कहिले बन्छ खण्डहर जलविनायकको संरचना ?

पुनर्निर्माण हुने प्रतीक्षामा नगरपालिका

तस्बीर ईश्वरराज ढकाल
4.89k
Shares

-प्राधिकरण र पुरातत्व विभाग भन्छः पुनःनिर्माणको चरणमा छौं
-किर्तिपुर–६ का अध्यक्ष बस्नेत भन्नुहुन्छः चालु आबमै पुनःनिर्माण गर्ने तयारीमा छौं
-सबैको प्रश्न कहिले बन्छ ? यतिका संरचना

कीर्तिपुर ।

कीर्तिपुर नगरपालिका–६ स्थित जलविनायक मन्दिरको सत्तल खण्डहर भएको चार महिना बितिसक्यो । त्यसलाई पुनर्निर्माण गर्न सरकारको आँखा पर्न सकेको छैन। असोज ११ र १२ गते आएको बाढीका कारण क्षतिग्रस्त सत्तल र वागमती नदीसँगै रहेको भकारी क्षतविक्षत भएको थियो।

मन्दिर दर्शन गर्न पुगेका अधिकांशले सोध्ने गर्छन्, ‘कहिले बन्छ, यति धेरै संरचना ?’ उपत्यकाको पानीको निकास गल्छी सँगैको जलविनायक मन्दिरको अवस्था र संरचना बिजोग भएको छ। मन्दिरसँगैको वासुकीनाग रहेको स्थानसमेत क्षतिग्रस्त भएको छ । क्षतिग्रस्त सत्तल र भकारी पुनर्निर्माण गर्ने विषयमा स्थानीय तहले पहल गरे पनि सरकारी निकायले पहल गरेको छैन ।

विपत्मा परी क्षतिग्रस्त सम्पदा निर्माण गर्न बजेट व्यवस्थापन गर्ने दायित्व राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हो । महिनौंदेखि क्षतिग्रस्त जलविनायक मन्दिर सम्पदा पुनर्निर्माणको विषयमा प्राधिकरणका उपसचिव एवं प्रवक्ता डा. सिजन भट्टराईले असोज ११ र १२ गतेको बाढीपहिरोको कारण क्षतिग्रस्त र ध्वस्त भएका सबै सम्पदा पुनर्निर्माण गर्ने विषयमा छलफल भई निर्णयको चरणमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘पुरानो सम्पदाको रूपमा रहेको जलविनायक मन्दिर पुनर्निर्माण गर्ने विषयमा प्राधिकरण गम्भीर छ, चाँडै नै पुनर्निर्माण शुरू गर्नेछौं । पहिरोको कारण क्षतिग्रस्त र ध्वस्त भएका सबै सम्पदा ३ वर्षभित्र निर्माण गर्ने गरी बजेट व्यवस्थापन हुने क्रममा छ जनाइएको छ ।

कीर्तिपुर नगरपालिका–६ का अध्यक्ष खिरमानसिंह बस्नेतले जलविनायक मन्दिरको सत्तल पुनर्निर्माण गर्न प्राधिकरणले बजेट व्यवस्थापन गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले लागत स्टिमेट गरी प्राधिकरणलाई पठाएका छौं, बजेट स्वीकृत भएको सुनेको छु ।’ क्षतिग्रस्त उक्त सम्पदा पुनर्निर्माण गर्न करिब ५० लाख बजेट आउने क्रममा रहेको उहाँको भनाइ थियो ।
जलविनायक मन्दिर क्षतिग्रस्त भएलगत्तै वडा कार्यालयले पहल गरेको थियो । सोही आधारमा बजेट व्यवस्थापन भएको दाबी वडा अध्यक्ष बस्नेतको छ । उहाँले कति बजेट विनियोजन भएको हो भन्ने विषयमा केही दिनभित्र जानकारी दिने बताउनुभयो । जलविनायक मन्दिर वडा कार्यालयसँगै रहेको छ ।

पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले जलविनायक मन्दिर पुनर्निर्माण गर्ने विषयमा गम्भीर रहेको बताउनुभयो । उहाँले सो मन्दिर पुनर्निर्माण गर्न चालू आर्थिक वर्षमा बजेट विनियोजन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिरमा क्षति नभए पनि पूर्वतिर रहेको सत्तल र सयौं वर्ष पुरानो भकारी क्षतिग्रस्त भएको छ।

वडा कार्यालयले पहिलो चरणमा सत्तल, पेटी र भकारीको पुनर्निर्माण गर्ने भएको छ । दोस्रो चरणमा वासुकीनाग स्थान र अन्य संरचना पुनर्निर्माण गर्ने तयारी गरेको छ । बाढीले क्षतिग्रस्त गरेलगत्तै वडा कार्यालयले केही बजेट व्यवस्थापन गरी संरक्षण गरेको थियो। चार विनायकमध्ये महत्वपूर्ण मानिएको जलविनायकमा विशेष गरी मंगलवार र शनिवार, कार्तिक पूर्णिमादेखि मंसिर पूर्णिमासम्म, मंगलचौथीलगायतमा घुइँचो लाग्ने गरेको छ । चार विनायकमा चोभारको जल, बुंगमतिको कार्य, चाबहिलको चन्द्र र भक्तपुरको सूर्यविनायकलाई महत्वपूर्ण गणेशका रूपमा मानिन्छ ।

कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले जलविनायक मन्दिरको सत्तललगायत संरचना पुनर्निर्माण गर्ने विषयमा संघ सरकारलाई जानकारी दिएको बताउनुभयो । उहाँले विपत् प्राधिकरण, पुरातत्व विभागलगायत सरोकार निकायलाई बजेट व्यवस्थापन गर्न आग्रह गरेको बताउनुभयो ।