स्वायाटेकलाई हराउँदै किज फाइनलमा


एजेन्सी ।

अमेरिकाकी मेडिसन किज मेलबर्नमा जारी अस्ट्रेलियन ओपनको वुमेन्स सिंगल्सको फाइनलमा पुगेकी छन् । विश्व वरीयतामा १९ औं स्थानमा रहेकी कीजले विश्व वरीयतामा दोस्रो स्थानमा रहेकी इगा स्वायाटेकलाई तीन सेटमा हराएर फाइनलको यात्रा तय गरेकी हुन् ।

शनिवार हुने उपाधि भिडन्तमा उनको सामना वुमेन्स सिंगल्सकी नम्बर एक खेलाडी एरिना सबालेन्कासँग हुनेछ ।
पोल्यान्डकी स्वायाटेक र कीजले पहिलो सेटमा एक अर्काको सर्भिस तोडेर सुरुआत गरेका थिए। २–२ गेम बराबरीपछि स्वायाटेकले सर्भिस बचाउँदै ३–२ को अग्रता लिइन् र छिटै ५–२ को अग्रता बनाइन्। तर, किजले पुनरागमन गर्दै यो सेट ५–५ बराबरीमा ल्याएर खेलमा रोमाञ्चक बनाइन्।

यसपछि, दुई सर्भिस जित्दै स्वायाटेकले यो सेट ७–५ ले उनको नाम पक्का गरिन्। दोस्रो सेटमा भने किजले शानदार खेल देखाइन् । उनले यो सेटमा ५–० को अग्रता लिएपछि १–१ सेट बराबर गर्ने पक्का गरिन्। यो सेटमा स्वायाटेकले किजको सर्भिस, ब्याकहेन्ड, फोरहेन्ड र भली सटविरुद्ध कुनै जवाफ दिन सकिनन् । यो सेट किजले ६–२ ले जितेकी थिइन्।

निर्णायक सेटमा भने निकै रोमाञ्चक बनेको थियो। कसले जित्ने टुंगो नै थिएन। एक अर्काले सर्भिस बचाउँदै खेल्दा यो सेट लम्बियो पनि। अन्ततः किजले ७–६ मा यो सेट जित्दै स्वायाटेकको यात्रा समाप्त पारिदिइन्। टाइब्रेकमा ८–८ बराबरी भएपछि किजले लगातार दुई अंक जित्दै १०–८ अंकमा सेट र खेल जितेकी थिइन्।

यसअघिको सेमिफाइनल खेलमा सबालेन्काले उनकी साथी स्पेनी खेलाडी पाउलो बडोसालाई सजिलै हराएकी थिइन्। सबालेन्काले यो खेल सीधा सेटमा ६–४, ६–२ ले जितेकी थिइन्। योसँगै विश्व वरीयताकी नम्बर एक खेलाडी सबालेन्का मेलबर्नमा लगातार तेस्रो पटक उपाधि जित्ने नजिक पुगेकी छन्।