एपीएफ प्रधानमन्त्री कप च्याम्पियन

376
Shares

बैतडी ।

विभागीय टोली नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा शनिवार च्याम्पियन भएको छ।
धनगढीस्थित फाप्ला मैदानमा भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै एपीएफ अपराजित रहेर च्याम्पियन बनेको हो।

टोली प्रतियोगिताको इतिहासमा सातौंपटक च्याम्पियन बनेको छ। ६८ रनको लक्ष्य एपीएफले १२.५ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। ओपनर ममता चौधरीले नटआउट रहँदै सर्वाधिक ४४ रन जोडिन् । दोस्रो विकेटका लागि ममता र कप्तान इन्दु बर्माले ४४ रनको साझेदारी गरेका थिए । इन्दु १८ रनमा नटआउट रहिन्।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले १८.१ ओभरमा अलआउट हुँदै ६७ रन जोड्यो । टोलीका लागि मनिषा बोहाराले सर्वाधिक १८ तथा बिन्दु रावलले १७ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफका लागि कविता जोशीले ३, शबनम राई र कप्तान इन्दुले समान २ विकेट लिए।

यसैबीच प्रतियोगिताभर व्यक्तिगत १७२ रन र ५ विकेट हात पारेकी एपीएफकी इन्दु प्लेयर अफ द सिरिज भइन् । उनले ५० हजार प्राप्त गरिन्। यस्तै, एपीएफकै ममता चौधरी बेस्ट ब्याटर र वागमतीका लागि १० विकेट लिएकी मनिषा उपाध्याय बेस्ट बलर भए। उनीहरूले २५/२५ हजार प्राप्त गरे।