काठमाडौँ ।
आमाको दूध अमृत समान भएको विश्व विज्ञानले प्रमाणित गरिसकेको छ । बच्चा जन्मेको १ घण्टाभित्र आमाको बिगौती दूध अर्थात् अमृत चुसाई सक्नुपर्छ । तर विश्वको तथ्याङ्क अनुसार शिक्षित र आयस्रोत भएका परिवारमै नवजात शिशुलाई आमाको दूध भन्दा अन्य पदार्थ बोतलबाट खुवाउने गरेको तथ्य बाहिरिएको छ।
विश्वको तथ्याङ्कमा जन्मेको १ घण्टामा दूध चुसाइसक्नेको सङ्ख्या ४८ प्रतिशत रहेको छ भने नेपालमा ५५ प्रतिशतले आमाको दूध चुसाएको पाइएको स्वास्थ्य मन्त्रालयको रिपोर्टमा उल्लेख गरिएको छ ।
आमाको दूध नै नवजात शिशुको लागि पहिलो अमृत हो र आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको विज्ञापन गर्नु कानुन विपरीत र दण्डनीय विषय हो भन्ने विषयमा काठमाडौँ महानगरपालिका भित्रका केही फार्मेसी सञ्चालकलाई उपस्थित गराई जनस्वास्थ्य कार्यालय काठमाडौँले कानुनी व्यवस्थाका बारेमा जानकारी गरायो । उक्त जनचेतना मूलक कार्यक्रममा सीमित फार्मेसी सञ्चालक, नेपाल औषधि व्यवसायी सङ्घ, सञ्चारकर्मीका साथ सरोकारवाला निकायको सहभागिता रहेको थियो ।
विश्व बजारमा पूर्ण स्तनपान गर्ने बालबालिकाको सङ्ख्या ४४ प्रतिशत मात्र रहेको र बजारमा कतिपय विक्रेताले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको गलत प्रचार गरी त्यस्ता वस्तुलाई प्रोत्साहन गर्ने गरी कार्य गरेको पाइएकाले जनस्वास्थ्य कार्यालयले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको (विक्री वितरण नियन्त्रण) ऐन २०४९ तथा नियमावली २०५१ सम्बन्धी बहस पैरवी कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले औषधि पसल सञ्चालकहरूलाई आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूलाई प्रोत्साहन गर्ने गरी विज्ञापन वा प्रचार नगर्न आग्रह गर्नुभयो । ‘फार्मेसीका सञ्चालकहरूलाई आमाको दूधको विकल्प भन्दै प्रतिस्थापित वस्तु प्रदर्शन गरेर विक्री वितरण नगर्न आग्रह गर्नुभयो । उहाँले यस्तो गर्नु कानुन विपरीत हो । नियम विपरीत कार्य गरेको प्रमाणित भएमा १५ हजार जरिवाना वा ४ महिना जेल सजाय दुवै हुन सक्ने कानुनी व्यवस्था रहेको पनि औँल्याउनुभयो ।
जनस्वास्थ्य प्रमुख वसन्तले विश्वमा बर्सेनि स्तनपानलाई निरन्तरता दिँदा ८ लाख २० हजार नवजात शिशुको ज्यान बचाउन सकिन्छ । आमाको दूध समयमा पूर्ण रूपमा चुसाउन नपुग्दा धेरै नवजात शिशुको अकालमा २८ दिन भित्रै मृत्यु हुने गरेको छ । २८ दिन देखि ५ वर्ष भित्र बालबालिकाको मृत्युको प्रमुख कारण आमाको दूधको सट्टा प्रतिस्थापित बस्तु, बोतलले पियाउनु रहेको छ भन्नुभयो । यिनै कारणले ६ देखि ५९ महिनाका बालबालिकामा कुपोषणको मात्रा बढ्दो छ । मानवीय संवेदनशील विषयमा उत्पादक,फार्मेसी, खाद्य स्टोर, महलहरूलाई विशेष ध्यान दिई कानुनको पालना गर्न आग्रह गर्नुभयो ।
कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले संविधानले सबैलाई व्यवसाय गर्ने संवैधानिक अधिकार दिए पनि नियम र कानुनको परिधिमा रहेर गर्नुपर्ने उल्लेख गर्नुभयो । आमाको दूधलाई प्रतिस्थापन गर्ने किसिमका वस्तुहरूको व्यवसाय गर्नलाई यससम्बन्धी ऐन २०४९ तथा नियमावली २०५१ ले व्यवस्था गरेको हो । पूर्ण आहार भनेको आमाको दूध मात्र हो । बच्चा जन्मिएपछि ६ महिना सम्म आमाको दूध दिनमा कम्तीमा १२ पटक खुवाउनुपर्ने बताउनुभयो ।
२०८१ साउन २३ मा खाद्य सुरक्षा तथा गुणस्तर ऐन आएको र त्यसैअनुरूप खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नियमन गर्दै आएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माले बताउनुभयो । यसअघि २०२३ मा बनेको ऐनअनुसार विभागले कार्य सञ्चालन गर्दै आइरहेको थियो । उहाँले पहिलेको ऐन र नयाँ ऐनले पनि अप्रशोधित, प्रशोधित र अर्धप्रशोधित खाद्य पदार्थहरूलाई समेट्ने भनेकाले बाल आहारहरूको पनि नियमन गर्ने गरेको बताउनुभयो ।
जनस्वास्थ्य अधिकृत अनिता खनालका अनुसार स्तनपानलाई सुधार गर्दै लैजाने उद्देश्यले फार्मेसी, उत्पादक, विक्रेतालाई क्रमशः जनचेतनामूलक कार्यक्रम गरी सचेत गराउने स्वास्थ्य मन्त्रालयको योजना अनुरूप यो कार्यक्रम राखिएको बताउनुभयो ।
आमाको दूधलाई प्रतिस्थापन गर्ने बस्तुको विक्रीमा अत्यधिक वृद्धि भएको छ । कानुनका बारेमा पैरवी छैन । नेपालमा सन् २०१४ मा रु.४५ खर्बको आयात गरिएको थियो भने सन् २०१९ मा पुग्दा रु.७२ खर्बको आयात गरिएको देखिन्छ । यति मात्र नभै २०४९ सालमा ७० प्रतिशतले पूर्ण स्तनपान गराउँथे । स्तनपान गराउँदा आमालाई हुनसक्ने घातक रोगबाट जोगाउन सकिने अध्ययनले देखाएको छ । त्यस्तै स्तनपान गराउँदा क्यान्सर जस्ता रोगको जोखिम कम हुने पनि उहाँले बताउनुभयो । बाल मृत्युदरमा कमी ल्याउन, निरोगी बनाउन तथा विभिन्न किसिमका स्वास्थ्य समस्याबाट जोगाउन सकिने हुँदा हरेक आमालाई पूर्ण स्तनपान गराउन आग्रह गर्नुभयो ।
सोही अवसरमा फार्मेसीले आमाको दूध प्रतिस्थापन गर्ने बस्तु, दुधदानी जस्ता सामग्री सजाएर राखी बेच्ने लाइसेन्स कसले दियो भन्ने प्रश्न उठेको थियो । नेपाल औषधि व्यवसायी सङ्घका महासचिव शुभमान श्रेष्ठले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने वस्तुहरू आफूहरूले विक्री गर्न पाउनुपर्ने जिकिर राख्नुभयो ।
सो अवसरमा जनस्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुहरूको विक्री वितरण रोक्ने वा बन्द गर्ने उद्देश्य जनस्वास्थ्य कार्यालयको नभै कानुन विपरीत कुनै लाभ लिएर या विज्ञापन गरेर भ्रममा नपार्न सचेत गराएको हो । कतिपय अवस्थामा आमाको दूध नहुने भएकाले बच्चालाई बचाउनकै लागि पनि अन्य खानेकुरा खुवाउनुपर्ने बाध्यता हुँदा त्यस्तो वस्तु चिकित्सकको सिफारिसमा मात्र विक्री वितरण गर्नुपर्ने बताउनुभयो ।
प्रसुति गृहमा आमाको दूध बैङ्क नै स्थापना गरी आमाको दूध सङ्कलन केन्द्र स्थापना गरिएको छ । उक्त केन्द्रमा धेरै दूध हुने आमाले दान गर्ने र दूध नआउने बच्चालाई खुवाउने गरिन्छ । कतिपय आमाहरूले आफू काममा व्यस्त हुनुपर्दा दूध निकालेर सुरक्षित राखी चम्चा र गिलासबाट खुवाउने गरेको पनि जानकारी गराइयो ।











प्रतिक्रिया