वृद्ध मानिसको तुलनामा युवा धेरै मात्रमा सचेत तथा जागरुक हुन्छ, गतिशील हुन्छ, सिर्जनशील हुन्छ भनिएको छ । यो भनाइ आफैँमा यथार्थ भनाइ हो। तर हाम्रो देशका कुनै पनि राजनीतिक दलका युवा नेताहरूमा यो भनाइले यथार्थता पाउने छाँट कुनै कालखण्डमा समेत देखिएन। अहिले आएर नेकपा एमालेबाट निष्कासन गरिएका भनिएका र प्रधानमन्त्री केपी ओली, नेपाली काड्गे्रसका नेता शेरबहादुर देउवालगायतका वृद्ध नेताका तुलनामा युवा नेता ठानिएका भीम रावलले थोरै भए पनि विद्रोह गर्न सकेको वा खोजेको देखियो । अहिलेका भीम रावलले जस्तै नेपाली काड्ग्रेसका महामन्त्री र अझै युवा नेता भनेर चिनिएका गगन थापा, विश्वप्रकाश शर्मालगायतका युवा नेतालाई आज आम नेपाली जनताले धिक्कारिरहेका छन्। उनीहरूभित्रको सिर्जनशीलता खै ? वृद्ध नेताले भनेका खराब विचार वा सल्लाहका विरुद्धमा विद्रोह गर्ने क्षमता खै ? बरु आफू एक्लो बृहस्पति बनेर पनि चम्कन सक्छु भन्ने आँट वा हिम्मत खै त ? विकासका विविध कार्यक्रमले कतिपय मुलुकको आर्थिक उन्नति भएको छ तर नेपालको अवस्था सधैँ उस्तै रहेको देखेर उनीहरुको मानस अलिकति पनि विचलित र विद्रोही बन्न सकेन ? २००७ सालमा आएको प्रजातन्त्र मासिएर एकदलीय वा निर्दलीय पञ्चायती व्यवस्था लादिँदै गर्दा मन अलिकति पनि विचलित भएन तिनीहरुको?
२००७ सालमा हामी राजनीतिमा लागेका थिएनौँ वा जन्मेकै थिएनौँ भनेर साबित बयान गर्न सकिएला । तर गगन थापा नेपाली काड्ग्रेस पार्टीका महामन्त्री भएकै बेलामा, विश्वप्रकाश शर्मालगायतका नेता नेपाली काड्ग्रेसका वरिष्ठ नेता हुँदै गरेका बेलामा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाले लादेको एमसीसी लागू गराएको विरुद्धमा, यसले भविष्यमा गर्ने वा हुने दुष्परिणामका बारेमा सचेत गराएर पास गराउनबाट खै रोक्न सक्यौ त ? नेपाली काड्गे्रसका युवा नेतालाई मात्र धिक्कार होइन, हरेक राजनीतिक दलमा लागेका युवा नेताले पुरानो समयको जस्तो अगुवा नेताले जे काम भन्छन् त्यही काम गरेर देश र जनताको खातिर कुनै काम गर्न सकेनन् भने उनीहरूलाई बेकामे नेताभन्दा फरक नपर्ला । तत्कालीन नेकपा माओवादीका विद्रोही नेता नेत्रविक्रम चन्द (विप्लव) को खै काम छ ? नेता सिके राउतको काम के छ ? यी आदि युवा नेताहरुको देशप्रतिको सोचाइ कस्तो छ ? सिर्जनात्मक क्षमता के छ ? भनेर नेपाली जनताले नियाल्न खोजे पनि हाम्रा युवा नेताहरू कसैले आफ्नो क्षमता, सिर्जनशीलता प्रस्तुत गर्न सकिरहेका छैनन् । पद र पैसाकै लागि वृद्ध नेताको पछाडि लागेर हिँड्ने अनि ताल न बेतालका भाषण फलाक्ने कामले मात्र उनीहरुको छुट्टो र गरिमामय पहिचान अवश्य दिनेछैन । बरु हाल पाइरहेको मान–सम्मान पनि क्रमशः गुमेर जाने खतरा रहन्छ। \
नेकपा एमालेका तर्फबाट हाल शिक्षामन्त्रीका रुपमा रहेकी र शिक्षा मन्त्रालयको कार्यभार सम्हाल्दै गरेकी नेतृ विद्या भट्टराई प्रवृत्तिका युवा नेताहरूले देशका लागि के योगदान गर्न सकेका छन् ? नेपालका सबैजसो राजनीतिक दलबाट वृद्ध र अग्रज नेताको कार्यव्यवस्था मन नपराएर वा उनीहरुको काम कार्यवाहीबाट असन्तुष्ट बनेर गएका र हाल छरिएर रहेका सबै मिली एउटा बलियो संगठन स्थापना गरेर, हालका सत्तामा रहेका वृद्ध र सिर्जनशीलताबेगरका नेतालाई बाहिर पारेर सत्ताको बागडोर सम्हाल्न निकै ढिलो भइसकेको छ । युवा नेताले सत्ताको बागडोर सम्हालेर एउटा व्यवस्थित राजनीतिक व्यवस्थापनको जरुरत करिब २०१७ सालदेखि नै टड्कारोरुपमा देखा पर्दै आएको हो । आम नेपाली जनताले चाहेको यो विषयको जिम्मेवारी बहन गर्ने जिम्मा सबैभन्दा अधिक नेपाली काड्ग्रेसले पायो भने दोस्रो मौका नेकपा एमालेले पायो । तथापि यी दुवैले यो सुनौलो मौका गुमाएका मात्र होइनन् कि देशलाई नै एउटा बरबादीको खाडलमा जाक्न पछि परेनन् ।
