४ करोड हुने छिमेकमा एक प्रदेश छ । हाम्रो जनसंख्या ३ करोड पुगेन र आधा बाहिरै गइसके । अमुक मुख्यमन्त्री ११ महिनामा २२ पल्ट काठमाडौँ आए र लाखौँलाख रकम दैनिक भ्रमण भत्तामै कुम्ल्याइदिए । नियमित अरु सुविधा पनि लिइरहन्छन् । घरभाडा, पीए, चालक, भान्से, स्टाफ भन्दै सोरेरै रकम बुझेका खबर त कति छन्–छन् । सवारी, चालक, मर्मत खर्च, मसलन्द, सञ्चार भनेर दर्जनौँ सुविधा तिनलाई दिइएको छ । सुरक्षाको ताँती नै छ । भूतपूर्वको त्यस्तै सुविधा छ । अमेरिका किन बन्यो होला, ओबामाले २ कार्यकाल राष्ट्रपति पूरा गरेर छोरी पढाउन भनी निजी कम्पनीमा जागिर किन खाए होला, डेनमार्ककी प्रधानमन्त्री साइकल चढेर कार्यालय जाउआउ किन गर्छिन् होला ? हाम्रो सुशासनको सुगा रटाइ देखेर असली शहीदहरु मुख छोप्छन्, लाजले भुतुक्क हुन्छन् । जिउँदोलाई यहाँ लाजै हुन्न त ।
जनता निरीह र नेता सक्रिय हुने प्रवृत्ति मज्जैले हुर्केको छ देशमा। हरेक वर्ष नेतृत्वको चाहनाले शहीद बढाउने र आममाफी गरिदिने चलन चलेको लामो समय भयो । स्वाधीन तर संसारमै धेरै शहीद भएको देश हो यो। देशको लागि उत्सर्ग गर्नेहरु शहीद हुनुपर्ने हो तर भएन त्यस्तो। देश कहिल्यै पराधीन भएन तर शहीदको संख्या पनि कम भएन।
देश दोहन, ढुकुटीको तर मार्नैका लागि हामीकहाँ सार्वजनिक पद धारण गरिन्छ, सेवाका लागि होइन । सार्वजनिक प्रशासनमा प्रवेश हुनु भनेको देशहित, सामाजिक सेवा, मन, वचन र कर्मले राष्ट्रप्रति समर्पित हुनु हो, यो धर्म पनि हो । देशप्रतिको इमानदारिता भनेको शहीदजस्तै हो, शहीदले प्राण त्यागेर देशको माया गर्छन्, सार्वजनिक सेवा प्रवाह गर्नेले प्राणलाई साक्षी राखेर सेवा गर्छन्, सेवा भनेको लेनदेनमा हुन्न, कानुनले पारिश्रमिक तोकेकै हुन्छ। राजनीतिकर्मीहरुले सामाजिक सेवा गर्ने हो, प्रतिफल नागरिकको माया मात्रै हो, मेवा होइन, पैसा कमाउनेले अरु काम गर्न सकिन्छ।
पञ्चायतका पालामा बैठक भत्ता, हल्का परिवहन खर्च कसैले लिए होलान्, तलब भत्ता लिएको होइन । ९० जना रापंस र एक दर्जन मन्त्रीले चल्न सक्ने देश हो यो । त्यति बेला अहिलेको जस्तो उठीबास लाग्ने गरी सरकारलाई कर बुझाउनुपर्दैनथ्यो, एक कित्ता जमिनको रु. १ कर तिरे पुग्थ्यो, केवल अभिलेखको लागि। अहिले गर्भमै कर लाग्छ, मरेपछि पनि लाग्छ, आजको जस्तो नक्कली व्यापार थिएन । अहिलेको जस्तो मान्छे पनि खरिद बिक्री हुन्नथ्यो। सानो आकारको बजेटले पनि उत्पादन आपूmलाई पुग्ने र अनाज निकासी पनि हुन्थ्यो, अहिलेको जस्तो सार्वजनिक ऋण पनि थिएन। पछिल्लोपल्ट देशमा अत्यन्त खर्चिलो संघीयता र