ओली सरकारप्रति प्रचण्डको ‘चिन्ता कि पीडा’ ?

10.15k
Shares

काठमाडौं ।

यति बेला राजनीतिक बजारमा प्रमुख प्रतिपक्षी दलका नेता पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताको भोकले निकै छटपटाउनुभएको छ। १० वर्षे सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएदेखि सत्ता र शक्तिको भोगचलन गर्दै आउनुभएका दाहाल विगत ६ महिनादेखि सरकार बाहिर हुनुहुन्छ।

जनमतमा सानै भए पनि पहिलो र दोस्रो शक्तिसँग बार्गेनिङ गर्दै प्रायः सरकारमा बसिरहने बानी पर्नुभएका दाहालले संसद्मा आफ्नो ३२ सिटलाई ‘म्याजिक नम्बर’ को उपमा दिँदै आउनुभएको थियो। गत आम निर्वाचन २०७९ मा ३२ सिटसहित तेस्रो दलको हैसियतमा रहेको नेकपा माओवादी केन्द्रले चुनावअघिको कांग्रेससँगको गठबनधन तोडेर दोस्रो दल नेकपा एमालेको सहयोगमा सरकार बनाएको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीको कांग्रेस–माओवादी गठबन्धन फुटाउने योजनालाई साकार बनाउनुभएका दाहालले प्रधानमन्त्री बनेको तीन महिना नपुग्दै फेरि गठबन्धनको काँध फेर्न पुग्नुभयो। २०७९ पुस १० मा एमालेको भर्‍याङ चढेर कांग्रेसलाई झापड हान्नुभएका दाहालले सोही फागुन २५ मा भएको राष्ट्रपतिको निर्वाचनबाट कांग्रेससँग मिलेर चैतमा कांग्रेसको बुइ चढेर एमालेमाथि प्रहार गर्नुभयो।

सत्ता गठबन्धनमा विश्वास नै गर्न कठिन हुने गरी निरन्तर अस्थिर राजनीतिक अभ्यास गर्दै आउनुभएका दाहालले कांग्रेससँगको सहकार्यलाई फेरि उल्टाएर एमालेसँग सत्ता सहकार्य गर्दै प्रधानमन्त्री भइरहनुभयो। निर्वाचन पछिको करिब डेढ बर्षका चारपटक सत्ता गठबन्धन परिवर्तन गर्दै प्रधानमन्त्रीको कुर्सी नछाडेका दाहाल विगत ६ महिनायता सत्ताबाहिर हुनुहुन्छ । सत्ता बहिर्गमनको पीडालाई यति बेला उहाँले कांग्रेसको समर्थनमा बनेको वर्तमान ओली सरकार नटिक्ने चिन्ता व्यक्त गर्दै हिँड्नुभएको छ । यद्यपि, उहाँको यो चिन्ता हो अथवा सरकारको स्थिरता हुने पीडा ? राजनीतिक वृत्तमा यो महत्वपूर्ण प्रश्न नबनेको छ।

यसअघिदेखि नै पटकपटक सरकारको आयु लामो नभएको बताउँदै आउनुभएका प्रचण्डले अहिले पनि आफूहरूको प्राथमिकतामा सरकार नभएको तर, सरकार लामो समय जाँदैन भन्ने चिन्ता लागेको दोहोर्‍याउनुभयो। ‘हाम्रो प्राथमिकतामा सरकार छैन । मैले धेरैचोटि भनेको छु । हाम्रो प्राथमिकता जनतासँगको सम्बन्ध विस्तार गर्ने कुरामा छ,’ मंगलबार चितवनामा पत्रकारहरूसँग प्रचण्डले भन्नुभयो– ‘तर, यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । हामी चिन्तित छौं, गइदिए हुन्थ्यो भन्ने हो, ०८४ सम्म गए पनि ठिकै हो । जाँदैन भन्ने पो चिन्ता छ हामीलाई।’

राजनीतिक विश्लेषक डा. लोकराज बराल प्रचण्डको यो चिन्ता नभएर सरकार लामो समय जाने भयो भन्ने पीडाले उहाँलाई चिन्तित तुल्याएको बताउनुहुन्छ । ‘दाहालले सार्वजनिक भाषणमा सरकार टिक्दैन किन भन्ने चिन्ता गर्दै आउनुभएको छ । तर, उहाँको त्यो अभिव्यक्ति सरकारप्रतिको चिन्ता नभएर कसरी चाँडो सरकार ढाल्न सकिन्छ भन्ने पीडा ओकलेको देखिन्छ’ – उहाँले भन्नुभयो । वर्तमान सरकार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नचाहेसम्म केही नहुने राजनीतिक विश्लेषकहरू बताउँछन् । पूर्वप्रधानमन्त्री प्रचण्डले सभापति देउवालाई अनेकन ढंगले रिझाउन खोजे पनि पुराना गतिविधिले उहाँमाथि विश्वास गर्ने आधार देउवामा छैन ।

सधैं सरकार परिवर्तनको खेलमा लागेर समय बर्बाद गर्ने भन्दा स्थिर सरकारको परिकल्पनासहित नागरिकका पक्षमा सुशासन, विकास र सेवाप्रवाहमा सरकारको प्रत्याभूति दिलाउनका लागि कांग्रेस–एमालेबीच सत्ता सहकार्य भएकाले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले बताउनुभयो । ‘ठूलो दलहरू मिलेर स्टेबल सरकार जुन बनेको छ, एक किसिमको स्टेबल नै छ। राजनीतिमा जे पनि हुन्छ, नहुने त होइन । तर, हामीले स्थिर सरकार दियौं भने विकासको काम हुन्छ । स्थिर सरकारका लागि लागेको कांग्रेसले इमानदार भएर सरकारलाई सहयोग गर्छ’ – कोइरालाले भन्नुभयो।

राजनीतिक स्थिरता र सुशासन दिने अभिप्रायका साथ गठन भएको संसद्को दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन सरकारको सफलताका लागि कांग्रेस निर्धक्क लागेपछि पीडा लुकाएर चिन्तित देखिनुभएका दाहालले विपक्षी बेन्चमा रहेका करिब ८० सांसद देखाएर सरकार तुहाउने रणनीतिमा हुनुहुन्छ।