हाम्रा सबैजसो वृद्ध नेताहरू कसै न कसैको दास भएरै रहन वा बाँच्न चाहेका छन् । अरु कसैको दास बन्ने नेताले उनीहरुका मालिकले अराएको काम नगरेर नेपाली जनताले अराएको वा अपेक्षा गरेको काम कुनै हालतमा गर्न सक्ने भएनन् । नेपाली जनताले चाहेजस्ता काम नगरेर अरु विदेशीले भनेको जस्तो वा चाहेको जस्तो काम गरी हाम्रो देशको अपेक्षित उन्नति सम्भव छैन। यता हरेक राजनीतिक दलबाट विद्रोह गरेर अलग पारिएका र आफैँ वा बाध्यताले अलग गरिएकाहरुमध्ये पनि थोरैलाई मात्र प्रतिशतमा भन्ने हो भने सयमा ४–५ प्रतिशत नेतालाई मात्र देशको चिन्ताले गाँजेको हुँदो रहेछ । बाँकी ९५–९६ प्रतिशत विद्रोही नेता भने आफ्नो भाग नपुगेर वा उच्च तहकाले हसुरेको देखेर विद्रोह गरेको नाटक गर्दा रहेछन् । त्यसैले देशको स्वार्थ हेरेर काम गर्ने युवा नेतृत्वले मात्र एउटा बलियो मोर्चा बनाएर भ्रष्टाचारका विरुद्धमा, कुशासनका विरुद्धमा मौका परे शासकलाई नै फाल्न सक्ने गरी क्षमताशील बनाउनु आजको राजनीतिक सन्दर्भमा अपरिहार्य आवश्यकता बनेको छ।
२०१७ सालको पञ्चायती शासनदेखि लिएर लोकतान्त्रिक, गणतान्त्रिक शासनका तरिका, व्यवहार आदि हेर्दै र भोग्दै जाँदा नेपाली राजनीतिमा खासै केही पनि सुधार आएको जस्तो लाग्न छाडिसक्यो । हाल नेपालका लाखौँ युवा पुस्ताको जनशक्ति वैदेशिक रोजगारीको बाटोमा पाइला अगाडि बढाउने र कहिले यो देश नेपालबाट बिदा भइजाने भन्ने मानसिक हतारोमा छ। युवा पुस्ताले यसरी स्वदेश छोडेर विदेशिन हतार गर्नुका पछाडि नेपालको अव्यवस्थित राजनीति नै पूर्णरुपेण जिम्मेवार छ। यो कुरालाई राम्ररी आत्मसात् नगरी विद्रोह गर्ने नेताको सामूहिक प्रयासबाट मात्र एउटा बलियो गठबन्धन तयार भए पनि चाहेजति कामयावी हुन भने सक्नेछैन।
हाम्रो देशका युवा नेतालाई धिक्कार दिनुपर्ने अरू धेरै ठाउँ छन्। देशको कुनै राजनीतिक दलको युवा नेता शिक्षामन्त्री होलान्। अर्को राजनीतिक दलको अर्को युवा नेता वित्तमन्त्री होलान्। अर्को कुनै अमुक राजनीतिक दलको अमुक नेता अर्को मन्त्रालयको मन्त्री होलान्, राज्यमन्त्री, सहायक मन्त्री होलान्। तर आफू मन्त्री भएको समयमा त्यहाँ भएका विकृतिका कुरालाई कति मात्रामा निराकरण गर्न सकियो त भन्ने कोही छैन। बरु विकृति हटाउनुको साटो अझै फरक तरिकाले विकृति थपेर बिदा हुने चलन हामीकहाँ रहेको छ। नागरिक उड्डयन मन्त्रालयमा वाइडबडी जहाज खरिद गर्दै गर्दाको अवस्थामा तत्कालीन उड्डयनमन्त्री नेकपा एमाले पार्टीका रवीन्द्र अधिकारी थिए। उनी जहाज दुर्घटनामा परेर अस्ताएपछि वाइडबडी जहाज खरिद प्रकरणमा घोटाला भएको विषय पनि हाल सामसुम अवस्थामा रहेको छ।