गणतन्त्रलाई भित्र्याइयो, बाँचुन्जेल चुसिरहने र मरेपछि संस्था खोलेर पनि चुसिरहने प्रणाली हो यो। विकसित देश जहाँ अनुशासन छ त्यहाँ चल्ने व्यवस्था हो यो, तैपनि विश्वभरि २८ देशमा मात्रै संघीयता चलेको छ, जो संघीयतामा छैनन् तिनले पनि मनग्ये समृद्धि गरेका छन्, नागरिक हकको राम्रो उपयोग गरेका छन्। यहाँ एक राजा फालियो, घरघरै धेरै राजाहरु जन्माइयो, परिवारमुखी भयो हाम्रो लोकतन्त्र। यसैका लागि शहीद भएका होइनन्, हजारौँको बलिदानी भएको अहिलेको जस्तो शासन प्रणाली स्थापना गर्ने गरी होइन। सुशासन, पारदर्शिता, अनुशासन, जिम्मेवारीबोध लोकतन्त्रको आदर्श हो । क्रान्ति जसले ग¥यो उही सत्तामा गएपछि हुने यस्तै हो, परिवर्तनकारी गणेशमान सिंहहरु सत्तामा गएनन्, कृष्णप्रसादहरु सत्तामा गए पनि देशलाई कुरुप बनाएनन् । गेरु वस्त्र लगाएर पनि सत्ता त हुँदो रहेछ, भारतमा मोदीले देशलाई अब्बल बनाएका छन्, युरोप–अमेरिकामा खाद्यान्न निर्यात गर्ने भएको छ भारत अहिले, चन्द्रयानदेखि हाइपरलुप, सूर्ययान के मात्रै गरेको छैन उसले अहिले । हामी ऊसँग थाल थापिरहेका छौँ, चिनी, आलु, प्याज, चामल, रासायनिक मलको कोटा माग्न थालेका छौँ । त्यसैले शहीदलाई लाज लागेको छ भैँसेपाटीका संघीय महलहरु देखेर, मलेसिया र खाडीमा नेपाली जनलहर देखेर । विश्वको एकमात्र धर्मलाई पोलेर, देश हरिबिजोग भएको देखेर शहीदको आत्मा रोएको छ अहिले ।
सुन काण्ड, यती काण्ड, सेरा दरबार, ओम्नी काण्ड, क्यान्टनमेन्ट काण्ड, ललितानिवास काण्ड, भुटानी शरणार्थी काण्ड, नागरिकता काण्ड, बाँसबारी, बालमन्दिर, टीकापुर, गिरीबन्धु, एनसेल काण्ड, काण्डैकाण्डमा चुर्लुम्म डुबेको छ हाम्रो लोकतन्त्र । शिक्षा, स्वास्थ्य निकम्मा छन् । चरम महँगो शिक्षा र स्वास्थ्य । अध्ययनमा गुणस्तर छैन । ब्याचलर सकेर खाडीमा भेट्ने योजना गर्ने विद्यार्थीको भाषा, व्याकरण कसरी शुद्ध हुन्छ होला ? शैक्षिक संस्थाहरु खुलेका मात्र छन्, विद्यार्थी नै छैनन् पढ्ने । देश नीतिविहीन भएको छ, जताततै भ्वाङ परेको छ । मेलम्ची र काठमाडौँको फोहोरमा राजनीति गर्ने नेतृत्व सधैँ यस्तै छ । साढे तीन दशकदेखि आलोपालो नेतृत्व उस्तै छ । मिलेमतो गर्दै सत्तामा जाने र डकार्ने, आफन्तलाई पद दिलाउने, राष्ट्रिय सभा किन आवश्यक छ, के काम छ त्यसको, हरुवाहरुलाई पोस्टिङ गर्न राखिएको भन्दै छन् विश्लेषकहरुले । गणतन्त्र केवल आममाफी दिनलाई मात्रै हो कि, त्यहाँ कति सल्लाहकारहरु छन् र हरेक विषयमा सर्वोच्चमा मुद्दा किन जान्छ ? शहीदहरुको यक्षप्रश्न यस्तै खालका अरु पनि धेरै छन् ।
प्रतिक्रिया