एजेन्सी ।
यूईएफए च्याम्पियन्स लिग फुटबलमा लिग चरणको सातौं खेलमा रियल मेड्रिडले प्रभावशाली जित निकालेको छ। बिहीबार भएको खेलमा रियलले आफ्नो घरेलु मैदानमा पाहुना टोली अस्ट्रियन क्लब रेड बुल साल्जबर्गमाथि ५–१ को फराकिलो जित निकाल्यो। यो जितसँगै स्पेनी ला लिगा क्लबले प्लेअफ चरणको ढोका खुला राखेको छ।
यो खेलअघि रियलले ६ खेलमा ३ खेल हारेर दबाबमा थियो। जारी प्रतियोगितामा ६ म्याच खेलिसक्दा एक खेलमात्रै जितेर ५ खेल हारेको साल्जबर्गलाई रियलले छैटौं हार चखायो। सान्टियागो बेर्नाबेउ रंगशालामा भएको खेलमा रियलको जितमा रोड्रिगो, जुड बेलिंगम र भिनिसियस जुनियरको मुख्य योगदान रह्यो । भिनिसियस र रोड्रिगोले दुई–दुई गोल गरे भने बेलिंगमले दुई गोलमा असिस्ट गरे।
रियलका लागि २३औं मिनेटमा रोड्रिगोले बेलिंगमको पासमा गोल गरेर अग्रता दिलाए। दोस्रो गोल ३४औं मिनेटमा रोड्रिगो आफैंले गरेर अग्रता दोब्बर बनाए। यसपटक पनि बेलिंगमले असिस्ट गरेका थिए। रियलले तेस्रो गोल दोस्रो हाफ शुरू भएको तेस्रो मिनेटमै गरे । साल्जवर्गका गोलकिपरको गल्तीमा केलियन एमबाप्पेले गोलकिपरलाई बिट गरेर बललाई जाली चुमाएका थिए । तेस्रो गोल गरेको ५ मिनेटमै लुका मोड्रिचको पासमा भिनिसियसले रियलको चौथो गोल गरे।
त्यसपछि ७७औं मिनेटमा फेडे भाल्भर्डेको पासमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गरेपछि रियलको अग्रतामा बढोत्तरी भयो। अन्तिम समयमा साल्जवर्गले एक गोल फर्काएपछि रियलको जित ५–१ मा भयो । यो जितसँगै रियल ७ खेलबाट १२ अंक जोडेर १६औं स्थानमा उक्लिएको छ।
इन्टरको संघर्षरत जित
प्रतियोगितामा इटालियन सिरी ए क्लब इन्टर मिलानले संघर्षपूर्ण जित निकाल्यो । इन्टरले चेक रिपब्लिक क्लब स्पार्टा प्रागमाथि १–० को जित निकालेको थियो । घरेलु मैदानमा स्पार्टाले गोलको केही राम्रा अवसर खेर फाल्दा हार पन्छाउन सकेन।
इन्टरका लागि एकमात्रै विजयी गोल खेलको १२औं मिनेटमा अर्जेन्टिनी स्टार लौटारो मार्टिनेजले गरेका थिए। उनको अविश्वसनीय गोलको मद्दतमा इन्टरले अवे मैदानमा १–० को जित निकाल्न सफल भयो।
यो जितपछि इन्टर ७ खेलपछि १६ अंकको साथ चौथो स्थानमा उक्लिएको छ। पराजित स्पार्टा ४ अंकको साथ २९औं स्थानमा रहेको छ। त्यस्तै, इंग्लिस क्लब आर्सेनलले पनि प्रभावशाली जित निकालेको छ। आर्सेनलले आफ्नो घरेलु मैदानमा पाहुना टोली क्रोएसियाको क्लब डाइनामो जाग्रेबविरुद्ध ३–० को जित हासिल गर्न सफल भयो। यो जितसँगै आर्सेनल अंक तालिकाको तेस्रो स्थानमा उक्लियो । आर्सेनलले ७ खेलमा ५ खेल जितेर एक खेल बराबरी खेलेको छ भने एक खेल हारेको छ।
घरेलु मैदान इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनलका लागि पहिलो गोल दोस्रो मिनेटमै डिक्लान रिसले गरेका थिए । उनले काई हाभट्र्जको पासमा सो गोल गरेका थिए । दोस्रो गोल ६६औं मिनेटमा हाभट्र्ज आफैंले गरेर अग्रता बढाए । उनको गोलमा ग्याब्रिएल मार्टिनेल्लीले असिस्ट गरेका थिए । आर्सेनलका लागि तेस्रो गोल इन्जुरी समयमा कप्तान मार्टिन ओडेगार्डले गरेर ३–० को जित पक्का गरे।