रवीन्द्र अधिकारी युवा नेता भएकाले उनको मानसले घोटाला गरौँ भन्ने नसोचेका भए पनि माथिको दबाबले गर्दा कतै घोटाला भएकै थियो कि भनेर आम मानिसले शङ्का गर्ने ठाउँ रहेको छ । बाइडबडी जहाज खरिदमा उठेका विवादित विषयजस्तै अन्य मन्त्रालयमा पनि अनियमितताका बारेमा धेरै कुरा उठेका छन् । यी विवादित विषयमा युवा नेताले पनि विरोध गरेर विद्रोहमा जानुको साटो मौन होस् कि बोलेर होस् समर्थन गर्छ भने त्यो युवा नेता उमेरले मात्र युवा हो, कर्मले चाहिँ ऊ वृद्ध नेताभन्दा पनि धेरै निम्नस्तरको नेता कहलिन्छ । त्यस्तो युवा नेताले जनताको दुःखको रुवाइमा साथ दिन सक्दैन र जानेको पनि हुँदैन । ऊ जनताको नेता त हुँदै होइन । त्यस्ता युवा नेतालाई केवल जनताले मात्र धिक्कार्ने नभई देशले समेत धिक्कारेको हुन्छ । ऊ त्यागी नेता होइन, केवल स्वार्थी र भाइमारा नेता मात्र हो ।
अबका युवा नेताले देश र जनताको बारेमा सचेत हुनै पर्छ। उसले संसारको उन्नतिलाई अनदेखा गरेर व्यक्तिगत स्वार्थमा लाग्ने सोचाइ राख्छ भने यो सबैभन्दा पाप र अभिशप्त कर्म हुनेछ। अबका युवा नेताले वृद्ध नेतालाई सरापेर फलानाले गर्दा मैले काम गर्न सकिन वा सुव्यवस्था कायम गराउन असफल भएँ भन्ने आरोप लगाई स्याबासी पाऊँला भन्नु पनि गलत हुनेछ।
जुनसुकै राजनीतिक दलबाट प्रतिनिधित्व गरेर गएको भए पनि अबका युवा नेताले देश र जनताको बारेमा सचेत हुनै पर्छ । उसले संसारको उन्नतिलाई अनदेखा गरेर व्यक्तिगत स्वार्थमा लाग्ने सोचाइ राख्छ भने यो सबैभन्दा पाप र अभिशप्त कर्म हुनेछ । अबका युवा नेताले वृद्ध नेतालाई सरापेर फलानाले गर्दा मैले काम गर्न सकिन वा सुव्यवस्था कायम गराउन असफल भएँ भन्ने आरोप लगाई स्याबासी पाऊँला भन्नु पनि गलत हुनेछ । नेपाली काड्ग्रेसका सभापति शेरबहादुर देउवाको तुलनामा गगन थापा हुन् कि विश्वप्रकाश शर्मा वा अर्को कुनै युवा नेता हुन्, उनीहरुले नयाँ शिक्षा पढेर आएका छन् भने देउवालगायतका वृद्ध नेताले पुरानो शिक्षा आर्जन गरे होलान् । आधुनिक शिक्षा आर्जन गरेका युवाका तुलनामा वृद्ध नेताहरू चलाख हुनसक्ने सम्भावना एक थोपो पनि छैन।
विभिन्न ठाउँको भ्रमणका अवसरमा ती स्थानका जनताले युवा भनाउँदा नेतालाई कालो झन्डा देखाएर विरोध गर्ने गरेका छन्। यसको कारण के भने, तिमीले आर्जन गरेको आधुनिक शिक्षाले तिमीलाई त्यस्तै अनियमित काम गर्न सिकाएको थिएन तर किन ग¥यौ त भनेर ? सचेत गराउनका लागि त्यसो गरिएको हो। राम्रो र देशको भलाइको काम गरेका भए तिमीलाई त्यही अनुसारको सम्मान गर्ने थियौँ भन्ने आशय विरोधको कालो झन्डामा व्यक्तिएको हुन्छ। तर त्यति गर्दा पनि युवा नेताले अनियमित कर्म गर्न छोड्दैनन्, देश डुबाउने खालका खेल खेल्न अझै तयार हुन्छन् भने उनीहरुलाई धिक्कार भन्नु गलत कर्म हुँदैन। यदि सिर्जनशील दिमाग मरिसकेको छ भने, सकारात्मक सोच मनमा पलाउँदैन भने, राजनीतिको छाता ओढी थेत्तरो बनेर किन बसिरहेका छौ ? हालको यो अराजनीतिक अवस्था सिर्जना हुनमा हाम्रा थेत्तरा अनि दास मनोवृत्तिले ग्रस्त बनाएका युवा नेताहरू पूर्णरुपले जिम्मेवार छन्।
विचारको परिवर्तन, देशको आवश्यकता आदि नबुझेर भएको नेता नेता हुँदैन। जसले राजनीति बुझेको छ, देशको आवश्यकता पहिचान गरेको छ र त्यो आवश्यकता पूरा गर्नको लागि दत्तचित्त भएर लागिपर्छ, ऊ मात्र नेता वा युवा नेता हो। नेपालका जुनसुकै राजनीतिक दलका युवा नेता भनिएका नेता छन्, देशको लागि सिन्को नभाँच्ने र आफ्नो स्वार्थ पूरा गर्ने कर्ममा लाग्ने जोसुकैलाई धिक्कार !











प्रतिक्रिया