लिग चरणको अन्तिम एक खेल बाँकी रहेको बेला आर्सेनल ७ खेलबाट १६ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । आर्सेनल दोस्रो स्थानको बार्सिलोनाभन्दा २ अंक र शीर्ष टोली लिभरपुलभन्दा ५ अंकले पछि छ । यता, पराजित जाग्रेब भने मात्रै ८ अंकको साथ २६ औं स्थानमा छ।
पीएसजीसँग सिटीको अप्रत्यासित हार
अर्को इंग्लिस महारथी म्यानचेस्टर सिटीले भने अप्रत्यासित हार बेहोरेको छ । लिग चरणको सातौं खेलमा फ्रान्सको क्लब पीएसजीले आफ्नो घरेलु मैदानमा सिटीविरुद्ध ४–२ को सनसनीपूर्ण पुनरामगन जित निकाल्यो।
यो सिजनमा लगातार उतारचढाव झेलिरहेको सिटीले पीएसजीको मैदानमा तीन मिनेटमा दुई गोल गरेर २–० को अग्रता लिएको थियो। तर, त्यसपछि घरेलु टोली पीएसजीले सिटीलाई कुनै मौका नै दिएन। नाटकीय ढंगले पुनरागमन गरेर पीएसजीले सनसनी जित हासिल गर्यो।
यो जितपछि पीएसजीले प्लेअफको ढोका खुला राखेको छ। तर, सिटी भने ताजा अवस्थामा रेलिगेसनमा रहेको छ। यदि, अहिलेकै अंक तालिका अर्को खेल सकिँदासम्म रह्यो भने सिटी च्याम्पियन्स लिगको लिग चरणबाटै बहिरिनेछ। त्यत्तिमात्रै होइन, सिटीले अर्को सिजन च्याम्पियन्स लिग नै खेल्न नपाउने अवस्था समेत सिर्जना हुनेछ।
सिटीले ५०औं मिनेटमा ज्याक ग्रिलिसको गोलबाट अग्रता लिएको थियो। रिबाउन्ड बलमा उनले कडा सटमा गोल गरेका थिए। लगत्तै ३ मिनेटमै सिटीका लागि अर्लिङ हालान्डले गोल गरेर पीएसजीलाई २–० ले पछि पारे। तर, त्यसपछि पीएसजीको वेगलाई सिटीले रोक्न सकेन। पहिलो हाफको इन्जुरी समयमै पीएसजीको एक गोललाई भीएआरले खारेज गरेको थियो । पीएसजीले दोस्रो गोल बेहोरेको तीन मिनेटमा पहिलो गोल फर्कायो । ब्राड्ले बार्कोलाको पासमा उसामान डेम्बेलेले गोल गरेर टोलीलाई खेलमा फर्काएका थिए।
लगत्तै ४ मिनेटमै पहिलो गोलको असिस्टकर्ता युवा खेलाडी बार्कोला आफैंले गोल गरेर खेल बराबरीमा पु¥याए । दोस्रो गोल बेहोरेपछि सिटी एकाएक दबाबमा पर्न गयो । ७८औं मिनेटमा पीएसजीका लागि नयाँ खेलाडी जोआ नेभेसले गोल गरे। भिटिन्हाको गोलमा नेभेसले उत्कृष्ट गोल गरेर सिटीलाई ठूलो झट्का दिए । नेभेस र भिटिन्हा दुवै पोर्चुगलका खेलाडी हुन्।
लगातार तेस्रो गोल खाएर आत्तिएको सिटीले इन्जुरी समयमा चौथो गोल पनि खायो। पोर्चुगलकै अर्का खेलाडी गोनकालो रामोसले शानदार गोल गरेर सिटीविरुद्ध ४–२ को जित पक्का गरे।
यो हारपछि सिटी ७ खेल सकिँदामात्रै ८ अंक जोडेर २५औं स्थानमा झरेको छ। आठ चरणका खेल सकिँदा २४ स्थानभन्दा मुनि रहने टिम सोझै रेलिगेसनमा पर्ने नियम छ। सिटीले ७ खेल खेलिसक्दा मात्रै दुई खेल जितेर दुई खेल बराबरी खेल्दा तीन खेल हारेको छ । पीएसजी भने १० अंकका साथ २२औं स्थानमा उक्लिएको छ।











प्रतिक्रिया